+
+
Shares

स्वर्गद्वारी गुठीपीडित हिरासत मुक्त, सांसद शर्मा भन्छिन्- पीडितलाई दमन गर्नु गलत

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते ८:००

१९ फागुन, काठमाडौं । काठमाडौंबाट पक्राउ परेका दाङका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका १२ जनालाई प्रहरीले छाडेको छ ।

लालपुर्जा माग्दै गत माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा अनिश्चितकालीन धर्नामा बसेका किसानहरुसँग आइतबार प्रहरीसँग झडप भएको थियो । झडपमा प्रहरी वृत्त सिंहदरबारका डिएसपी गंगा पौडेललगायत घाइते भएका थिए ।

सो घटनापछि प्रहरीले दाङका ४८ वर्षीया पिमा चौधरी, ३३ वर्षीया सुनिता चौधरी, ३० वर्षीया विमला चौधरी, ३५ वर्षीया विन्दु कुमाल, २९ वर्षीया रमा चौधरी, २७ वर्षीय रमेश चौधरी, ४८ वर्षीय भरत चौधरी, ४६ वर्षीय लाल बहादुर चौधरी, वर्षीय धनिराम चौधरी, २९ वर्षीय शेरबहादुर चौधरी, ५० वर्षीय बालकृष्ण चौधरी र २५ वर्षीय प्रविण चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई आज बिहान छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

यसैबीच दाङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य रेखा शर्माले गुठी पीडित किसानलाई भेटेर माग पुरा गर्ने कानुन बनाउनतिर ध्यान नदिएर सरकार दमनमा उत्रिएको भन्दै विरोध गरेकी छन् । उनले आन्दोलनरत किसानहरुको माग सम्बोधन गर्नुपर्ने बताइन् ।

‘किसानहरुले जुन जग्गा लामो समयदेखि आफैंले जोतभोग गर्दै आएका छन् । त्यो जग्गाको लालपूर्जा कानुन बनाएर देउ भनेर उनीहरुले माग राखेका थिए । सरकारले उनीहरुको माग सुनेन । संसदमा जनप्रतिनिधिहरुले संसदमा यति धेरै यो कुरा उठाउँदा पनि सरकार समस्या सम्बोधन गर्नतिर लागेन । गुठी किसानलाई भेटेर माग पुरा गर्ने कानुन बनाउनतिर ध्यान दिइएन,’ सांसद शर्माले भनिन्, ‘जनतालाई दुःख नदिएर दाङ पठाउनुपर्नेमा दमन भयो । त्यसो गर्नुु हुँदैन ।’

उनले अगाडि भनिन्, ‘सरकारले गुठी पीडित किसानहरुको मागलाई सकारात्मक रुपमा लिएर कानुन बनाएर उनीहरुको समस्या सम्बोधन गर्नुपर्छ । उनीहरुलाई विनासर्त रिहा गरेर समाधानको बाटोमा जानुपर्छ ।’

स्वर्गद्वारी गुठीपीडितहरूले आज पनि धर्ना कार्यक्रमलाई जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?