+
+
Shares

‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ सकियो, पाँच विजेताले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने

काठमाडौंको किङ्स कलेजमा चलेको ओलम्पियाडमा सात प्रदेशका १ सय ८७ शैक्षिक संस्थाबाट छनोट भएका १ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते १८:०३

१९ फागुन, काठमाडौं । ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ आइतबार सकिएको छ । योङ इकोनोमिस्ट सोसाइटी नेपालले प्रत्येक वर्ष आयोजना गर्ने प्रतियोगिताको छैटौं संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ नामकरणमा सम्पन्न भएको हो ।

१६ देखि १८ फागुनसम्म काठमाडौंको किङ्स कलेजमा चलेको ओलम्पियाडमा सात प्रदेशका १ सय ८७ शैक्षिक संस्थाबाट छनोट भएका १ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्थिक समस्या समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको थियो ।

नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा बूढानीलकण्ठ स्कुलबाट इशानशेखर खड्का, ट्रिनिटी इन्टरनेसनल कलेजबाट आवाज सिम्खडा, समीप यादव, रोशन सेढाइँ र रातो बंगलाबाट विज्ञान अधिकारीले गोल्ड मेडल जितेका छन् । उनीहरूले अजरबैजानको बाकुमा जुलाई २०२५ मा हुने ‘अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।

गोल्ड मेडल विजेतालाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । पौडेलले प्रतियोगिताले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अवसरको ढोका खोल्ने बताउँदै भविष्यका नीति निर्माणकर्ताका लागि यो महत्त्वपूर्ण मञ्च भएको उल्लेख गरे ।

यसैगरी सेन्ट जेभियर कलेजका रघुवीर श्रेष्ठ, हेटौंडा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र, सुदूरपश्चिमाञ्चल एकेडेमीकी नीतिका अवस्थी, जेभियर इन्टरनेसनल कलेजका अक्षत कार्ला र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईंले सिल्भर मेडल जितेका छन् ।

सिल्भर मेडल विजेताले अस्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका तर्फबाट भाग लिनेछन् । उनीहरूलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा बिजनेस केस एनालाइसिस विधाका उत्कृष्ट विजेतालाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । यस चरणमा विद्यार्थीले काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन सम्बन्धी आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।

ओलम्पियाडका दौरान राष्ट्र बैंकबाट मान्यताप्राप्त वित्तीय साक्षरता प्रशिक्षकले वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण प्रदान गरेका थिए । साथै, राष्ट्रिय योजना आयोगका सदस्यले अर्थशास्त्र सम्बन्धी विशेष लेक्चर तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय छात्रवृत्ति सम्बन्धी जानकारीमूलक सत्र सञ्चालन गरेका थिए ।

नेपाल इकोनोमिक्स ओलम्पियाडका पार्टनरसिप निर्देशक दीपक भण्डारीले प्रतियोगिता विद्यार्थीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेमात्र नभई उनीहरूको वित्तीय साक्षरता, विश्लेषणात्मक क्षमता तथा नीति निर्माणमा योगदान गर्न महत्त्वपूर्ण प्लेटफर्म भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?