+

युवा चिकित्सक विदेश पलायन : अवसरको खोजी कि बाध्यता ?

२०८१ फागुन  २० गते १८:०४ २०८१ फागुन २० गते १८:०४
युवा चिकित्सक विदेश पलायन : अवसरको खोजी कि बाध्यता ?

नेपालमा युवा चिकित्सकहरूको विदेश पलायन तीव्र गतिमा बढिरहेको छ। चिकित्सा शिक्षा पूरा गरेपछि मात्र होइन, विशेषज्ञता हासिल गरेपछि पनि धेरै चिकित्सकहरू रोजगारी, उच्च शिक्षा, राम्रो जीवनस्तर, तथा सुरक्षित वातावरणको खोजीमा विदेश जान बाध्य छन्।

नेपाल मेडिकल काउन्सिलको २०२३ डिसेम्बर सम्मको तथ्यांकअनुसार नेपालमा ३४ हजार ९१० चिकित्सक दर्ता छन्। २०२० यता वार्षिक २ हजारदेखि २ हजार ५०० चिकित्सक काउन्सिलमा दर्ता भएका छन् । तर, उति नै सङ्ख्याका चिकित्सक विदेश पलायन पनि भइरहेका छन्।

पछिल्ला चार वर्षमा ८ हजार ६२४ नयाँ चिकित्सक दर्ता भए तर ६ हजार ३६८ चिकित्सकले विदेश जान असल चारित्रिक प्रमाणपत्र लिएका छन्। यो आँकडाले देखाउँछ कि झन्डै ७४ प्रतिशत चिकित्सक थप अध्ययन वा रोजगारीको लागि विदेश गइरहेका छन्।

विदेश पलायनको प्रमुख कारणहरू

नेपालमा चिकित्सकको विदेश पलायन केबल व्यक्तिगत रहरको कारण होइन, यो सीमित अवसर, कमजोर नीति, अस्थिर रोजगारी, असुरक्षित कार्यस्थल र न्यून पारिश्रमिक जस्ता कारकले प्रेरित गरिरहेको छ।

यदि तत्काल प्रभावकारी नीति निर्माण र संरचनागत सुधार गरिएन भने, दक्ष चिकित्सकको अभावले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई कमजोर बनाउँछ । यसका साथै सामाजिक तथा आर्थिक क्षेत्रमा समेत दीर्घकालीन असर पार्न सक्छ।

१. रोजगारीका लागि मात्रै विदेश जानुपर्ने बाध्यता

कतिपय चिकित्सकहरू उच्च शिक्षा वा करियर विकासका अवसर खोज्दै अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा जस्ता देशहरू जान्छन्। तर केही चिकित्सकहरू रोजगारीकै लागि मात्र पनि विदेश जान बाध्य छन्।

नेपालको रोजगारीमा स्थायित्व, उचित पारिश्रमिक र सम्मानजनक कार्य वातावरण नपाएपछि चिकित्सकहरू माल्दिभ्स, ओमान, युएई, कतारजस्ता देशमा काम गर्न गइरहेका छन्। यी मुलुकहरूमा राम्रो पारिश्रमिक र सुरक्षित कार्य वातावरण भएकाले चिकित्सकहरू आकर्षित भइरहेका छन्।

२. रोजगारीका सीमित अवसर र अस्थिरता

नेपालमा चिकित्सा शिक्षा प्राप्त गरेपछि स्थायी रोजगारी पाउनै गाह्रो छ। सरकारी अस्पतालहरूमा दरबन्दी सीमित छन् र लोक सेवा आयोगले पदपूर्ति प्रक्रियामा ढिलाइ गर्छ। निजी अस्पतालहरूमा चिकित्सक न्यून पारिश्रमिक, करार प्रणाली र लामो कार्य समयबाट निराश हुन्छन्। ग्रामीण क्षेत्रमा चिकित्सलाई खटाइए पनि आधारभूत सेवा-सुविधा उपलब्ध गराइँदैन।

३. आर्थिक असुरक्षा र पारिवारिक दायित्व

चिकित्सक बन्न लाखौँ रुपैयाँ खर्च गर्नुपर्छ तर नेपालमा पारिश्रमिक न्यून छ। विशेषज्ञता हासिल गरेका चिकित्सकले पनि न्यून तलबका कारण आर्थिक सुरक्षाको अभाव महसुस गर्छन्। बालबच्चाको शिक्षा, वृद्ध अभिभावकको हेरचाह र परिवारको आर्थिक व्यवस्थापनका कारण पनि विदेश रोज्ने बाध्यता छ।

४. असुरक्षित कार्यस्थल र कानुनी संरक्षणको अभाव

नेपालमा चिकित्सकहरू कार्यस्थलमा सुरक्षित छैनन्। बिरामीको मृत्यु वा जटिलता उत्पन्न हुँदा चिकित्सकलाई हिंसात्मक आक्रमण गर्ने, अस्पताल तोडफोड गर्ने तथा धम्कीको दिन गरिन्छ।पर्याप्त सुरक्षा उपायको अभावले चिकित्सकहरू विदेश पलायन हुन विवश छन्।

५. उच्च शिक्षा र अवसरको अभाव

नेपालमा विशेषज्ञता अध्ययनका लागि सीमित छात्रवृत्ति, कठिन प्रतिस्पर्धा र २ वर्षको बोन्डिङको बाध्यता छ। विदेशमा सुपर-स्पेशियलिटी कार्यक्रम, अनुसन्धान र नवीनतम प्रविधि सहज उपलब्ध हुने भएकाले चिकित्सकहरू उतै स्थायी हुन चाहन्छन्।

६. सामाजिक अपेक्षा र मानसिक दबाब

चिकित्सक बन्नेवित्तिकै समाजले उनीहरूबाट अत्यधिक अपेक्षा राख्छ। राम्रो आर्थिक अवस्था, प्रतिष्ठा र स्थिर भविष्यको खोजीमा चिकित्सकहरू विदेश जान बाध्य छन्।

७. चिकित्सा अनुसन्धान र प्रविधिको सीमितता

नेपालमा चिकित्सा अनुसन्धानका लागि सीमित स्रोतसाधन, अत्याधुनिक प्रविधिको अभाव तथा न्यून सरकारी लगानी छ। विदेशमा नयाँ प्रविधि र अनुसन्धानका अवसरहरू सहज उपलब्ध छन्।

८. सरकारी नीति तथा व्यवस्थापनको कमजोरी

सरकारले चिकित्सकहरूलाई रोक्न प्रभावकारी नीति बनाउन सकेको छैन। स्वास्थ्य बजेट न्यून भएकाले पूर्वाधार सुधार, चिकित्सकहरूको तलब वृद्धिलगायत सुधार हुन सकेको छैन ।

सम्भावित समाधानहरू

१. रोजगारीका अवसर सिर्जना गर्ने

सरकारी अस्पतालमा चिकित्सकहरूको दरबन्दी बढाउनुपर्छ । ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी र प्राथमिक अस्पताल सुधार गर्नुपर्छ।

२. उचित पारिश्रमिक र सुविधा गर्ने

चिकित्सकलाई प्रतिस्पर्धी तलब, आवास, बीमा र कर छुट जस्ता सुविधा दिनुपर्छ। निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाका मापदण्ड तोकिनुपर्छ।

३. कार्यस्थल सुरक्षा सुनिश्चित गर्ने

-चिकित्सकमाथि हुने हिंसा गम्भीर अपराध घोषणा गरी कडा कानुनी व्यवस्था गर्नुपर्छ । अस्पतालमा सुरक्षा गार्ड, सीसीटीभी निगरानी र सुरक्षाकर्मी सहायता अनिवार्य गर्नुपर्छ।

४. उच्च शिक्षाका अवसरहरू विस्तार गर्ने

नेपालमै विशेषज्ञता तथा सुपर-स्पेशियलिटी अध्ययनका अवसरहरू वृद्धि गर्नुपर्छ।विदेशी विश्वविद्यालयहरूसँग सहकार्य गरी नेपालमै अन्तर्राष्ट्रिय स्तरका तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ।

५. प्रभावकारी नीति निर्माण गर्ने

चिकित्सकहरूको विदेश पलायन रोक्न दीर्घकालीन रणनीति बनाइनुपर्छ। स्वास्थ्य क्षेत्रमा जीडीपीको कम्तिमा ७ देखि १० प्रतिशत बजेट छुट्याइनुपर्छ।

६. चिकित्सा अनुसन्धान र प्रविधिको प्रवर्द्धन

चिकित्सा अनुसन्धानका लागि स्वतन्त्र अनुसन्धान कोष स्थापना गर्नुपर्छ।अत्याधुनिक प्रयोगशाला, उपकरण, तथा अनुसन्धान अनुदान उपलब्ध गराइनुपर्छ।

निष्कर्ष

नेपालमा चिकित्सकहरूको पलायन रहरले नभई बाध्यताले भइरहेको छ। नेपाललाई दक्ष चिकित्सकहरूको खाँचो छ र ती चिकित्सकहरूलाई नेपालमै रोक्न सक्ने वातावरण सिर्जना गर्नु अबको प्राथमिकता हुनुपर्छ।

यदि बेलैमा ठोस कदम चालिएन भने नेपालमा दक्ष चिकित्सकहरूको अभाव हुन्छ, जसले स्वास्थ्य प्रणालीमा गम्भीर संकट निम्त्याउनेछ।

नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दीर्घकालीन योजना आवश्यक छ। सिर्जनात्मक नीति निर्माण, स्वास्थ्य पूर्वाधार सुधार, र चिकित्सकहरूको भविष्य सुनिश्चित गर्ने कदमहरू अविलम्ब चाल्नुपर्छ।

नेपालले दक्ष चिकित्सकहरूलाई रोक्न केबल चर्चा मात्र गरेर पुग्दैन ठोस कदम चाल्नै पर्ने बेला भएको छ।

चिकित्सक विदेश पलायन
डा. अमन न्यौपाने
लेखक
डा. अमन न्यौपाने

डा. अमन न्यौपाने त्रिशुली अस्पताल, नुवाकोटमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय