+
+
Shares

फ्रेम बाहिरबाट : रवि लामिछाने

रवि विरुद्धको न्यायिक प्रक्रियाले उनको मात्रै होईन पार्टीको भविष्य पनि निर्धारण गर्ने छ । सहकारी रकम अपचलनको मुद्धा पुष्टि भए रविको एक्लो ख्यातिकै भरमा निर्माण भएको पार्टी रसातलमा पुग्नेछ भने आरोप पुष्टि नभए राजनीति ठ्याक्कै उल्टो दिशामा उलटफेर हुन सक्नेछ ।

योगेन पौडेल योगेन पौडेल
२०८१ फागुन २० गते १५:३३

रवि लामिछानेसँग दोहोरो चिनजान छैन। जसरी आम नेपालीले चिन्छन्, मेरो पनि चिनजान त्यस्तै हो। रवि केही समय अमेरिका बसेर नेपाल फर्किए। नेपाल फर्किएर टेलिभिजनमा पुन: करिअर सुरु गरेका, टेलिभिजनबाटै ख्याति कमाएका, चुनाव र उपचुनावहरूमा चामत्कारिक मत पाएका, राजनीतिबाट अझै उकालो लागेका, सहकारीको रकम अपचलनको आरोपमा हिरासत बसेका, त्यही आरोपमा सांसद पद निलम्बनमा परेका र हाल न्यायिक निरूपरणको क्रममा रहेका रवि ।

अहिले रवि करिब-करिब चुपचाप देखिन्छन्। तर उनका विषयमा मानिसहरु चुप छैनन्। सार्वजनिक र व्यक्तिगत जीवनका धेरै पक्षहरु सार्वजनिक भइसकेकाले उनको विषयमा कुरा गर्न सजिलो पनि छ- रविको अमेरिकामा हुँदाको तलब, ओली, प्रचण्ड र गगनसँगको सम्बन्ध, रविको गिनीस रेकर्ड आदि आदि।

रविलाई मानिसहरु कि त जमेरै समर्थन गर्छन् कि जमेरै विरोध। समर्थकका निम्ति उनी जनताका आवाज उठाउने लोकप्रिय नेता हुन् भने विरोधीका निम्ति लोकरिझ्याइँको जगमा व्यक्तित्व निर्माण गरेका र ठगीमा मुछिएका एक विवादित व्यक्ति। रविको विषयलाई उपेक्षा गर्ने त के निरपेक्ष बस्ने नेपाली पाउनसमेत गाह्रो छ।

चर्चाविहीन भएर बस्नुभन्दा सकारात्मक होस् वा नकारात्मक बहसको केन्द्रमा भइराख्नु राजनीतिक प्राणीका लागि फाइदाजनक हुन्छ भनेर मान्ने हो भने राजनीतिक बहिखातामा रवि अहिले नकारात्मक अवस्थामा छन् भन्ने मान्न सकिन्छ। उनको उत्थान, वर्तमान र भविष्यको चर्चा सामाजिक भेटघाटमा हुने गफगाफको प्रिय विषय पनि हो।

सामाजिक सञ्जालमा रविको विषयमा हुने बहस हेर्यो भने त स-सानो रणमैदान जस्तो लाग्छ। यिनको विषयमा मानिसहरु कि अति कठोर कि त अति नरम भएको जस्तो लाग्छ। रविको व्यक्तिगत विषयको चर्चा गर्नु यो लेखको उद्देश्य होइन। तर भेटघाटमा हुने गफगाफ र सामाजिक सञ्जालमा हुने चर्काचर्कीको केन्द्रमा चाहिँ धेरैजसो रविकै व्यक्तिगत विषय परेका हुन्छन्।

हालसालै मेरा एकजना आफन्तले भन्नुभयो, ‘दिन लागेपछि र मान्छेले खेद्न थालेपछि कसको के लाग्छ र ? छतबाट हाम फालेर पनि उसकै ड्राइभर मर्नु, आत्महत्या पनि ऊसँगै काम गर्ने साथीले गर्नु, चार/चारवटी बिहे गर्नुपर्ने अवस्था पनि उसैलाई आउनु, नागरिकतामा पनि उसैलाई खेदेका छन्, पासपोर्टमा पनि खेदेका छन्, हुँदाहुँदा सहकारी ठग्यो भन्दै दशतिरका जिल्ला घुमाउँदै थुनेका छन्। केही गर्छु भनेर आउनेलाई यति खेदेपछि देश कसरी उँभो लाग्छ ?’ मेरा आफन्तको यो भनाइ भित्री मनको इमानदार अभिव्यक्ति जस्तो लाग्थ्यो।

रवि विरुद्धको न्यायिक प्रक्रियाले उनको मात्रै होइन, पार्टीको भविष्य पनि निर्धारण गर्नेछ । सहकारी रकम अपचलनको मुद्दा पुष्टि भए रविको एक्लो ख्यातिकै भरमा निर्माण भएको पार्टी रसातलमा पुग्नेछ भने आरोप पुष्टि नभए राजनीति ठ्याक्कै उलटफेर हुनसक्नेछ ।

रवि लामिछाने विरुद्धका आरोपमा न्यायालयले फैसला सुनाउने नै छ। फैसलाबारे अनुमान गर्नु, न्यायालयलाई सल्लाह-सुझाव दिनु उपयुक्त पनि होइन। तर, न्यायालयमा चल्दै गरेको रविको मुद्दामा मान्छेले राख्ने धारणा चाहिँ रोचक हुने गर्छन्। अदालतले दोषी नभन्दै रविलाई दोषी ठहर गरेर जेलै हाल्नुपर्छ, रविले राजनीति नै त्याग्नुपर्छ भन्दै बुर्कुसी मार्नेहरुको विषयमा त कुनै छलफल र चर्चा आवश्यक नै भएन। त्यसरी नै, न्यायिक प्रक्रिया पूरा नभई रविलाई निर्दोषको प्रमाणपत्र दिनेहरुसँग पनि जुधेर बस्ने कुरा भएन।

तर, रवितिर नरम-भाव राख्ने एकखाले दृष्टिकोण चाहिँ साह्रै रोचक छ। त्यो के भने, कतिपयलाई रविले विगतमा त्रुटि नै गरेको भए पनि अक्षम्य लाग्दैन । ‘कति खेदेको ? रवि फटाहा नै होला, तर यीभन्दा दश गुणा ठूला भ्रष्टाचारीले पालैपालो सरकार हाँकेका छन्। आफूलाई फाइदा हुन्जेलसम्म बोलाएरै गृहमन्त्री, उपप्रधानमन्त्रीसम्म बनाए, अहिले आफैँले गरेको भ्रष्टाचारको पोल खुल्ने भएपछि मुद्दा लगाएर सधैँका लागि राजनीति समाप्त गर्न खोज्दैछन्,’ उनका समर्थकबाट यस्ता अभिव्यक्ति सुनिन्छ ।

सायद यो सापेक्षतावादको आइन्सटाइन सिद्धान्तलाई अपराधमा समेत लागू हुनेगरी गरिएको मौलिक नेपाली रुपान्तरण हुनुपर्छ। यी सिद्धान्तका भाष्यकारहरुलाई दोषी जति सबैलाई कारबाही हुनुपर्छ भन्नेसम्म लाग्दैन। रविलाई कारबाही चाहिँ हुनु भएन। बस्।

रविको राजनीतिक उदयले धेरै मानिसमा उत्साह भरेको पक्कै हो। सामान्य मानिसको दिमागले भ्याउन सक्नेभन्दा छिटोछिटो हुने राजनीतिक परिवर्तनले मानिसहरु दिक्क नै थिए। रवि आउँदा केही मानिसहरु आशावादी र केही पर्ख र हेरको स्थितिमा पुगे। परिवर्तन पनि कति दिक्क लाग्दोगरी भएको त !

परिवर्तन संसारको नियम नै हो । तर यहाँ त सरकार छिटो परिवर्तन हुने कारण न सरकारमा बस्नेहरुबीचको सैद्धान्तिक र दार्शनिक बिमति, न विकासका रणनीतिमा भएको बिमति, न सरकारी नीति र बजेट विनियोजनले कस्तो वर्ग र समुदायलाई फाइदा पुग्छ भन्ने विवाद। सरकार परिवर्तनको एकमात्र कारण सांसद सङ्ख्याको फगत अङ्कगणित र जोडघटाउको मिलान। लोकतन्त्र अङ्कगणितकै खेला हो र अङ्कगणितीय हिसाब मिलान भयो भने सरकार परिवर्तन हुने कुरा सहज स्वीकार गर्नुपर्छ भन्ने कुरा लोकतन्त्रको प्राविधिक पक्षबाट ठिकै त होला तर दार्शनिक र नैतिक पक्षबाट त्यस्तो भन्न र त्यसमा चित्त बुझाउन सकिन्न।

आफूलाई घोर वामपन्थी दाबी गर्ने माओवादीले कुनैबेला आफूले नै प्रमुख शत्रु नै घोषणा गरेको नेपाली काङ्ग्रेससँग चुनावअघि र पछि तालमेल गर्यो र मिलीजुली सरकार नै बनायो। सैद्धान्तिक जगमा दुईवटा विपरीत ध्रुवमा उभिनुपर्ने पार्टीलाई सत्ताको फेबिकोलले कसरी चिपिक्कै एक ठाउँमा टाँसिदिएको ? सत्ताकै कारण करिब आठौँ आश्चर्य जस्तो भयो- माओवादी विद्रोहदेखि नै त्यो आन्दोलन र त्यसका प्रमुख पुष्पकमल दाहालको प्रखर आलोचक केपी ओली र पुष्पकमल पार्टी एकीकरण गर्न समेत तयार भए।

सत्ताको चास्नीले जोडिएको यो एकीकरण टुट्नु नै थियो। सत्ताकै रापतापले जमेको चास्नी पग्लियो, र एकीकरण टुट्यो। गनेर ल्याउँदा सालमा सन् २००८ मा गणतन्त्र आएपछि जम्माजम्मी १३ पटक त सरकार परिवर्तन नै भएछन् । सबैभन्दा लामो समय चलेको पुगनपुग तीन वर्ष ओली सरकार । सरकारको एभरेज टाइम जम्माजम्मी महिना पुगनपुग डेढ वर्ष।

१३ मध्ये आठ सरकार त तीनजनाले बाँडिचुँडी गरेर गरेर हाँक्दिएछन्- कसले भनेर भन्नै परेन- पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओली मिलेर। पुष्पकमल र खड्गप्रसादले तीन तीन पटक प्रम खाँदा शेरबहादुरले दुईपटक मात्रै खाने कुरा पनि भएन। त्यसैले जिन्दगीको छैटौँ र गणतन्त्रपछिको तेस्रो पटकको प्रम खाएर देश विकास गर्न शेरबहादुर दाइ तयार भएर बस्नुभएको छ।

रविलाई मानिसहरु कि त जमेरै समर्थन गर्छन् कि जमेरै विरोध। समर्थकका निम्ति उनी जनताका आवाज उठाउने लोकप्रिय नेता हुन् भने विरोधीका निम्ति लोकरिझ्याइँको जगमा व्यक्तित्व निर्माण गरेका र ठगीमा मुछिएका एक विवादित व्यक्ति।

नेपालमा सुशील कोइराला प्रधानमन्त्री भएकै छेउछाउ सन् २०१४ मा भारतमा नरेन्द्र मोदी प्रधामन्त्री चुनिएका रहेछन्। त्यो भन्दा एक वर्षअघि सन् २०१३ मा चिनमा सी जिङ पिङ राष्ट्रपति चुनिएका रहेछन्। अहिले मोदी र सी दुवै जना आफ्नो कार्यकालको तेस्रो चरणमा छन्। यता हाम्रो देशमा तीन जनाले फरकफरक समयमा आठ पटक प्रम पड्काइसके ।

आउने सरकारमा पनि यिनै प्रम हुनेछन् । ओली आउट, शेरबहादुर पुन: इन ! धेरै पटक सरकार परिवर्तन हुँदा भएका धेरै पार्टी र राजनीतिका नयाँ पुराना प्रख्यात खेलाडी नेताहरुको व्यवस्थापन त भयो र व्यवस्था अस्थिर भयो र जनता वाक्क भए।

छिटोछिटो हुने सरकार परिवर्तनको असर के भन्दा कुनै एक सरकारले आफ्नो बजेट कार्यक्रमहरुमा देश विकासमा दुरगामी प्रभाव पार्ने स्थिर कार्यक्रमहरु ल्याउन सक्दैन, कार्यक्रमहरु सतही र लोकरिझ्याइँमा रमाउने खालका मात्रै हुन्छन्।

र, मान्छेहरुमा आफैँले सङ्घर्ष गरेर ल्याएको व्यवस्था ठिकै होला र भन्ने संशय पैदा हुनसक्छ। यस्तोबेला टिभीमा जनताका समस्या समाधान गर्ने भन्दै लाइभ फोनकल ठोक्ने रविलाई र तीनले टिभी छोडेर खोलेको पार्टीलाई जनताले केही गर्ला कि भनेर आश गरे, र तीनको पार्टी छोटो समयमा नै लोकप्रिय पनि भयो। अहिले मानिसहरु आशा र निराशाको दोसाँधमा बसेर रवि लामेछानेको मुद्दाको छिनोफानो पर्खिरहेका छन्।

विगतमा उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो पद धारण गरिसकेका रवि लामिछाने कुनै साधारण व्यक्ति रहेनन्। अहिलेको न्यायिक प्रकृयाले रविको मात्रै होईन उनको सम्पुर्ण पार्टीको भविष्य निर्धारण गर्ने छ, र यसले नेपालको राजनैतिक डाईनामिक्सलाई नै उलटफेर नै गरिदिन सक्छ।

रविलाई लागेको सहकारीको रकम अपचलनको मुद्धा पुष्टि भएमा रविको पक्राउ र उनि बिरुद्ध न्यायालयमा मुद्धा चलाउनु राजनैतिक प्रतिशोध हो भनेर सडक आन्दोलन गर्ने पार्टी नेताहरुको न्यायिक निष्ठा र ब्यक्तिगत क्रेडिबिलिटी सङ्कटमा पर्ने छ ।

करिब-करिब रविको एक्लो ख्यातिकै भरोषामा निर्माण भएको पार्टी रसातलमा पुग्ने सम्भावना धेरै देखिन्छ। तर आरोप पुष्टि नभए राजनीतिले ठ्याक्कै उल्टो दिशामा उलटफेर गर्ने सहज अनुमान गर्न सकिन्छ। त्यसैपनि रविलाई लगाएको आरोप र हिरासतमा लिन बिभिन्न जिल्लामा नाटकिय ढङ्गले घुमाएको कुरा धेरै मानिसहरुलाई अहिले नै प्रहसन जस्तो लागेको छ नै।

उही सहकारीको रकम अपचलन मुद्धामा अदालति बयान र हिरासत सारासारको कति धेरै। रविविरुद्धको आरोप प्रमाणित हुन नसके रवि बिरुद्ध सडयन्त्रपुर्ण ढङ्गले राज्य संयन्त्र प्रयोग भएको कुरा रवि र रविको पार्टीलाई प्रमाणित गर्न सहज हुन्छ। रवि राजनीतिमा अझै नसोचेको ढङ्गबाट हावी हुनेछन्, र अहिलेका पार्टीहरु र तीनको नेतृत्व नीरिह र रक्षात्मक बन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?