१८ फागुन, काठमाडौं । जियानलुजी बुफोन अर्थात जिजि बुफोन- इटलीयन लेजेण्ड फुटबल खेलाडी । विश्वकप फुटबलकै एक ग्रेटेस्ट गोलकिपर । फिफा विश्वकप विजेता ।
उनी गोलकिपरको रुपमा सर्वाधिक अन्तर्राष्ट्रिय खेल (१७६ क्याप) खेल्ने खेलाडी हुन् भने इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडी । बुफोनले इटलीको राष्ट्रिय टिमका लागि दुई दशक भन्दा बढी समय खेले भने करिब तीन दशक फुटबल करियरमा बिताए ।
उनी विश्वका धेरै खेलाडीका लागि रोल मोडल तथा आइडल नै हुन् । उनै ४७ वर्षीय लेजेण्ड बुफोन हाल नेपालमा छन् । उनी केपी ओली कप फुटबलको फाइनल हेर्न आइतबार नेपाल आइपुगेका छन् ।

धेरै फुटबल खेलाडी र समर्थकका लागि पनि उनलाई देख्नु, भेट्नु सपना जस्तै हुन्छ । तर उनै बुफोनले भने सानै देखि नेपाल आउने सपना देखेको र अहिले त्यो सपना पूरा भएको बताए ।
आइतबार बिहान नेपाल आइपुगेका बुफोनलाई आइतबारै दिउँसो सञ्चारकर्मीमाझ प्रस्तुत गरिएको थियो । जहाँ उनी निकै भलादमी रुपमा प्रस्तुत हुँदै आफ्नो लागि आजको दिन विशेष रहेको बताए, सञ्चारकर्मीको केही जिज्ञासा मेटाए अनि सोमबार हुने केपी ओली कपको फाइनल हेर्न उत्साहि रहेको समेत सुनाए ।
बुफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार ५ पटक विश्वकप खेलेका थिए । १९९८ मा को विश्वकपमा बेन्चमै सिमित भएका उनले सन् २००६ मा विश्वकप जित्दा गोल्डेन ग्लोभ्स अवार्ड समेत जितेका थिए ।
ड्रिम कम ट्रु
इटालियन लेजेण्डरी गोलकिपर बुफोनले सुरुमै नेपाल आउने आफ्नो सपना पूरा भएको सुनाए । केपी ओली कप फुटबलको फाइनलका लागि आइतबार नेपाल आइपुगेका बुफोनले आइतबारै दिउँसो सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाल आउनु आफ्नो लागि खुशीको दिन भएको बताए ।
‘म सानो हुँदा विश्वको नक्सामा हेर्दा नेपाल र नेपालको झण्डा एकदमै अट्रयाक्टिभ थियो । किनकी यो युनिक फ्ल्याग थियो’ बुफोनले भने, ‘मेरो लागि ड्रिम कम ट्रु (सपना पूरा हुनु) हो । यसका लागि म आयोजकलाई धन्यवाद दिन चाहन्छु ।’
४७ वर्षीय बुफोनले सन् २००६ मा इटलीका लागि फिफा विश्वकप उपाधि जितेका थिए । उनले सन् १९९७ देखि २०१८ सम्म इटलीको राष्ट्रिय टिमका लागि खेलेका थिए ।
बुफोनले आजको दिन आफू र आफ्नो श्रीमतीको लागि विशेष दिन भएको समेत बताए । ‘म नेपाल र नेपाली जनताको बारेमा बुझ्न एकदमै क्युरियस थिएँ । आजको दिन म र मेरो श्रीमतीका लागि बिर्सन नसकिने दिन हो’ उनले भने ।
फाइनल हेर्न उत्साहित
यस्तै केपी ओली कपको फाइनल हेर्नकै लागि नेपाल आइपुगेका बुफोनले त्यस खेलका लागि समेत उत्सहित रहेको बताए । ‘तेस्रो संस्करणको केपी ओली कप कसले जित्छ भने म एकदमै उत्साहित छु ।’
उनले अहिले केपी ओली कपको फाइनल हेर्न नेपाल आएपनि यहाँको धेरै स्थान घुम्न मन लागेको र फेरि पनि नेपाल आउने आशा व्यक्त गरे ।
‘म मेरो श्रीमती र साथी पनि आएका छौं । अहिले केपी ओली कपको फाइनल म्याच हेर्नु पहिलो प्राथमिकता हो’ बुफोनले भने, ‘अर्को पटक पनि आउने आशा छ । यहाँको शहरहरू अवलोकन गर्न, मन्दिरहरू हेर्न मन छ । अर्को पटक धेरै समयका लागि आउनेछु ।’
फिटनेसको रहस्य
बुफोन अन्तर्राष्ट्रिय फुटबलमा लामो समय मैदानमा बिताउने खेलाडीमा पर्छन् । इटलीका लागि कीर्तिमानी खेल खेलेका उनले क्लब फुटबलमा इटलीको पार्मा, युभेन्ट्स हुँदै फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सम्मका लागि खेले ।
आफ्नो समयमा उनी उत्कृष्ट गोलकिपर थिए । फिफा विश्वकप उपाधि जिते तर युरोपियन च्याम्पियन्स लिगको उपाधि भने उनले जित्न पाएनन् ।
सन् १९९५ मा पार्माबाट क्लब करियर सुरु गरेका उनले ४५ वर्षको उमेरमा पनि पार्माबाट खेल्दै खेलाडी करियरको बिट दुई वर्षअघि मारेका थिए ।
झण्डै तीन दशक (२८ वर्ष) मैदानमा बिताएका बुफोन सधैं फिट देखिन्छन् । के हो त उनको फिटनेसको रहस्य ? यसका लागि आफूले हरेक दिन मिहिनेत गरेको र त्यसैको परिणाम भएको बताए ।
‘म सधैं मेरो कामलाई माया गर्छु । मेरो काम धेरै कठिन छ । किनकी हरेक दिन मैले उत्कृष्ट दिनका लागि फाइट गर्नुपर्छ । अझ राम्रो गर्नका लागि मिहिनेत गर्नुपर्छ । कुनै कुरा सहज छैन’ उनले सुत्र बताए, ‘हरेक दिन आफैंसँग फाइट गर्नुपर्छ।’
मेसी र रोनाल्डोमा को उत्कृष्ट?
पछिल्लो समय विश्वका दुई उत्कृष्ट फुटबल खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोबीच को उत्कृष्ट भनेर विश्वभर नै बहस चलिरहेको छ ।
धेरै पुराना र नयाँ खेलाडीहरुले यस विषयमा आफ्नो मत दिइरहेका छन् भने कसैले दुवै उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिने गरेका छन् । बुफोनलाई पनि एक नेपाली सञ्चारकर्मीले यो प्रश्न सोधिहाले । यसमा उनले सहज जवाफ दिए । सबै खेलाडी उत्कृष्ट छन् भनेर ।
उनले मेसी र रोनाल्डो दुवैको विपक्षीमा खेल्ने अवसर पाए । दुवैका धेरै प्रहारहरु पनि बचाए । ‘मलाई थाहा छैन किनकी मेसी, रोनाल्डो, म्याराडोना, पेले को बेस्ट भन्नु यो फेयर छैन’ बुफोनले भने, ‘मेरो विचारमा उनीहरु फ्यान्टास्टिक खेलाडी हुन् । उनीहरुले फुटबलको ठूलो कथा लेखेका छन्, यही हो । धेरै छैन ।’
नेपालले विश्वकप खेलेको हेर्न मन छ
बुफोनले नेपाली फुटबलको कुरा पनि गर्न भ्याइहाले । उनले नेपालले पनि एसिया कप र विश्वकपजस्ता ठूला प्रतियोगिता खेलेको हेर्ने मन भएको बताए । त्यसका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने जस्ता कुराहरु पनि उनले सुनाए ।
‘मलाई नेपालले पनि ठूलो इभेन्टहरु खेलेको हेर्न मन छ, एसिया कप र विश्वकप । तर त्यसका लागि तपाईंहरूले पूर्वाधार स्टेडियम, शिक्षामा लगानी गर्नुपर्छ । खेलाडीहरुलाई फुटबल खेल्न ‘पुश’ गर्नुपर्छ । यो महत्वपूर्ण हो । तपाईँले ठूलो सपना राख्नुपर्छ यो उपलब्धि हासिल गर्नका लागि’
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको उपाधि समेत जित्न नसकेको नेपालले एएफसी एसियन कपमा छनोट पनि हुन सकेको छैन, विश्वकप हालका लागि भने धेरै परको कुरा छ ।
तस्वीरहरू : विकास श्रेष्ठ, अनलाइनखबर
प्रतिक्रिया 4