
मुम्बई । भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहबादियालाई उनको पडकास्ट ‘द रणवीर शो’लाई पुनः सुरु गर्न अनुमति दिएको छ । कुनैपनि अश्लील कुरा देखाउन नहुने सर्त अदालतको छ ।
युट्युबरले विवादित दृश्यलाई मात्र रोक लगाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनको यो निवेदनमा सुनुवाइ गर्दै अदालतले सर्तसहित शो सुरु गर्न अनुमति दिएको हो ।
समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’मा अभिभावकप्रति अभद्र टिप्पणी गरेको विवादपछि भारतका कतिपय सहरमा उनीविरुद्ध एफआइआर दर्ता भएको थियो । विवादपछि सेलिब्रेटीले अलाहाबादियाको पोडकास्ट ‘द रणवीर शो’ मा उपस्थित हुन अस्वीकार गरेका थिए ।
अल्लाहबादियाले आफूलाई पक्राउ नगर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । फेब्रुअरी १८ मा, अदालतले रणवीरको निवेदनमा अन्तरिम आदेश दिएको थियो । आदेशमा उनको गिरफ्तारीमा रोक लगाएको थियो । रणवीर र उनका सहकर्मीलाई अर्को आदेश नभएसम्म कुनै शो नगर्न समेत अदालतले भनेको थियो ।
अदालतका ३ सर्त के छन् ?
- न्यायाधीश सूर्यकान्त र एन कोटेश्वर सिंहले भनेका छन्, ‘शोका क्रममा अलाहबादिया अदालतमा चलिरहेको मुद्दाबारे हामी कुनै टिप्पणी गर्दैनौं ।’
- अहिले उनीहरुले देश छाड्न पाउने छैनन् । अनुसन्धानमा सामेल भएपछि मात्र अनुमति दिन सकिन्छ ।
- सबै उमेर समूहका मानिसका लागि शो बनाउनुपर्नेछ । यसका लागि उनीहरूले प्रतिवद्धता दिनुपर्नेछ ।
भएको के हो ?
स्ट्यान्ड अप कमेडियन समय रैनाको शो ‘इन्डियाज गट लेटेन्ट’ थियो । अहिले यो शो बन्द छ । यो शोमा बोल्ड कमेडी सामग्री थियो । सो शोका विश्वभर ७३ लाखभन्दा बढी सदस्य थिए । उक्त एपिसोड ८ फेब्रुअरीमा युट्युबमा रिलिज भएको थियो । यसमा अभिभावकबारे आपत्तिजनक कुरा भनिएको थियो ।
प्रत्येक एपिसोडलाई औसत २० मिलियनभन्दा धेरै भ्यूज प्राप्त हुन्थ्यो । समय र बलराज घईबाहेक यस शोका जजहरु हरेक एपिसोडमा परिवर्तन भईरहेका छन् । हरेक एपिसोडमा नयाँ प्रतियोगीले प्रस्तुति दिने मौका पाएका छन् । प्रतियोगीलाई आफ्नो प्रतिभा देखाउन ९० सेकेन्डको समय दिने गरिन्छ ।
प्रतिक्रिया 4