
२० फागुन, काठमाडौं । नेपालको सेयर बजारमा बीमा कम्पनीहरू ठूला संस्थागत लगानीकर्ता हुन् । बीमा कम्पनीहरुले कुल लगानीयोग्य रकमबाट अधिकतम १० प्रतिशत सूचीकृत साधारण सेयरमा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । सोहीअनुसार लगानी गर्दै आइरहेका छन् ।
जब संस्थाहरुको लगानी बढ्छ, त्यसले समग्र बजारलाई नै बढाउन बल पुग्छ । ठूलो मात्रामा संस्थाहरुले लगानी गर्दा त्यसले बजारलाई समेत स्थायित्व प्रदान गर्दछ । व्यक्तिलेजस्तो संस्थागत लगानीकर्ताले छिटोछिटो किनबेच गरिरहँदैनन् । कम्पनीको सेयर मूल्य न्यून विन्दुमा झरेका बेला ठूलो परिमाणमा खरिद गर्छन् ।
यतिबेला बीमा कम्पनीहरुले बजारमा लगानी ठूलो दरले बढाएका छन् । एक वर्षमै बीमा कम्पनीहरुले सेयर बजारमा लगानी करिब दोब्बर बनाएका छन् ।
जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत वर्षको पुस मसान्तसम्म सूचीकृत साधारण सेयरमा कुल १५ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ लगानी गरेकोमा यो वर्षको पुस मसान्तसम्म आइपुग्दा यो रकम बढेर ३० अर्ब १६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।
सूचीकृत सेयर लगानीमा निर्जीवनभन्दा जीवन बीमा कम्पनीहरू बढी आक्रामक छन् । एक वर्षमै जीवन बीमा कम्पनीहरुले सूचीकृत साधारण सेयरमा लगानी १०८ प्रतिशत बढाएका छन् ।
गत वर्षको पुस मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरुले कुल १२ अर्ब ३६ करोड ८९ लाख रुपैयाँ सूचीकृत साधारण सेयरमा लगानी गरेका थिए । तर यो पुस मसान्तसम्म यिनै जीवन बीमा कम्पनीले साधारण सेयरमा कुल २५ अर्ब ७७ करोड ७ लाख रुपैयाँ लगानी गरेका छन् ।
यद्यपि निर्जीवन बीमा कम्पनीहरूको पनि लगानी बढेको छ । निर्जीवन बीमा कम्पनीहरूले एक वर्षमा सूचीकृत साधारण सेयरमा २६ प्रतिशत लगानी बढाएका हुन् । गत वर्षको पुस मसान्तसम्म यी कम्पनीले साधारण सेयरमा कुल ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ लगानी गरेका थिए ।
तर यो पुस मसान्तसम्म आउँदा यस्तो रकम ४ अर्ब ३९ करोड ७ लाख रुपैयाँ पुगेको छ । मेटलाइफ, ओरियन्टल र नेसनल इन्स्योरेन्स विदेशी स्वामित्वका कम्पनी रहेकाले यी कम्पनीले सूचीकृत सेयरमा लगानी गरेका छैनन् ।
पुसपछि पनि बीमा कम्पनीहरुले सेयरमा लगानी गर्ने क्रम जारी नै राखेका छन् । ‘बीमा कम्पनीले बीमितलाई लाभ दिनुपर्छ, सेयरधनीलाई लाभांश दिनुपर्छ त्यसकारण जुन क्षेत्रमा नाफा देख्छन्, त्यहाँ तोकिएको सीमाभित्र रहेर लगानी गर्छन्’ नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुलीले भने । खासगरी मूल्य घटेका बेला, कम्पनीले दिने संभावित लाभांशलाई तुलना गरेर लगानी हुने गरेको उनले बताए ।
बीमा कम्पनीहरुले पनि अल्पकालीन, दीर्घकालीन र मध्यकालीन रुपमा रणनीति बनाएर स्टक मार्केटमा लगानी गर्ने गरेको उनले स्पष्ट पारे । ‘लाभांश दिन सक्ने, मजबुत वित्तीय स्थिति भएका कम्पनीमा प्रायः दीर्घकालीन लगानी हुने गर्छ’ उनले भने ‘तर मूल्य केही बढ्ने देखिएका स्टकमा अल्पकालीन रुपमा लगानी गरेर नाफा बुक हुने गर्छ ।’
बीमा कम्पनीहरुले गर्ने लगानीले स्टक मार्केटलाई केही हदसम्म स्थिरता प्रदान गर्न सहयोग पुग्छ । बजार घटेका बेला सेयर उठाउने र बढेका बेला बेच्ने हुँदा ठूलो उतारचढाव न्यूनीकरणमा टेवा पुग्दछ ।
मुद्दती निक्षेपमा पनि बढ्यो लगानी
मुद्दती निक्षेपमा घट्दो ब्याजदर, घरजग्गा क्षेत्रको मन्दी लगायत कारण ती क्षेत्रमा बीमा कम्पनीले लगानी गर्न चाहिरहेका छैनन् । यद्यपि मुद्दती निक्षेपमा बाध्यकारी व्यवस्थाका कारण लगानी बढ्दो नै छ ।
नियामक बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई क्षेत्र नै तोकेर कतिपयमा न्यूनतम लगानीको गर्नैपर्नेगरी सीमा तोकेको छ भने कतिपय क्षेत्रमा निश्चित अंक माथिको लगानी गर्न नपाउने गरी अधिकतम सीमा राखेको छ ।
कुल लगानीमा वाणिज्य र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुले कम्तीमा ३० प्रतिशत लगानी गर्नैपर्ने व्यवस्था छ । यहीं व्यवस्थाका कारण नचाहँदा नचाहँदै पनि बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी घटाउन सक्दैनन् । ब्याजदर जतिसुकै तल झरे पनि बीमा कम्पनीहरुको मुद्दती निक्षेपमा लगानी घट्न पाएको छैन ।
जीवन बीमा कम्पनीहरुले गत वर्षको पुस मसान्तसम्म ४ खर्ब ३२ अर्ब ८१ करोड ९० लाख रुपैयाँ वाणिज्य बैंक र पूर्वाधार बैंकको निक्षेपमा लगानी गरेकोमा यो वर्षको पुस मसान्तसम्म ४ खर्ब ९९ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा गत वर्षको पुस मसान्तसम्म ४३ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ लगानी गरेकोमा यो पुस मसान्तसम्म ४६ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन् ।
ब्याजदर घट्दो क्रम छँदैछ, त्यसमा पनि व्यक्तिलाई भन्दा संस्थालाई दिने ब्याजदर १ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था छ । अहिले वाणिज्य बैंकहरुले यस्ता संस्थाबाट मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजमा पनि निक्षेप संकलन गर्न मानेका छैनन् ।
सुरक्षाको दृष्टिकोणले पनि मुद्दती निक्षेप तथा सरकारी सुरक्षणपत्रमा बीमा कम्पनीहरुलाई लगानी अनिवार्य गरिएको हुन्छ ।
संस्थागत लगानीकर्तालाई ब्याजदरमा गरिएको विभेद अन्त्य गर्नुपर्ने पराजुली बताउँछन् । ‘तरलताको अभाव हुँदा यिनै संस्थाहरुले बैंकको बिजनेस धानिदिएको अवस्था थियो, तर अहिले तरलता बढी हुँदा यिनै संस्थालाई समस्या पार्ने काम गरिएको छ’ उनले भने ‘त्यसकारण व्यक्ति र संस्थालाई बैंकले दिने ब्याजदरको १ प्रतिशत अन्तरलाई खारेज गर्नुपर्छ ।’
पुनर्बीमाबाट हिमालयन रिले लगानी बढाउँदा नेपाल पुनर्बीमाले घटायो
पुनर्बीमाका लागि सञ्चालनमा रहेका दुई कम्पनीमध्ये नेपाल पुनर्बीमाले सूचीकृत साधारण सेयरमा लगानी घटाएको छ भने हिमालयन रिले बढाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीले गत वर्षको पुस मसान्तसम्म ५८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो भने हाल त्यो घटेर यो पुस मसान्तसम्म ९ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सले गत वर्षको पुस मसान्तसम्म ४० करोड ७२ लाख मात्रै गरेको थियो । अहिले बढेर ३ अर्ब ६५ लाख रुपैयाँ पुर्याएको छ ।
प्रतिक्रिया 4