
१८ फागुन, जनकपुरधाम । हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा नेकपा माओवादी केन्द्रका नेताहरू मधेश प्रदेशका जिल्लामा छन् ।
झापाको कचनकवलबाट सुरु अभियानको नेतृत्व पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । केन्द्रीय पदाधिकारी सहित नेताहरुको टोली हिँड्ने कार्यक्रमको सूची भने स्थानीय समितिको संयोजनमा भइरहेको छ ।
विशेषगरी सर्वसाधरणसँग जोडिनेगरी कार्यक्रम तयार पार्न स्थानीय नेताहरूलाई भनिएको छ । तर, पार्टीपंक्तिकै घेराबन्दीमा प्रचण्ड अल्मलिँदा सर्वसाधरणले भने आफ्नो कुरा राख्न सकिरहेका छैनन् ।
जबकि सर्वसाधरणले प्रचण्डसँग थुप्रै गुनासा, माग र सुझावहरू राख्न चाहिरहेका छन् ।
सिराहाको अर्नामा गाउँपालिका–४, का लक्ष्मण यादवले सरकारी निकायको सेवा प्रवाहमा हुने भ्रष्टाचारबारे कुरा राख्न चाहन्थे । ‘नेताहरूले देशलाई भिख माग्ने थाली बनाए, जहाँ जादा पनि घुस माग्ने । मालपोत, नापी जहाँ पनि’ उनले प्रचण्डसँग भन्न चाहेका थिए, ‘यो रोक्नुपर्छ ।’
तर, यस्तो सुझाव उनले दिनै पाएनन् ।
लक्ष्मण यादवकै वडाका बहादुर महराले पनि प्रचण्डसँग गाउँको समस्या राख्न चाहेका थिए । ७५ वर्षीय महरा २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रकै तर्फबाट वडाध्यक्षका उम्मेदवार समेत बनेका थिए ।
तर, प्रचण्डको व्यस्त तालिका हुँदा उनले आफ्ना कुरा राख्नै पाएनन् । सिरहा नगरपालिका–१९, का रामलखने पनि आफ्नो टोलको जीर्ण र साँघुरा बाटोबारे प्रचण्डसँगै समस्या राख्न चाहेका थिए ।
रामलखनकै टोलीकी ७० वर्षीया मुनरी खतविनीले भने प्रचण्डलाई माला लगाएर स्वागत गरिन् । र आफ्नो समस्या सुनाउन पाइन् ।
उनको समस्या थियो, नागरिकता नपाएको । ७० वर्षसम्म उनीसँग नागरिकता नहुँदा एक्लो छोरा सञ्जीव मण्डल र तीन नातिनातिनाको जन्मदर्ता समेत हुन सकेको छैन ।
मुनरीका पतिको २५ वर्षअघि नै निधन भइसकेको छ ।
‘६ धुर घडेरी मात्र छ । राम्रो घर छैन । नागरिकता भए छोरा विदेश जान पाउँथ्यो । मैले वृद्ध भत्ता पाउँथे’ उनी भन्छिन्, ‘नातिनातिना पढ्न पाउथेँ । तर अरु जस्तो हामीले केही गर्न सकेका छैनौं ।’ प्रचण्डले नागरिकताको समस्या वडाध्यक्षसँग मिलेर समाधान गरिने आश्वासन चाहीँ दिए ।
अर्का स्थानीय ६० वर्षीया उम्दा यादवले प्रचण्डसँग मिटरब्याजबाट पीडित हुनु परेको समस्या राखिन् । आफ्नो पति रामअवतार ६ महिनादेखि मिटरब्याजीको फन्दामा परेर जेलमा रहेकाले छुटाइदिन अनुनय गरिन् ।
तर धेरै सर्वसाधरणले आफ्नो कुरा राख्नै पाइरहेका छैनन् । किनकि प्रचण्ड सहित नेताहरू स्थानीय नेताकार्यकर्ताको घेरामा छन् । सर्वसाधरणको काम फूलमालाले स्वागत गर्न बाहेक आफ्ना समस्या अभिव्यक्त गर्न पाउँदैनन् ।
‘पार्टीकै चिरपरिचित नेताहरू छेकेर बस्छन् । उनीहरूले नै अरुलाई भेटघाट गर्न दिइरहेको हुँदैनन् । त्यसकारण आम पब्लिक र अर्को पार्टीका समर्थकले आफ्नो समस्या राख्न नपाएका हुन् । जति आउनु पर्ने हो कुरा त्यति आइरहेको छैन जस्तो मलाई पनि लागेको छ’, केन्द्रीय सदस्य विश्वनाथ साह स्वीकार्छन् ।
यद्यपि अवसर पाउँदा भने सर्वसाधरणले सुझाव दिइरहेका छन् । सिराहकै गाउँपालिका–५ का रामबाबु यादवले देशभित्रै रोजगारीको वातावरण सृजना गर्नुपर्ने सुझाव दिए ।
‘विदेशपलायनबाट जनतालाई रोक्न कलकारखाना खोलेर उत्पादन र स्वरोजगारीमा माओवादीले ध्यान देओस्’ उनको सुझाव छ ।
प्रतिक्रिया 4