
१८ फागुन, काठमाडौं । पोखरामा निमन्त्रणा नगरेकोप्रति चित्त दुखाएपछि उस्तै प्रकृतिको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमका लागि नेपाली कांग्रेसका पूर्व पदाधिकारीलाई भैरहवामा निम्तो गरिएको छ ।
सोमबार र मंगलबार भैरहवामा प्रदेश सभा निर्वाचन क्षेत्रका सभापतिहरुका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभिमुखीकरण कार्यक्रम राखेको छ ।
उक्त प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का छन् । जिल्ला सभापतिहरुका लागि यस अघि पोखरामा गरिएको कार्यक्रममा पूर्व पदाधिकारी र संस्थापनइतरका नेता डा.शेखर कोइरालालाई निम्तो गरिएको थिएन ।
यसप्रति चित्त दुखाउँदै पूर्व पदाधिकारीले सभापति शेरबहादुर देउवालाई गुनासो समेत गरेका थिए । देउवासँग पूर्व पदाधिकारीले गुनासो गरेपछि उपसभापति खड्काले केन्द्रीय कार्यालयले नभई प्रतिष्ठानले गरेको कार्यक्रम भएको स्पष्टीकरण पोखरामा दिएका थिए । २२ र २३ माघमा पोखरामा जिल्ला सभापतिहरूका लागि अभिमुखीकरण राखिएको थियो ।
भैरहवामा हुने दुई दिने कार्यक्रममा एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लाबाट क र ख गरी १र१, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी ३५४ जना सहभागी हुने प्रतिष्ठानका निर्देशक डा. कृष्ण पौडेलले जानकारी गराए ।
संस्थापनइतरका नेता कोइराला सहित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय कार्यालयबाट फोन सम्पर्क गरेर निमन्त्रणा गरिएको छ । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले केन्द्रीय कार्यालयबाट कार्यक्रम आमन्त्रण गरिएको जानकारी गराए ।
थपलियाले अनलाइनखबरसँग भने, ‘केन्द्रीय कार्यालयबाट फोन आएको थियो । शेखर दाइको सोमबारका लागि पहिले नै तय भएको कार्यक्रम भएकाले सहभागी हुन सक्नुहुन्न ।’
रुपेन्देहीका कार्यक्रममा रहेका कोइराला आज काठमाडौं फर्किने भएका छन् ।
सहभागीहरूलाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित प्रतिष्ठानका चार जनाले प्रशिक्षण दिने कार्यतालिका बनेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक निर्देशक डा. जगदिशचन्द्र पोखरेल, निर्देशक डा. कृष्ण पौडेल, सदस्यहरू विश्वदीप लामिछाने र बुद्धिमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
बन्दसत्र सोमबार सकिन्छ भने मंगलबार समूह विभाजन गरेर छलफल हुनेछ ।
समूहगत छलफलमा बन्दसत्रमा पेश भएका कार्यपत्र र संगठनका बारे बहस हुनेछ । प्रतिष्ठानका कार्यकारी निर्देशक डा. पोखरेलले नीति, तहगत संगठनका बारेमा निर्देशक पौडेल, लामिछानेले प्रविधि र श्रेष्ठले संघीयताका कार्यान्वयनमा कांग्रेसको दायित्व बारेमा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।
दुई दिने अभिमुखीकरणमा उद्घाटन र बन्द सत्र हुने गरी कार्यतालिका बनाइएको छ । उद्घाटन सत्र सबैका लागि खुला हुनेछ भने बन्द सत्रमा प्रतिनिधिहरू मात्रै सहभागी हुनेछन् ।
उपसभापति खड्का नेतृत्वको प्रतिष्ठानलाई कार्यकर्तालाई प्रशिक्षण गर्ने, पार्टीको नीति बनाउने, पार्टीको पाठ्यक्रम निर्माण गर्ने, विचार निर्माण गर्ने लगायतका भूमिका छ । विधान अनुसार प्रतिष्ठानको प्रमुख उपसभापति हुने व्यवस्था छ ।
प्रतिष्ठानमा प्रमुखसहित बढीमा ५१ जना हुने प्रावधान रहेपनि पूर्णता भने दिइएको छैन ।
प्रतिक्रिया 4