+
+
Shares

महावीर पुनलाई जसले सुनको गहना सुम्पिइन्

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८१ फागुन १९ गते १८:००

महावीर पुनले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा मर्मस्पशी प्रसंग अहिले भाइरल भएको छ । प्रसंग धरानको हो । र, प्रसंग एक सहृदयी महिलाको । यतिबेला महावीर पुन आफ्नो पुस्तक बेच्दै देश दौडाहमा छन् ।

उनी कहिले पश्चिम त कहिले पूर्वको फन्को लगाइरहेका छन् । पुस्तकको नाम हो, महावीर पुन : सम्झना, सपना र अवीरल यात्रा । उनी यही पुस्तक बोकेर चोक, बजार, गल्लीमा उँभिन्छन् । त्यहाँ मान्छेको भीड लाग्छ । भीड मात्र लाग्दैन, पुस्तक पनि खरिद गर्छन् ।

यो पुस्तक विक्री गर्दै हिँड्नु महावीर पुनको रहर भन्दा बढी बाध्यता हो भन्ने उनीहरूले बुझेका छन् । त्यसैले राष्ट्रिय आविष्कार केन्द्रका लागि थोरै मात्र भएपनि आफ्नो योगदान पुगोस भन्ने हेतुले पुस्तक खरिद गर्न हतारिएका छन्। त्यससँगै उनको सादगी शैली र स्पष्ट बोलीबचनले मान्छेहरू पग्लिएका छन् ।

धरानमा पुस्तक विक्री गर्न पुगेका पुन यस्तै सहृदयीहरूले घेरिएका छन् । उनको पुस्तक धमाधम विक्री भइरहेको छ । यसैबीच एक महिलाले आविष्कार केन्द्रको सहयोगार्थ गहना नै दिएकी छिन् । त्यो पनि नाम नखुलाउने र फोटो सार्वजनिक नगर्ने सर्तमा ।

यसै सन्दर्भमा महावीर पुनले लेखेका छन्, ‘आज भेडेटारबाट धरान नझरेर बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्न जाँदा एक जना बहिनी दौडदै आएर तल फोटोमा देखाएको सुनको गहना दिइन् । मैले लिन मानिनँ ।

तर उनले वीरगन्जको कृषि औजार कारखानालाई सहयोग हो दाजु र यो मेरो आफ्नै गहना हो भनेपछि नलिई भएन । मैले उनको घर हेरेँ । टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो । उनले फोटो खिच्न मानिनन् र नाम उल्लेख नगर्ने भनिन् ।’

महावीर पुनको यो पोस्ट धेरैले सेयर गरेका छन् र त्यसमा उत्तिकै कमेन्टहरू पनि छन् । एक व्यक्तिले कमेन्ट गर्दै लेखेका छन् ‘सुन पनि सुन भन्दा महंगो हुन सक्ने रहेछ, सायद त्याग, समर्पण हुँदा महंगो र मूल्यवान हुने रहेछ ।

यो त बेच्ने भन्दा पनि एउटा सुन्दर फ्रेममा सजाएर राख्ने वा लिलामी गर्ने उपहार भयो सर । यो सुनको मूल्य तौल र बजार भाउ मात्र रहेन त्यो चेलीको देशप्रेम, तपाईँको निस्वार्थ लगनशीलताप्रति श्रद्धा सबै मिसाएर यो सुन आफ्नो तौल भन्दा महँगो भएको छ ।’

महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पनि हुन् । नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै नेब्रास्काले उनलाई मानार्थ ‘डाक्टर’ उपाधिसमेत दिएको छ।

देशलाई विकासको गतितिर अग्रसर गराउनेमा उनको विशेष योगदान छ । पुरानो चप्पल, हाफ कट्टु र प्राय मैलो गञ्जीमा देखिने पुनको साधारण जीवनशैली देखेर धेरै मानिस प्रभावित हुने गर्दछन् ।

आफूले लेखेको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न देशको विभिन्न ठाउँमा यात्रा गरिरहेका छन् । आफ्नो जीवनी पुस्तक बेचेर प्राप्त आम्दानीले वीरगन्जस्थित कृषि औजार कारखानालाई पूर्ण क्षमतामा सञ्चालन गर्ने उनको घोषणा छ । यही उद्देश्यले आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्न धरान पुग्दा उनलाई ती महिलाले सुनको गहना उपहार दिएकी हुन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?