
१८ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले विद्युतीय माध्यमबाट सञ्चालन हुने ‘ई–बग्गी’ परीक्षण गरेको छ । महानगरले पर्यटन प्रवर्द्धन गर्ने भन्दै ई–बग्गी परीक्षण गरेको हो ।
‘महानगरभित्र आएका पर्यटकलाई घुम्न सजिलो होस् भनेर हामीले यो सुविधाको परीक्षण गरेका हौं । एक महिना परीक्षण गरेपछि महानगरले सञ्चालनको योजना बनाउँछ,’ ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अनलाइनखबरसँग भने ।
हाछेथुका अनुसार अहिले होटल गुडविलसँग सहयोग मागेर ई–बग्गी परीक्षण भइरहेको छ । महानगरले आन्तरिक तथा वाह्य पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।
अहिलेलाई सहयोगमा सञ्चालन गरे पनि राम्रो प्रतिक्रिया पाए ४ थानजति खरिद गरेर चलाउने मेयर चिरीबाबु महर्जनको योजना छ ।
‘ई–बग्गीलाई एकतर्फी बाटोले पनि असर नगर्ने, पर्यटकलाई मुख्य स्थान घुम्न अन्य भीडभाडले असर नगर्ने भएर पनि यसले ललिपुरलाई पर्यटकीय नगरीका रूपमा स्थापना गर्न थप मद्दत गर्छ,’ हाछेथुले भने ।
अहिले बग्गीको परीक्षण सञ्चालन जिम्मा नगर प्रहरीले लिएको छ भने महानगरकै सवारी चालकले चलाइरहेका छन् ।
प्रतिक्रिया 4