+
+
Shares

चार महिनामा बोरामै ५ सयसम्म घट्यो चामलको भाउ, उपभोक्ता खुसी

पछिल्लो चार महिनायता नेपालमा चामलको भाउ निरन्तर ओरालो लागिरहेको छ । उपभोक्तालाई यो खुसीको खबर हो । किनकि, उपभोक्ताले यस्तो खुसीको खबर धेरै पछि सुन्न पाएका हुन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ फागुन १९ गते २०:१५

१९ फागुन, काठमाडौं । नेपाली उपभोक्तालाई बजार भाउ बढ्यो भन्दा अचम्म लाग्न छाडेको धेरै भइसक्यो । ‘बजार भाउ बढ्नु के नौलो भो र ?’ उपभोक्ताको दिमागमा यो ‘रेडिमेड’ प्रश्न हुनु नौलो पनि भएन ।

तर, पछिल्लो समय नेपाली उपभोक्ताको बिहान–बेलुकाको भान्सामा अनिवार्य हुने एउटा उपभोग्य वस्तुको भाउ निरन्तर घटिरहेको छ ।

बरु यो खबरले अब ‘बजार भाउ घट्यो’ भन्दा चाहिँ उपभोक्ताले अचम्म मान्नुपर्ने स्थिति देखिएको छ ।

‘नेपालमा बजार भाउ पनि घट्छ र ?’ भन्ने प्रश्न उपभोक्ताले रेडिमेड होइन, बनाएर सोध्नुपर्ने देखिएको हो ।

पछिल्लो चार महिनायता नेपालमा चामलको भाउ निरन्तर ओरालो लागिरहेको छ । उपभोक्तालाई यो खुसीको खबर हो । किनकि, उपभोक्ताले यस्तो खुसीको खबर धेरै पछि सुन्न पाएका हुन् ।

सम्बद्ध व्यवसायीहरूका अनुसार पछिल्लो चार महिनामा चामलको भाउ प्रतिबोरा ५० देखि ५ सय रुपैयाँसम्म घटेको छ ।

दक्षिणी छिमेकी भारतले चामल निर्यातमा लगाएको प्रतिबन्ध हट्नुका साथै नयाँ उत्पादन पनि बजार भित्रिएपछि निरन्तर मूल्य घटेको हो ।

सम्बद्ध व्यवसायीहरूका अनुसार पछिल्लो चार महिनामा चामलको भाउ प्रतिबोरा ५० देखि ५ सय रुपैयाँसम्म घटेको छ ।

नयाँबानेश्वरमा खाद्यान्न स्टोर सञ्चालन गर्दै आइरहेका मनोज दंगाल अहिले २५ किलोको एक बोरा चामलमा ४ सय रुपैयाँसम्म भाउ घटेको बताउँछन् ।

दंगालका अनुसार गएको भदौदेखि कात्तिकसम्म चामलको भाउ निकै बढेको थियो । एक बोरा चामल नै २ हजार ७ सय रुपैयाँसम्ममा बेचेको उनी सुनाउँछन् । तर, अहिले त्यही चामल २ हजार २ सयदेखि २ हजार ३ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

जिरा मसिनो, सोना मन्सुली लगायत सबै प्रकारका चामलको भाउ बोरामा २ सयदेखि ३ सय रुपैयाँभन्दा बढीले घटेको दंगाल बताउँछन् । अहिले बजारभरि सबै नयाँ चामल भित्रिएको छ ।

सबै ब्रान्डका चामलको भाउ घटेको दंगाल बताउँछन् । उनका अनुसार चामलको मूल्य पहिलेभन्दा घटेको छ । अहिले मनसुली चामल प्रतिबोरा १ हजार ७ सय रुपैयाँमै पाइन्छ ।

पहिला २ हजार ४ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म पर्ने जिरा मसिनो चामल अहिले २ हजार १ सयमै बेचेको उनले बताए । पहिले ३ हजार ५ सय पर्ने लङ ग्रेन चामल अहिले घटेर ३ हजार ३ सय रुपैयाँमा किन्न पाइन्छ ।

चालु आव २०८१/८२ को सात महिनामा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । यो आयात गत आवको तुलनामा दोब्बर हो ।

उनका अनुसार हाल बजारमा चामल खपत कम भएको छ । ‘पहिले महिनाकै ४०/५० बोरा चामल बेचेको थिएँ मैले,’ दंगालले अनलाइनखबरसँग भने, ‘अहिले भाउ घट्दा पनि १०/१५ बोराभन्दा धेरै बेच्न सकिएको छैन ।’

नयाँ चामलको भाउ धेरै नबढ्ने भएकाले स्टक (भण्डारण) सक्काउनकै लागि महँगोमा किनेको चामल सस्तोमै बेच्न थालेको उनी बताउँछन् ।

आज सोमबार बजारमा बेच्न राखिएको चामलको भाउ प्रतिबोरा २ हजार २ सय ५० देखि ३ हजार १ सय ५० रुपैयाँसम्म छ । पर्ल ब्रान्डको चामल नयाँलाई २ हजार २ सय ५० तोकिएको छ भने सोही चामल पुरानोलाई २ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

यस्तै एप्पल ब्रान्डको चामलको भाउ १ हजार ८ सय ५०, एप्पल साँवा १ हजार ९ सय, नेवारी बासमती ३ हजार १ सय ५०, गुड लक चामल २ हजार ३ सय रुपैयाँ रहेको छ । यी सबै चामल २५ किलो तौलको हो ।

०००

यसअघि भारतले चामल निर्यातमा लगाउँदै आएको २० प्रतिशत कर कात्तिक पहिलो साता हटाएको थियो । कर हट्नासाथ नेपाली बजारमा चामल आयात चुलिएको हो ।

चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा २५ अर्ब २९ करोड रुपैयाँ बराबरको चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । यो आयात गत आवको तुलनामा दोब्बर हो ।

गत आव २०८०/८१ मा १३ अर्ब ५ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो । भारतले धान र चामलमा लगाएको भन्सार शुल्क घटाएपछि चामल आयात बढेको भन्सारको तथ्यांकले देखाउँछ ।

खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यवसायी महासंघका कोषाध्यक्ष तथा व्यवसायी वसन्त श्रेष्ठ भारतको मूल्यले पनि नेपालको मूल्यमा प्रभाव पर्ने बताउँछन् । भारतबाट नै मूल्य बढेर आउँदा नेपालमा पनि स्वतः मूल्य बढ्ने उनको भनाइ छ ।

‘हामीकहाँ व्यापारभन्दा आयात बढी छ, अहिले व्यापार कम छ,’ श्रेष्ठ भन्छन्, ‘व्यापार नभएपछि व्यापारीले अलिकति मूल्य घटाएर पनि बेच्छन् ।’

उनका अनुसार अहिले बजारमा पनि खासै चामल खपत भएको छैन । अहिले व्यापार धेरैतिर बाँडिएको छ । मार्टहरू पनि धेरै नै खुलेका छन्, साना पसलले पनि चामल बेच्न राखेकै हुन्छन् । व्यापार बढेपछि सबैलाई व्यापार पुग्दैन । प्रतिस्पर्धी बजार छ ।

धान खेतीको उत्पादकत्व बढ्दा नेपालमा धान उत्पादन बढेको छ ।

‘अहिले धेरै चामल उपभोग गर्ने जनशक्ति पनि विदेशिएको छ, तर आयात भने घटेको छैन,’ उनी भन्छन्, ‘सामान प्रशस्तै भएपछि मूल्य त त्यसै पनि समायोजन हुन्छ ।’

यस्तै नेपाल चामल, तेल, दाल उत्पादक संघका महासचिव दीपककुमार पौड्याल अन्तर्राष्ट्रिय स्तरमा आर्थिक मन्दी भइरहेका कारण भारतबाट चामल बिक्री भएको बताउँछन् ।

‘त्यही भएर भारतले नै धान र चामलको मूल्य घटाएर बेचेकाले नेपालमा पनि चामलको भाउ सस्तो पर्न गएको हो,’ उनले भने ।

उनका अनुसार नेपालमा अझै केही महिना चामलको भाउ बढ्ने सम्भावना छैन । गत वर्ष चामलको भाउ ५० प्रतिशतसम्म बढेको थियो ।

बढ्यो धान उत्पादन

धान खेतीको उत्पादकत्व बढ्दा नेपालमा धान उत्पादन बढेको छ । चालु आव २०८१/८२ मा गत आवभन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको सरकारी तथ्यांकले देखाउँछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आव धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ टन हुने प्रारम्भिक अनुमानले देखाएको छ । गत आव धानको कुल उत्पादन ५७ लाख २४ हजार २ सय ३४ टन थियो ।

गत आव वर्षे धान ५२ लाख ३ हजार ४ सय २६ टन उत्पादन भएकोमा यो वर्ष ५४ लाख ११ हजार ८३ टन पुगेको छ । यस्तै चैते धान ५ लाख २० हजार ८ सय ८ टन उत्पादन भएको थियो भने यो आवमा ५ लाख ४४ हजार ३ सय ९३ टन उत्पादन भएको हो ।

धान बाली हुने क्षेत्रफलमा कमी आउँदा पनि उत्पादकत्वमा सकारात्मक वृद्वि देखिएको हो । वर्षे र चैते दुवै गरी चालु आव कल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान कायम भएको थियो । जुन गत आवको तुलनामा १.२८ प्रतिशतले कम हो ।

कृषि मन्त्रालयका अनुसार औसत उत्पादकत्व ४.१९ टन प्रतिहेक्टर पुगेको छ । यो हालसम्मको उच्च बिन्दु हो ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?