
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने अडान लिएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता लनुपर्ने अडान लिएका हुन् ।
‘संसदमा प्रस्तुत गरिएको ६ वटा अध्यादेश मध्ये भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको, तराई/मधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको हो’, प्रतिवेदनमा भनिएको छ ।
भूमि अध्यादेशले वास्तविक भूमिहीन, सुकुम्बासीहरुले जग्गा पाउन नसक्ने पनि प्रतिवेदनमा लेखिएको छ । अध्यादेश ल्याउने सरकारको मनसायप्रति नै यादवले प्रश्न उठाएका छन् ।
‘… संसदको अधिवेशन आह्वान गर्नु पर्ने बेलामा सरकारले महत्वपूर्ण कानूनहरु अध्यादेश मार्फत् ल्याउनु निश्चय पनि गठबन्धनको सरकारको कुत्सित स्वार्थ तथा मानसिकता देखिन्छ’, प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि सहयोग नगर्ने अडान लिएका छन् । ‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुञ्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारे सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन’, यादवको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीको अडानका कारण जनताको भरोसा जसपा नेपालप्रति बढेर गएको पनि यादवको निष्कर्ष छ ।
हेर्नुहोस् जसपा नेपालको राजनीतिक, संगनात्मक प्रतिवेदन :
प्रतिक्रिया 4