+
+
Shares

झापाको मेचीनगरमा भेटियो नयाँ प्रजातिको ‘बैजनी बुंगेचरा’

योसँगै नेपालमा चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २० गते १५:५५

२० फागुन, काठमाडौं । झापाको मेचीनगरमा नयाँ प्रजातिको बैजनी बुंगेचरा भेटिएको छ ।

नेपाल पन्छीविद् संघका अनुसार झापाको मेचीनगर नगरपालिका-६, काँकरभिट्टामा समुद्रसतहबाट १३३ मिटर उचाइमा पर्पल रम्प सनबर्ड फेला परेको हो ।

नेपालका चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनको ७ फागुनमा बिहान ८:३० बजेको समयमा मेचीनगर क्षेत्रको एक आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा पहिलो पटक उक्त चराको भालेपोथी देखेका हुन् ।

त्यसयता लगातार दुई दिनसम्म सोही ठाउँमा यो चराको अभिलेख भएको संघले जनाएको छ ।

संघका अनुसार पहिलो पटक चराविद् खरेलले देखेको उक्त चरा त्यसपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शंकर लुइँटेलले पनि अवलोकन गरेका थिए ।

९ फागुनमा सो चराको यकिन पुष्टिका लागि खरेलले नेपाल बर्ड रेकर्ड कमिटी (एनबीअरसी) मा विवरणसहित चराको तस्वीरहरू पठाएका थिए ।

एनबीअरसीमा प्राप्त विवरणका आधारमा अध्ययन गर्दा उक्त चराको अंग्रेजी नाम पर्पल रम्प सनबर्ड र वैज्ञानिक नाम लेप्टोकोमा जेइलोनिका (Linnaeus, 1766) भएको संघको भनाइ छ ।

संघका अनुसार यो चराको नेपाली नाम बैजनी बुंगेचरा राखिएको छ । पेसरीफर्म्स (Passeriformes) वर्गको नेक्टारिनिडेई (Nectariniidae) परिवारमा पर्ने यो चरा बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा आवासीय रूपमा पाइने सोही क्षेत्रमा प्रजनन पनि गर्ने संघले जनाएको छ ।

विश्वमा यस चराको दुई उपप्रजाति एलजेड फ्लाभिभेन्ट्रिस (L. z. flaviventris) र एलजेड जेइलोनिका (L. z. zeylonica) अभिलेख भएको संघले जनाएको छ । नेपालमा अभिलेख भएको यो चरा एलजेड जेइलोनिका उपप्रजातिको हो ।

योसँगै नेपालमा चरा प्रजातिको संख्या ८ सय ९८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?