उमेर बढ्दै जाँदा श्रवणशक्तिमा कमी आउनु सामान्य कुरा हो । यद्यपि आश्चर्यजनक रूपमा विगत केही वर्षमा विश्वव्यापी रुपमा यो समस्या युवा तथा बालबालिकाहरूमा पनि द्रुत गतिमा बढ्दै गएको छ।
विश्वभर एक अर्बभन्दा बढी जनसंख्यामा कानको सुनाइ सम्बन्धी समस्या छ । ती मध्ये ३ करोड ४ लाखभन्दा बढी बालबालिका बहिरोपनको शिकार भएको विश्व स्वास्थ्य संगठनले देखाउँछ ।
अत्याधुनिक प्रविधि, दक्ष चिकित्सक र त्यही अनुसारको औषधि उपचार हुँदा पनि श्रवण गुम्नेहरूको संख्या बढ्नु दु:खद् हो ।
यही गतिमा संख्या बढ्दै गएमा सन् २०५० सम्ममा ७० करोडको हाराहारीमा श्रवण शक्ति गुम्ने समस्या देखिने आँकलन गरिएको छ । किनकी, अहिलेको तथ्यांकले प्रत्येक दशजना मध्ये एकजनामा श्रवण गुम्ने देखाएको छ ।
यसरी श्रवणशक्ति गुम्नुमा केही न कही लापारवाही र सचेतनाको अभावले उपचारको दायरामा नआउनु पाइएको छ ।
यही बढ्दो बिरामीको संख्या घटाउनका लागि सचेतना फैलाउन हरेक वर्ष मार्च ३ मा विश्व श्रवणशक्ति दिवस मनाइन्छ। यस वर्षको विश्व श्रवण दिवसको नारा ‘मानसिकतामा परिवर्तनः कान र श्रवण हेरचाहका लागि आफूलाई सशक्त बनाउनुहोस्’ भन्ने रहेको छ ।
नेपालमा कतिको साझा समस्या ?
नेपालको कुल जनसंख्याको ६ प्रतिशत कान नसुन्ने समस्याबाट ग्रसित छन् । जसमा ५ प्रतिशतभन्दा बढी बालबालिकामा यो समस्या छ ।
सबैभन्दा बढी बालबालिकामा देखिनुको कारण
बच्चाले कान सुन्दैन भने यो समस्या गर्भबाट नै सुरु भएको हुनसक्छ । अधिकांश बच्चामा आमाले गर्भमा बच्चा रहँदा कुनै कारणवश एन्टिबायोटिक औषधि अत्याधिक खाने, रेडियसन गर्न जाँदा त्यसबाट निस्किएको विकिरणको असर आमाबाट बच्चामा सर्न सक्ने अवस्थाले पनि बच्चाको सुनाइ क्षमतामा प्रभाव पार्नसक्छ ।
गर्भमा हुँदा वंशाणुगत कारणले गर्दा कानको प्रणालीमा ह्रास आउँछ । आमालाई रुबेलाजस्ता भाइरस संक्रमण भयो भने पनि बच्चालाई समस्या गराउन सक्छ । बच्चा गर्भमा रहँदा रक्तअल्पता भएमा पनि बहिरोपन हुनसक्छ ।
बच्चा जन्मिँदा अक्सिजनको कमी, समयअगाबै जन्मियो भने फोक्सो विकास भइसकेको हुँदैन । जसकारण अक्सिजन सिधै मस्तिष्कमा पुगेर जम्मा भएर बस्छ । जसले कानको भित्री प्रणालीमा अक्सिजन नपुगी कानको नसा सुकेर कानमा समस्या गराउन सक्छ ।
बच्चा जन्मिँदा चोटपटक लागेमा पनि समस्या गर्न सक्छ । मेनिनजाइटिस, आईसीयूमा राख्नुपर्ने अवस्थामा पनि उच्च मात्राको औषधि चलाउँदा त्यसको असर कानको सुन्ने क्षमतामा पर्न सक्छ ।
तर, यी समस्या आएमा कतिपय उपचारले ठिक पार्न सकिन्छ ।
बच्चाले कान नसुन्दा बोलीमा असर
बच्चाले पहिलो शब्द सुन्ने भनेको आमाको हो । आमाकै बोली टिपेर क्रमिक रुपमा बोल्न सिक्छन् । यस्तोमा कल्पना गर्नुहोस्, बच्चाले कानले सुन्दै सुनेन, बोलेको भाषा बुझ्दैन भने भाषामा समस्या हुन्छ ।
अर्को भनेको, हामी उभिने, हिँड्ने चाल ढाल पनि मस्तिष्क, कानको तालमेलले मात्र सम्भव छ । संगीत सुन्दाको मज्जा अनुभव कानमा समस्या हुनेले लिन पाउँदैन । संगीत, चराचुरुङ्गी र जनावरको आवाज सुन्न पाइँदैन ।
वयस्कमा समस्या देखिने कारण
ध्वनि प्रदूषण
अत्यधिक ठूलो आवाजमा रहनु (जस्तै-: कारखाना, ट्राफिक वा लगातार हेडफोनको प्रयोग)ले श्रवण क्षमता क्षमतालाई स्थायी रूपमा क्षति पुर्याइरहेको छ।
किनकि कानको भित्र हुने कोक्लियाले मस्तिष्कमा आवाजको संकेत पठाउँछ । जब व्यक्ति लगातार ध्वनिको सम्पर्कमा आउँछ, कोक्लियाको कोषिकामा क्षति पुग्छ र मस्तिष्कसम्म ध्वनि प्रसारमा रोकावट हुन्छ । जसले गर्दा बहिरोपन देखिन सक्छ ।
औषधिको दुष्प्रभाव – केही एन्टिबायोटिक्स तथा अन्य औषधिहरूको दीर्घकालीन सेवनले कानको स्नायु प्रणालीलाई क्षति पुर्याउन सक्छ। कानलाई सिधा असर पार्ने औषधि जस्तै, पिसाब लगाउने औषधि, क्यान्सर, मलेरिया र क्षयरोगको औषधि सेवनले पनि बहिरोपन हुन सक्छ ।
मस्तिष्क वा कानमा चोटपटक
गम्भीर टाउको वा कानमा लागेको चोटले पनि श्रवण शक्ति गुम्न सक्छ।
दीर्घ समस्या
मधुमेह, थाइराइड समस्या, वा ब्रेन ट्युमरजस्ता स्वास्थ्य समस्याले पनि श्रवण क्षमतामा असर पार्न सक्छ। कानको मासु पलाउने समस्याको उपचारले पनि क्षमतामा ह्रास आउन सक्छ ।
कानमा संक्रमण
कानमा एक्युट र क्रोनिक गरी दुई किसिमले संक्रमण हुन्छ । कुनै कारणवश छोटो अवधिमा कानमा संक्रमण भई निको हुनेलाई एक्युट संक्रमण भनिन्छ । तर लगातार कानमा संक्रमण भइरहेमा त्यो क्रोनिक संक्रमण भनेर बुझिन्छ ।
कानमा पानी पस्नु, तेल लगातार हाल्नु, कानमा चिलाएमा सिन्काले कोटाइरहनु, रुघाखोकी बारम्बार भइरहनु जस्ता कारणले कानमा संक्रमण हुन्छ । यसको बेलैमा उपचार नगरेमा त्यो क्रोनिक समस्यामा परिणत हुन्छ । यसबाट बिस्तारै सुन्ने क्षमतामा ह्रास आउँछ ।
बढ्दो उमेर
उमेर बढ्दै गएपछि शरीरका अंगहरू कमजोर हुँदै जान्छन्, जसको प्रभाव कार्यक्षमतामा पर्छ । कानको कार्यक्षमता पनि बढ्दो उमेरसँगै घट्दै जान्छ । ६० वर्षभन्दा माथिका ३३ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको बहिरोपनको समस्या छ ।
७४ वर्षभन्दा माथिका व्यक्तिहरूमा झनै ५० प्रतिशत कान सुन्ने क्षमतामा ह्रास आएको हुन्छ ।
उपचार
श्रवण शक्तिको समस्याको उपचार छ । जति छिठो उपचार, त्यति चाडो निको हुनसक्छ । बच्चा जन्मिनेबित्तिकै श्रवण क्षमताको परीक्षण गरेमा समस्या भएमा तत्काल उपचार गर्न सकिन्छ ।
त्यसका लागि सबैभन्दा पहिले कारण पहिल्याउन आवश्यक हुन्छ । जस्तै, नसामा समस्या आउँदा वा बहिरोपन हुँदा शल्यक्रियाको मद्दतले समाधान गर्न सकिन्छ ।
कानको जाली फुट्दा टाल्ने वा टाल्न सम्भव नभएमा नयाँ जाली बनाउन सकिन्छ । कानको हड्डी खुस्केको छ भने मिलाउन सकिन्छ । कानको नसा नै बिग्रिएको छ भने कानमा लगाउने मेसिन लगाएर पनि सुन्न सकिन्छ ।
कान ठप्पै सुन्न छाडेपछि वा सुन्न नसक्नेका लागि कोक्लियर प्रत्यारोपण गर्न सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । काम नगरेको नसामा डिभाइस प्रत्यारोपण गरेर सुन्न सक्ने बनाउन सकिन्छ ।
कानलाई कसरी स्वस्थ राख्ने ?
-बच्चा जन्मिने बित्तिकै सुन्ने क्षमताको सिक्रिनिङ अनिवार्य गराउने ।
– मोबाइलको प्रयोग गर्दा लगातार ठूलो आवाज पारेर कुराकानी नगर्ने, गर्नै परेमा आधा घण्टापछि पाँच मिनेटको विश्राम लिनुपर्छ ।
– चर्को ध्वनिमा बस्नुपर्ने व्यक्तिमा कान सुन्ने क्षमता कमजोर हुने जोखिम हुँदा वर्षको एकपटक परीक्षण गराउनुपर्छ ।
– हेडसेटमा चर्को आवाजमा संगीत नसुन्ने र चर्को आवाज भएको ठाउँमा बस्न परे एयर प्लग लगाएर काम गर्नुपर्छ ।
-कानमा कुनै पनि समस्या देखिएमा जथाभावी औषधि प्रयोग नगरी जाँच गराउनुपर्छ ।
प्रतिक्रिया 4