+
+
Shares

गोंगबु बसपार्कका सबै काउन्टरबाट अनलाइन टिकट काट्न सुरु

नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।

रासस रासस
२०८१ फागुन १९ गते १५:४६
फाइल तस्वीर

१९ फागुन, काठमाडौं । देशभरिका सार्वजनिक सवारीसाधन आवतजावत गर्ने गोंगबुस्थित नयाँबसपार्कका सबै टिकट काउन्टरबाट अनलाइन प्रणालीमा बसको टिकट काट्न सुरु गरिएको छ ।

मुलुकको एक मात्र राष्ट्रिय बसपार्क नयाँबसपार्कलाई प्रविधिमैत्री बनाउँदै यात्रुलाई सहज ढङ्गले सेवा प्रदान गर्नका लागि बसपार्कभित्रका ४७ वटै टिकट काउन्टरबाट अनलाइन प्रणालीबाट टिकट काट्न सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर लोत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँबसपार्कमा यातायात व्यवसायीको सहकार्यमा बसपार्कका टिकट काउन्टरलाई अनलाइन प्रणालीमा लगिएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ७० जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । यसबाहेक सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, रामेछाप, खोटाङलगायत जिल्लामा भने कोटेश्वरबाट सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

नयाँबसपार्कबाहेक हाल राजधानीको कलङ्की, पुरानो बसपार्क, गौशाला, कोटेश्वर र सोह्रखुट्टेबाट सवारीसाधन विभिन्न जिल्लामा आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले भने सबै सवारीसाधनलाई नयाँबसपार्कबाट आवतजावत गराउने लक्ष्यका साथ काम गरिरहेको छ ।

२०५६ सालमा काठमाडौं महानगरपालिकाका प्रमुख र लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्षबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो ।

उक्त बसपार्कभित्र बाहिरी जिल्लाबाट आएका बस र उपत्यकाभित्र सञ्चालनमा रहेका बसलाई पार्किङका लागि छुट्टाछुट्टै बसपार्क स्थल निर्माण गरिएको छ । नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन पार्किङ गर्न मिल्ने ठाउँ रहेको छ । हाल उक्त बसपार्कबाट ३५० देखि ४०० सवारीसाधन विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?