+
+
Shares

हुम्लाको हल्जी गाउँमा अनौठो नियम, खेतबारीको काम गर्न तोकियो समय-सीमा

नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङ दिनभर काम गरेपछि थकाई लाग्ने भएकोले स्थानीयको स्वास्थ्यको ख्याल गर्दै यस्तो नियम लागू गरिएको बताउँछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १७:३१

१९ फागुन, हुम्ला । सुन्दा अचम्म लाग्छ, हुम्ला जिल्लाको एउटा दुर्गम गाउँका बासिन्दाले चाहेर पनि ५ घन्टाभन्दा बढी कुनै काम गर्न पाउँदैनन् । भात-भान्सादेखि खेतीपातीको काममा समेत समय-सीमा तोकिएको छ।

यो गाउँ हो, नाम्खा गाउँपालिका-६ मा पर्ने हल्जीगाउँ । तिब्बत सीमासँग जोडिएको यो गाउँमा ९० घरधुरी बसोबास गर्छन् । स्थानीयलाई नियममा बाँध्न एक जना स्थानीयको अध्यक्षतामा तीन सदस्यीय कमिटी नै बनाइएको छ । कमिटीका अध्यक्षले स्थानीयवासीलाई काममा खटिन आदेश गर्छन् ।

स्थानीयलाई काम गर्ने समय बिहान ६ बजेदेखि ११ बजेसम्म तोकिएको छ । बिहान ६ बजेभन्दा अगाडि उठेर खेतबारीको कामसमेत गर्न पाइँदैन । समय मिचेर काम गरेमा जरिवाना तिराइन्छ ।

५ घन्टाभित्रै काम सक्नुपर्ने भएकोले बाली भित्र्याउने बेलामा गाउँलेलाई भ्याइनभ्याइ हुन्छ । समय अभावमा उवा, जौ जस्ता बाली लगाउने र भित्र्याउने बेलामा निकै सास्ती हुने स्थानीय बताउँछन् । तोकिएको समयभित्र बाली भित्र्याउने चटारोका कारण बाहिरबाट आएका पाहुनासँग बोल्ने फुर्सद समेत नहुने उनीहरुको गुनासो छ ।

आफ्नै काम गर्न पनि स्थानीयलाई किन यसरी नियममा बाँधियो त ? नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङ दिनभर काम गरेपछि थकाई लाग्ने भएकोले स्थानीयको स्वास्थ्यको ख्याल गर्दै यस्तो नियम लागू गरिएको बताउँछन् । उनी भन्छन्, ‘बिहान ५ घन्टा काम गरेपछि दिउँसो घरमा आरामले बस्न पाउन् भनेर यस्तो नियम लागू गरिएको हो । शरीरले आराम पनि त खोज्न नि ।’

वडाका जनप्रतिनिधिलाई सघाएर नियम लागू गराउन तीन जनाको छुट्टै कमिटी बनाइएको वडाध्यक्ष तामाङले जानकारी दिए । कमिटीमा पाल्जोर तामाङ, मिङमार तामाङ र पासापो तामाङ छन् ।

अन्नबाली भित्र्याउने र खर्क चरिचरणका विषयमा चैत महिनाको अन्तिम वा वैशाख महिनाको पहिलो हप्ता कमिटीको बैठक हुने गरेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

घाँस काट्ने, अन्नबाली लगाउने तथा भित्र्याउने समयमा यो कमिटीको भूमिका रहने वडाध्यक्ष तामाङले बताए । ‘बिहानै कोही पनि काममा निस्किन पाउँदैन । छिटो खेतबारीमा पुग्नेलाई कार्बाही हुन्छ । बरु ढिला गए केही हुँदैन,’ वडाध्यक्ष तामाङले भने ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । ‘दिउँसो काम गर्दा उवा, जौ लगायतका बाली घामले झर्छ भनेर हुनसक्छ । तर यस्तो नियम लगाइएको छ भन्ने मैले पहिलो पटक सुनेको हुँ,’ उनले भने ।

नाम्खा- ६ का स्थानीय लुन्डुप तामाङले गाउँवासीसँग छलफल गरेर नै लागू गरिएको बताए । स्थानीयवासीकै राजीखुसीमा काम गर्ने समयसीमा तोकिएको अर्का स्थानीय कार्साङ तामाङको भनाइ छ।

तिल गाउँमा फागुन महिनामा बैठक बस्ने चलन छ भने हल्जी गाउँमा चैतको अन्तिम साता र वैशाखको पहिलो हप्ता बैठक बसेर गाउँका समसामयिक विषयमा छलफल हुने गरेको उनको भनाइ छ ।

तिल गाउँमा ४२ घरधुरीमध्ये अब १८ घरधुरी मात्र गाउँमा बस्छन् । हल्जी गाउँमा ८० घरधुरीमध्ये २ घरधुरी बाहिर छन् । जाँङमा ६३ घरधुरीबाट २ घर मात्रै गाउँमा छन् । अरुले गाउँ छोडिसकेका छन् ।

लिमीकै जाङ र तिल गाउँमा भने यो नियम लागू गरिएको छैन । जाङमा रात-बिहान जतिबेला पनि काम गर्न पाइने स्थानीय सुङडुप तामाङले बताए ।

(नरजन तामाङको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?