
अहो
मान्छे ठान्नुभएको मलाई ?
होइन नि !
म त पुत्ला मात्रै हो हजुर
म मान्छे भए पो
मलाई मान्छेको दर्जामा राख्नु हुन्थ्यो
म जाबो पुत्लालाई
जे गरे हुन्छ
जसो गरे हुन्छ
मैले आँखा खोल्न हुँदैन
ओठ खोल्न हुँदैन
सत्य सुन्न हुँदैन
संघार नाघ्न हुँदैन
उत्पीडन भयो भन्न हुँदैन
म मान्छे बन्न हुँदैन
तपाईंलाई तिर्खा लाग्ने बित्तिकै
म चिसो पानी भइदिनुपर्छ
तपाईंलाई जाडो हुने बित्तिकै
म तातो चिया भइदिनु पर्छ
तपाईंलाई भोक लाग्ने बित्तिकै
म भोजन भइदिनु पर्छ
मानौं
तपाईं जंगलको भोको बाघ हो
र म पासोमा अल्झिएको हरिण हुँ
मैले मुट्ठी कसे पोथी बासेको हुन्छ
तपाईंले मुट्ठी कसे भाले बासेको हुन्छ
म बोले चोथाले हुन्छ
तपाईं बहुलाए बहादुरी हुन्छ
सिन्दुर लगाइदिए पनि
मंगलसुत्र लगाइदिए पनि
फरिया किन्दिए पनि
चोलो सिलाइदिए पनि
पुत्ला त आखिर पुत्ला नै हो
आकृति मिल्दोजुल्दो देखेर
मान्छे ठान्नुभएको मलाई ?
होइन नि !
म त पुत्लामात्रै हो हजुर ।
प्रतिक्रिया 4