
१९ फागुन, काठमाडौं। नेपालबाट लोप भएको आशंका गरिएको खैरो झाडी फिस्टो चरा सय वर्षपछि चितवनमा देखिएको छ ।
चराविद् प्रताप गुरूङले मंसिर २३ गते चितवनको दिव्यनगरमा चरा अवलोकन गर्ने क्रममे दिउँसो १२: ९ मिनेटमा उक्त प्रजातिको चरा देखिएको नेपाल पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मण पौडेलले बताए । उनका अनुसार संघले विज्ञप्ति निकालेर यो चराको बारेमा जानकारी दिएको हो ।
उनले अनलाइनखबरसँग भने, ‘यो खैरो झाडी फिस्टो चरा नेपालबाट लोप भइसकेको भनिरहेका बेला सय वर्षपछि चितवनमा देखा परेको छ। यसअघि हडसनले सन् १८४५ तिर नेपाल घुम्न आउँदा देखेका थिए। ‘
उनका अनुसार उक्त चरा देखेर नौलो लागेपछि गुरूङले यसको तस्वीर खिचेर प्रारम्भिक पहिचान गरेका थिए ।
नेपालमा १९औ शताब्दीपछि यो चराको पछिल्ला वर्षहरूमा कुनै पनि अभिलेख नरहनु र अहिले फेरि भेटिनुले सय वर्षपछि चरा भेटिएको मान्न सकिने नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा.तुल्सी सुवेदीले बताए ।
‘हडसन्ले सन् १८४५ मा देखेको यो चरालाई पछिल्ला वर्षहरूमा नेपालबाट लोप भएको सूचीमा राखिएको थियो। तर अहिले चितवनमा भेटिनु सौभाग्य हो,’ उनले भने, ‘ २०८१/९/८ गते (२३ डिसेम्बर २०२४)मा चराको यकिन पुष्ट्याइका लागि उहाँ(प्रताप)ले नेपाल बर्ड रेकर्ड कमिटी(एनबीआरसी)मा विवरण र तस्वीरहरू पठाउनु भएको थियो। एनबीआरसीले सबै विवरणहरूको अध्ययन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव संकलन गरेपछि यसको पुष्टि गरेका हौं।’
उनले यो चरा नेपालमा पुन: देखिनुले अब लोप भएको सूचीबाट नेपालमा पाइने चराको सूचनामा समावेश भएको पनि बताए । ‘ हामीले पहिला लोप भएको सूचीमा भनेर राखेका थियौं। तर अब पुन: फेला परेको छ। त्यसकारण यो अब नेपालमा पाइने चराको सूचीमा समावेश भएको छ।’ उनले अनलाइनखबरसँग भने ।
डा. सुवेदीका अनुसार खेरो झाडी फिस्टोको अंग्रेजी नाम Brown Bush Warbler हो र यसको वैज्ञानिक नाम Locustella luteoventris (Hudgson,1845) हो। यो चरा passeriformes वर्गको lucustelidae परिवारमा पर्दछ । साथै यो चरा भुटान, चीन, भारत, म्यानमार, भियतनाम र थाइल्याण्डमा आवासीय रुपमा पाइन्छ ।
नेपालमा पाइने चराहरूको खोज, अनुसान्धान गर्न डा. सुवेदीको ६ जना टीम र २ जना सल्लाहकार रहेको बताए ।
उनले भने, ‘हामी ६ जनाको टीम नै छौं जसले चराहरुको बारेमा अध्ययन, अनुसन्धान र तस्वीरहरू संकलन गर्दै आएका छौं।’
उनको टिममा टीकाराम गिरी (चितवन), हठन चौधरी (चितवन), तुलसी सुवेदी (अर्घाखाँची), सन्दीप आचार्य (सुनसरी) मनशान्त घिमिरे कास्की) र बेलायती नागरिक क्यारोल रहेका छन् । क्यारोल नेपालमा भने सन् १९७७देखि (झण्डै ४० वर्ष) चराको बारेमा खोज अनुसन्धान गर्दै आएको र चराको पुष्टि गर्न भरपुर सघाइरहेको डा.सुवेदीले बताए ।
डा.हेमसागर बराल र बेलायती नागरिक क्यारोलले चराको बारेमा सल्लाह दिँदै आएको उनको भनाइ छ ।
हेर्नुहोस् नेपाल पन्छीविद् संघको विज्ञप्ति :
प्रतिक्रिया 4