
प्रवासमा नेपाली भाषा साहित्यको प्रवर्द्धनमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को युरोप कमिटी गठन भएको छ ।
केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईंको संयोजकत्त्वमा गठित उक्त समितिको सह-संयोजकमा पञ्चम अधिकारी (बेल्जियम) र सदस्य-सचिवमा एनबी अञ्जान (पोर्चुगल) रहेका छन् ।
यसैगरी सदस्यहरूमा सौरभ कारंजित (बेल्जियम), राज श्रेष्ठ (बेलायत), पूर्ण बस्नेत ( डेनमार्क), सुसन बर्देवा (पोल्यान्ड), सुजाता घिमिरे राउत (जर्मनी), ओमर गुरुङ (स्पेन), माया गुरुङ (बेलायत), सवी श्रेष्ठ (पोर्चुगल), विष्णुमाया बिभू (नर्वे), सूर्यराज गिरी (नेदरल्यान्डस् ), लक्ष्मण देवकोटा (स्वीट्जरल्यान्ड) र प्रशान्त उप्रेती (फ्रान्स) रहेका छन् । विभिन्न देशका शाखा अध्यक्षहरू सो समितिमा पदेन सदस्य हुने जनाइएको छ।
त्यसैगरी, सल्लाहकारमा हरिहर अर्याल (फ्रान्स), डा. रूपक श्रेष्ठ (बेलायत), ब्रम्ह वाग्ले (बेल्जियम), खड्ग नेउपाने (जर्मनी) र सीता बराल (डेनमार्क) रहेका छन्।
सो समितिको घोषणा गर्दै अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले केन्द्र र क्षेत्रीय च्याप्टरहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्दै युरोपेली डायस्पोरामा नेपाली भाषा र साहित्यको प्रवर्धन गर्ने उद्देश्यले युरोप समिति गठन गरिएको प्रष्ट पारे ।
संसारभरिका पाँचवटै महादेशमा अनेसासको क्षेत्रीय समिति गठन गर्ने अवधारणा अनुरूप यो समिति गठन भएको हो । यसअघि एसिया, प्यासिफिक र अमेरिकामा क्षेत्रीय समिति गठन भैसकेका छन् ।
यस समितिले निकट भविष्यमा बेल्जियममा आयोजित हुने अनेसासको अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न साहित्यिक अभियान चलाउने नवगठित समितिका संयोजक डिल्ली अम्माईंले बताए । त्यसैगरी नवगठित समितिका सह-संयोजक पञ्चम अधिकारीले नेपालीहरू सक्रिय भइकन झन्डै एक दर्जन युरोपेली देशहरूमा अनेसासका शाखा स्थापित नभएका वा निस्क्रिय रहेको स्थितिमा संगठन विस्तार ब्यापक बनाइने उल्लेख गरेका छन्।
गत वर्ष अनेसास पोर्चुगल शाखाको आयोजना र एनबी अञ्जानको संयोजकत्वमा ८ देखि १० मार्चसम्म अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भएको थियो ।
यसवर्ष जुनको अन्तिम हप्ता अनेसास बेल्जियम शाखाको आयोजनामा अन्तर्राष्ट्रिय च्याप्टर्स सम्मेलन गरिने घोषणा भैसकेको छ ।
संसारका सबै महादेशहरूमा गरी २३ भन्दा बढी देशहरूमा अनेसासका शाखा (च्याप्टर्स) हरू विस्तारित छन् । बेल्जियम शाखा र अनेसास केन्द्रसँग समन्वय गरी अन्तर्राष्ट्रिय च्याप्टर्स सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न युरोप कमिटी गठनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसअघि अमेरिकामा राजेन्द्र श्रेष्ठको संयोजकत्त्वमा अनेसास उत्तर अमेरिका समिति र बाबा बस्नेतको संयोजकत्त्वमा एशिया समिति गठन भैसकेको छ।
प्रतिक्रिया 4