
काठमाडौं । ८ वर्षिया नेपालीभाषी बालिका विनिता क्षेत्रीले बेलायती रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा सानदार प्रस्तुति दिएकी छन् । शनिबार बेलुका प्रसारित शोमा उनले दिएको नृत्य प्रस्तुतिको यतिबेला चर्चा भैरहेको छ ।
उनको प्रस्तुतिमा चारैजना निर्णायकसँग प्रशंसामा शब्द थिएन । चारैजना निर्णायक उभिएर विनिताको सम्मानमा ‘स्ट्यान्डिङ ओभेसन’ समेत दिएका थिए ।
उनले कन्टेम्पोररी र एक्रोब्याटिक शैलीमा नृत्य प्रस्तुति दिएकी थिइन् । लचकदार शरिरमार्फत उनले जसरी प्रस्तुति दिइन्, प्रस्तुतिमा चारै जजले मुक्तकण्ठले प्रशंसा गरे ।
‘अमेजिङ पर्फमेन्स’ जजहरूले भनेका छन्, ‘हामीले यसअघि यस्तो डान्स कहिल्यै देखेका थिएनौं । हामी यसमा गर्व गर्छौं । तिमीले राम्रो गर्यौ ।’ पपस्टार केटी पेरीको हिट गीत ‘रोअर’मा उनले सानदार प्रस्तुति दिएकी हुन् ।
‘ब्रिटेन्स गट ट्यालेन्ट मेरो सपनाको मंच हो र म जित्न चाहन्छु’ प्रस्तुति दिनुअघि शोमा आउनुको कारणबारे जजहरूले उनलाई सोधेका प्रश्नमा उनको जवाफ थियो, ‘यो जितेपछि म प्रिन्स र प्रिन्सेस बस्ने घर किन्न चाहन्छु ।’ उनको यो बालसुलभ जवाफलाई समेत निकै रुचाइयो ।
भारतको पूर्वोत्तर आसामकी विनिता बुवासँग कार्यक्रममा पुगेकी थिइन् । उनको प्रस्तुतिको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
प्रतिक्रिया 4