+
+
Shares

४ घण्टासम्म लाससँग बसेर हवाई यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १८ गते १७:२१

काठमाडौं । कल्पना गर्नुहोस् त तपाई लामो हवाई यात्रामा हुनुहुन्छ अनि अचानक तपाईसँगैको सिटमा बसेको एकजना यात्रुको मृत्यु भयो। अनि तपाई चाहेर पनि जहाजको उक्त सिटबाट निस्कन पाउनुहुन्न । न त त्यो मृतक यात्रुको शवलाई नै त्यहाँबाट उठाएर अन्तै लगिन्छ । यस्तो भयो भने तपाईलाई कस्तो अनुभूति होला ?

हालै एउटा यस्तै घटना भएको छ । एक दम्पतिले शवसँग बसेर हवाई यात्रा गर्नका लागि बाध्य पारेको आफ्नो त्रासदीपूर्ण कहानी सार्वजनिक गरेका छन्

अष्ट्रेलियाको मेलबर्नबाट दोहाका लागि उडेको कतार एयरवेजको १५ घण्टा लामो उडानमा एक महिला यात्रीको स्वास्थयमा अचानक समस्या आयो र उनको आकाशमै मृत्यु भयो ।

चालक दलका सदस्यले ती महिलाको ज्यान बँचाउने कोसिस गरेपनि असफल भए । त्यसपछि उनको शवलाई उनको सिटबाट निकालेर बिजनेस क्लासको छुट्टै स्थानमा लगेर राख्ने प्रयास भयो । तर महिलाको शरीर निकै भारी थियो । जसका कारण जहाजको साँघुरो गल्लीबाट उनको शवलाई अगाडि लैजान सम्भव भएन ।

सोही जहाजमा अष्ट्रेलियन दम्पत्ति माइकल रिङ्ग र जेनिफर कोलिन पनि चढेका थिए । उनीहरु इटालीको भेनिस जानका लागि यात्रा गरिरहेका थिए र उक्त जहाजको इटालीमा ट्रान्जिट थियो। उक्त दम्पतिको सिट छेउँमा दुई अतिरिक्त सिट खाली थिए । त्यसैले त्यहाँ उक्त शवलाई राख्नका लागि अर्को सिटमा सर्नका लागि चालक दलका सदस्यले माइकलसँग अनुरोध गरे ।

त्यो आपतकालीन परिस्थितिमा माइकलले दायाँबायाँ नसोँची हस् भनिहाले । तर त्यसपछि जे भयो, त्यो उनले सोँचेका पनि थिएनन् । चालक दलका सदस्यले महिलाको शव उनी पहिले बसेको सिटमा ल्याएर राखिदिए । त्यसपछि त चार घण्टासम्म माइकलले उक्त शवसँगै बसेर यात्रा गर्नुपर्‍यो ।

उनको उक्त त्रासदीपूर्ण यात्राको एउटा तस्वीर पनि सार्वजनिक भएको छ । जसमा माइकलले आफ्नो सिटअघिको स्क्रिन हेरिरहेको देखिन्छ भने उनको छेउँको सिटमा एक महिलाको शव राखिएको छ, जुन कम्बलले छोपिएको छ ।

जब सो जहा इटाली पुग्यो तबपनि उनीहरुलाई आफ्नै सिटमा बसिरहन भनियो ताकि शवलाई पहिले ओह्राल्न सकियोस् । त्यो आफ्नो जीवनको सबैभन्दा खराब अनुभव रहेको माइकल बताउँछन् ।

उक्त घटनाका विषयमा कतार एयरवेजले स्पष्टीकरण दिँदै उडानका क्रममा निधन भएकी महिला यात्रुका परिवारप्रति आफूहरुको समवेदना रहेको भन्दै अन्य यात्रीलाई परेको असुविधाका लागि खेद प्रकट गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?