+
+
Shares

सत्ताको आडमा पुनरोदय खोज्दैछन् बालकृष्ण खाँण

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर छुटेपछि बालकृष्ण खाँण सार्वजनिक वृत्तको सामना नै गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनी अब कांग्रेसको मूल नेतृत्वमा पुग्ने हिम्मत त जुटाउन सक्दैनन् तर पार्टीभित्रको कुनै पक्षलाई भरथेग वा क्षति पुर्‍याउने क्षमता भने राख्छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ फागुन २० गते २०:००

२० फागुन, काठमाडौं । दुई न्यायाधीशबीच राय बाझिएर तेस्रो न्यायाधीशको राय निर्णायक हुने न्यायिक अभ्यासको दुर्लभ घटनाका कारण थुनामुक्त भएका कांग्रेस नेता बालकृष्ण खाँणले त्यसयता राज्य संयन्त्रबाट श्रृङखलावद्ध राजनीतिक संरक्षण पाए ।

पहिले पुष्पकमल दाहाल र त्यसपछि केपी ओली नेतृत्वका सरकारले उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयलाई सर्वोच्च अदालत जानै दिएनन् । राजनीतिक हस्तक्षेप नभएको भए महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने थियो र खाँण फेरि थुनामा पर्ने सम्भावना रहन्थ्यो ।

मुलुकका प्रमुख कार्यकारीको ठाडो हस्तक्षेपका कारण महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जान नसक्दा उनको हौसला बढ्यो । त्यसमाथि पूर्वगृहमन्त्री खाँण र कांग्रेस समानुपातिक सांसदसमेत रहेकी उनकी श्रीमती मञ्जु खाँणमाथिको सम्पत्ति शुद्धीकरणको अनुसन्धान समेत राजनीतिक हस्तक्षेपले निस्तेज बनाइयो ।

झन्डै दुई वर्षअघि खाँण दम्पतीको सम्पत्तिमाथि छानबिन हुनुपर्ने भनी पत्राचार भए पनि अख्तियारका पदाधिकारीहरूले अनुसन्धानको काम अघि बढाउन सकेका छैनन् । अनुसन्धान गर्नुपर्ने निकायहरूमा भएको ठाडो राजनीतिक हस्तक्षेपबाट संरक्षण पाएपछि पूर्वमन्त्री खाँण फेरि राजनीतिमा सक्रिय हुन थालेका छन् ।

सात महिना लामो कारागार बसाइपछि पूर्वमन्त्री खाँण २८ मंसिर, २०८० मा उच्च अदालत पाटनको आदेशबाट थुनामुक्त भएका थिए । उस्तै प्रकृतिको आरोपमा एमाले नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे लगायत थुनामा रहँदा उनी ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए । करिब १५ महिनाजति निष्क्रिय बसेका खाँणले पछिल्ला दुई/तीन महिनादेखि सक्रियता बढाइरहेका छन् ।

चितवनमा तरुण दलका पूर्वअध्यक्षको स्मृति कार्यक्रममा खाँण लगायतका नेता

१ पुसमा उनी तरुण दल चितवनका पूर्वअध्यक्ष शिव पौडेलको स्मृति सभामा सहभागी भए । पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी गत महिना दाङ पुगे । २ फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास पुग्ने ११ जना नेतामा खाँण पनि थिए ।

पार्टी सभापति शेरबहादुर देउवा गुटको बलियो खम्बाको रुपमा रहेका खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर छुटेपछि डा. शेखर कोइराला गुटतिर ढल्किएका छन्

कुनै बेला कांग्रेसमा भावी सभापतिका एक सम्भावित पात्र भनी चर्चा गर्ने गरिएका खाँणलाई पार्टी भित्रबाट पनि विस्तारै मञ्च र अवसर उपलब्ध गराउन थालेको देखिन्छ । केन्द्रीय तहबाट प्रचार विभाग र नीति प्रतिष्ठानले रुपन्देहीमा गरेका दुई कार्यक्रमा आइतबार र सोमबार उनी सहभागी भएका थिए ।

गत आइतबार खाँणलाई पार्टीको केन्द्रीय तहबाटै मञ्च उपलब्ध गराइएको थियो । सूचना, सञ्चार एवं प्रचार विभागले रुपन्देहीमा आयोजना गरेको केन्द्रीय स्तरको कार्यक्रममा वक्ताका रुपमा खाँण सहभागी थिए । सोमबारदेखि भैरहवामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा पनि उनी सहभागी थिए ।

भैरहवामा सोमबार र मंगलबार राखिएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा नेता खाँण लगायत

मीन विश्वकर्मा प्रमुख रहेको प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान-तथ्यमा आधारित प्रचार अभियान’ विषयक कार्यक्रम राखेको थियो । आफू स्रोताको रुपमा मात्रै उपस्थित हुन चाहे पनि प्रचार विभागले वक्तासमेत बनाएको भन्दै पूर्व गृहमन्त्री खाँणले प्रचार विभाग प्रमुख विश्वकर्मालाई मञ्चबाटै धन्यवाद दिएका थिए ।

संस्थापन इतरका नेता डा. शेखर कोइराला प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताका रुपमा खाँणसहित सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, पुष्पा भुषाल, डा. मीनेन्द्र रिजाल, नैनसिंह महर, गंगा शाही लगायत थिए ।

पक्राउपछि गुट परिवर्तन

पार्टी सभापति शेरबहादुर देउवा गुटको बलियो खम्बाको रुपमा रहेका खाँण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर छुटेपछि विस्तारै डा. शेखर कोइराला गुटतिर ढल्किएका छन् । यो अवधिमा उनीहरूको भेटघाट र निकटता बाक्लिएको छ । कोइरालाले खेलेका केही खास भूमिकाका कारण खाँण उनीतिर ढल्किएको नेताहरू बताउँछन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी, कीर्ते र संगठित अपराधको मुद्दामा थुनामा रहेका खाँणलाई भेट्न कांग्रेस नेता कोइराला दुईपटक सुन्धारास्थित कारागार पुगेका थिए । उनलाई भेट डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि कारागार गएका थिए, तर शेखरसँगको भेट भने सम्बन्ध सुधारको आधार बन्यो ।

कांग्रेसनिकट नेताहरूका अनुसार, त्यतिबेला खाँणले कोइरालालाई विशेष आग्रह गरेर कांग्रेस निकटका कानुन व्यवसायीहरूलाई आफ्नो प्रतिरक्षाका लागि अदालतमा पठाइदिन आग्रह गरेका थिए ।

नभन्दै डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)मा आवद्ध कानुन व्यवसायीहरूले मूल मुद्दामा झैं थुनछेककै क्रममा लामो बहस गरेका थिए ।

प्रचार विभागले रुपन्देहीमा गरेको कार्यक्रममा डा. शेखरसँगै खाँण ।

त्यसयता शुरु भएको उनीहरूबीचको सम्बन्ध सुधार निरन्तर चलिरहेको छ । बुटबलमा आयोजित कार्यक्रममा खाँणले डा. कोइरालालाई साथ दिने संकेत गरेका थिए । ‘कहिलेकाहीँ परिपक्व नेता चाहिन्छ । कहिलेकाहीँ गतिशील नेता चाहिन्छ,’ उनले भने, ‘जसले मुलुक चलाउन सक्छ, उसैलाई मद्दत गर्ने हो ।’ रुपन्देही भ्रमणमा रहँदा शेखर कोइराला तिलोत्तमास्थित बालकृष्ण खाँण निवाससमेत पुगेका थिए ।

कोइराला र खाँण नजिकिएको कोइराला निकटका रुपन्देहीका नेता विष्णु पोखरेल स्वीकार्छन । उनी भन्छन्, ‘उहाँहरूको सम्बन्ध सकारात्मक देखिएको छ । कांग्रेसलाई सन्तुलित राख्न शेखर दाइ नै चाहिने जस्तो बालकृष्ण दाइको कुरा आएको छ ।’

२८ माघमा दाङको लमहीमा आयोजित कार्यक्रममा समेत खाँणले शेखरको प्रशंसा गर्दै आफैं उनको पक्षमा देखिने संकेत गरेका थिए । उनले लमहीमा शेखरका बाजे (बिपी कोइरालाका बाबु) कृष्णप्रसाद कोइरालाको प्रसंग निकाल्दै उनलाई कम आँक्न नहुने र कांग्रेसमा कोइराला परिवारको योगदान हेरिनुपर्ने बताएका थिए ।

दुई भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व गरेर कांग्रेसको राजनीतिमा आएका खाँणले ती दुई संगठनमार्फत देशभरका जिल्लामा आफ्नो सञ्जाल र शक्ति निर्माण गरेका थिए । देशव्यापी कार्यालय, नेटवर्क हुने गृह मन्त्रालय सम्हाल्दा उनले देशभर आफ्नो प्रभाव विस्तार गर्न पाए । कतिपय नेताहरूको विचारमा, संस्थापन पक्षमा देउवाजतिको प्रभाव र बल नभए पनि उनले समानान्तर शक्ति निर्माण गरेका थिए ।

खाँणनिकट एक नेताको दाबीअनुसार, १ सय ६८ केन्द्रीय सदस्यमध्ये खाँणसँग २१ जना छन् । पदाधिकारीमा सहमहामन्त्रीद्व भीष्मराज आङ्देम्बे र महेन्द्र यादव उनी नजिक छन् । खाँण र यादवको निकटताबारे कांग्रेसका एक नेताले भने, ‘बालकृष्ण दाइले राजनीति नगर्ने निर्णय गरे भने महेन्द्र यादवले पनि राजनीति छोड्छन् । उनीप्रति महेन्द्र त्यतिसम्म बफादार छन् ।’

दाङमा खाँणसँग भेटघाटका लागि राखिएको कार्यक्रम

उदय शमशेर राणा, लक्ष्मी परियार, जीतजंग बस्नेत, राधा घले, गंगा शाही, कान्तिका सेजुवाल खाँणनिकट हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले त खाँण थुनामा रहँदा उनको पक्षमा माहोल बनाउन दौडधुप नै गरेका थिए ।

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिनु र पक्राउ पर्नुअघि तरुण दलमा खाँणकै हालीमुहाली थियो । तरुण दलको राजनीतिबाट कांग्रेसको राजनीतिमा सक्रिय भएकाहरू अधिकांश खाँण पक्षधर छन्

गत महाधिवेशनमा महामन्त्रीको आकांक्षी रहेका खाँणले उम्मेदवारी दिन पाएनन् । संस्थापन र नेता कृष्णप्रसाद सिटौला पक्षले प्यानल बनाउँदा उनी महामन्त्रीमा भिड्न पाएनन्, खुलातर्फ तेस्रो सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बने ।

२०५४ साल कात्तिकमा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलाबाट तरुण दलले पुनर्जीवन पाएसँगै खाँण अध्यक्ष बनेका थिए । बुटवलमा आइतबार खाँणले भने, ‘गिरिजाबाबुले मलाई तरुण दलको अध्यक्ष बनाउनुभयो । हामी आफैंले आफैंलाई क्याडर बेस्ड बनायौं । तर, अब कांग्रेसलाई क्याडर बेस्ड बनाउनै सकिन्न ।’

कांग्रेसको आगामी महाधिवेशनको तयारीस्वरुप नेताहरूको सक्रियता र सरगर्मी बढेसँगै पूर्वगृहमन्त्री खाँणले आफूलाई सार्वजनिक कार्यक्रममा सक्रिय देखाउन थालेका हुन् । प्रमुख नेताहरूको उनीप्रतिको आकर्षणलाई उनको शक्ति र देशव्यापी सञ्जाललाई आधार मानिएको छ ।

जानकारहरूका अनुसार, सार्वजनिक वृत्तको सामना नै गर्न नसक्ने अवस्थामा पुगेका खाँण अब पार्टीको मूल नेतृत्वमा पुग्ने हिम्मत जुटाउन सक्दैनन् । तर पार्टीभित्रको कुनै पक्षलाई भरथेग वा क्षति पुर्‍याउने क्षमता भने राख्छन् ।

जसोतसो बौरिएर कांग्रेस राजनीतिमा फर्किन खोजे पनि झन्डै दुई वर्षको अवधिमा खाँणको शक्ति र सञ्जालमा धेरै क्षति पुगिसकेको छ । राजनीतिक जीवनमा संगीन फौजदारी दाग लागेको व्यक्तिसँग कोइरालाको निकटताबारे रुपन्देहीका नेता पोखरेल भन्छन्, ‘गुनासो नै नहुने त राजनीतिमा कहाँ हुन्छ र?’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?