+
+
Shares
नीरज श्रेष्ठसँग संवाद :

‘बुवाको अपहरणपछि हत्याको घटनासँग मिल्दोजुल्दो कथा भएकाले ‘राजागञ्ज’मा लगानी गरेँ’

‘राजागञ्ज’मा विश्वब्यापी सिनेम्याटिक मूल्य छन्’

दीपक रौनियार निर्देशित यो फिल्मको भेनिस र बुसान प्रिमियरमा समेत सहभागि नीरज ‘राजागञ्ज’सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँछन् । बुवाको घटनासँग मिल्दोजुल्दो कथावस्तुमा फिल्म बनेकाले लगानीकर्ताको रुपमा जोडिएको उनको भनाई छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २१ गते १२:४४

काठमाडौं । ७ वर्षअघि दाङको तुलसीपुरका ५३ वर्षिय व्यवसायी राजकुमार श्रेष्ठको अपहरण भयो । अपहरणको २१ दिनपछि उनी सल्यानको छत्रेश्वर गाउँको झिम्पे रेन्जेको जंगलमा मृत भेटिए । प्रहरीले यो घटनामा संलग्न ४ जनालाई पक्राउ गर्‍यो । पैसाको लागि उनलाई अपहरणपछि हत्या गरिएको खुल्यो ।

त्यो घटना सम्झँदा व्यवसायी श्रेष्ठका छोरा नीरज भावुक हुन्छन् । अहिले उनी अमेरिकाको नर्थ क्यारोलिनाको सार्लोटमा स्थापित उद्यमी र लगानीकर्ता हुन् । आईटी कम्पनी ‘क्राउन डाटा सोलुसन्स’ र बहु मिलियन डलरको मूल्यांकन भएको रियल स्टेट कम्पनीका मालिक पनि हुन् ।

दोस्रो पुस्ताको उद्यमीको रुपमा उनले तुलसीपुर दाङमा ३९ वर्षदेखि बजार नेतृत्व गर्दै आएको पारिवारिक कपडा व्यवसाय बुटवल वस्त्रालयको सक्रिय नेतृत्व र व्यवस्थापन गरिरहेका छन् । बिजनेस एडमिनिस्ट्रेसन विषयमा विद्यावारिधी अध्ययन गरिरहेका नीरजको सोध ‘पारिवारिक व्यवसायले परम्परालाई जोगाउँदै कसरी नवीनता र एआईलाई आत्मसात गर्न सक्छन्’ भन्ने विषयमा केन्द्रित छ ।

उनको नयाँ परिचय विश्वचर्चित नेपाली फिल्म ‘राजागञ्ज’को निर्माताको रुपमा समेत छ । दीपक रौनियार निर्देशित यो फिल्मको भेनिस र बुसान प्रिमियरमा समेत सहभागि नीरज ‘राजागञ्ज’सँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँछन् । बुवाको घटनासँग मिल्दोजुल्दो कथावस्तुमा फिल्म बनेकाले लगानीकर्ताको रुपमा जोडिएको उनको भनाई छ । उनी आगामी नेपाली फिल्महरूमा पनि सक्रिय हुन चाहन्छन् । यस्तोमा नीरजसँग अनलाइनखबरले संक्षिप्त संवाद गरेको छ :

‘राजागञ्ज’मा निमाताको रुपमा कसरी जोडिनुभयो ?

निर्देशक दीपक रौनियारसँग १० वर्षअघि देखि मित्रताको सम्बन्ध कायम थियो । मित्रता हुँदाहुँदै पनि उहाँका फिल्म हेर्थेँ, उहाँको काम साह्रै मनपथ्र्यो । फिल्म क्षेत्रमा मैले सम्मान गर्ने व्यक्ति पनि लाग्छ दीपक दाई । जब उहाँले फिल्मको स्क्रिप्ट सुनाउनुभयो, पर्सनल लेभलमा पनि टच् भयो । विषयवस्तुमा म तानिएँ किनकी मेरो आफ्नै परिवारमा पनि घटेको यो अपहरणको घटना ।

बुवाको अपहरणलाई लिएर म र मेरो परिवारले जुन मानसिक पीडा भोग्नुपरेको थियो । समाजमा हुने यस्तो घटनाले मान्छेलाई कति पीडा हुन्छ भनेर महसुस गर्ने मौका मिल्छ होला जस्तो लाग्यो मलाई । दीपक दाईप्रतिको विश्वास, कथावस्तु राम्रो र मलाई आफै पनि परेको घटना भएकाले मलाई मनपर्‍यो ।

यो कथा दीपक दाईको आफ्नै परिकल्पना हो जस्तो लाग्छ । यसअघि छलफल र कुराकानी भएको थिएन । जब फिल्म बन्दैछ, तिम्रो हेल्प चाहियो भनेपछि कथा सुनेको हुँ । तराई, मधेशतिर घएको घटना अनि आफूले भोगेको कुरा गर्नुभयो अनि मलाई प्रोजेक्टसँग जोडिन अझै उत्सुकता जाग्यो ।

तपाईंको बुवाको जुन घटना भयो, त्यो घटनासँग फिल्मको कथावस्तु कति मिल्दोजुल्दो छ ?

मिल्दोजुल्दो भन्ने कुरामा कति मापन गर्न सकिन्छ, कति मापन गर्न सकिँदैन । फिल्म पनि बच्चा अपहरणको कथावस्तुमा छ । बच्चा अपहरण हुँदा त्यसको पीडा कस्तो हुन्छ भन्ने कुरा त परिवारलाई मात्र थाहा हुन्छ । जस्तो मलाई पर्‍यो मेरो बुवाको अपहरणको बेलामा । त्यो दुःख र पीडाको हिसाबले स्टोरी त उस्तै उस्तै होला । त्यसमा पनि प्रहरीले पनि कार्यकौशलता प्रदर्शन गर्न चुक्ने, गर्न नसकेको पनि मलाई स्टोरी हेर्दा मिल्दोजुल्दो लाग्यो ।

मेरो बुवा पनि राजनीतिक व्यक्ति होइन, उहाँ कुशल व्यवसायी हुनुहुन्थ्यो । त्यतिबेला चुनावको बेला थियो, नभएको कुरालाई पनि राजनीतिक एंगल दिन खोजिएको थियो । सदस्यताको हिसाबले उहाँ कांग्रेस हुनुहुन्थ्यो । हुँदै नभएको एमाले भर्सेस कांग्रेस । राजनीतिक रुप दिन खोजिएको थियो त्यतिबेला । म छक्क परेँ । ‘राजागञ्ज’मा पनि राजनीति, सामाजिक प्रतिष्ठा जोडिएको छ । यस हिसाबले धेरै कुरा मिल्दोजुल्दो लाग्यो ।

अपहरण त अपहरणै हो । मेरो बुवाको अपहरणको उद्देश्य पैसा थियो । फिल्ममा राजनीति छ । यसमा जोडी मिलेर अपहरण गरेको छ भने मेरो बुवाको चाहिँ १५, १६ जना संगठित बेरोजगार मिलेर गरेका छन् । यसको मूल कारण भनेर यदि नेपाली समाजमा हेर्‍यौं भने, बेरोजगारी मुख्य कारण देखिन्छ ।

‘राजागञ्ज’ भेनिसमा वर्ल्ड प्रिमियर भयो । बुसान लगायतका प्रतिष्ठित फेस्टिभलमा पनि यसको स्क्रिनिङ गरियो । अन्तर्राष्ट्रिय वृत्तबाट फिल्मको प्रतिक्रिय कस्तो पाउनुभयो ?

साह्रै उत्साहपूर्ण प्रतिक्रिया पाइयो हामीले । यत्तिको सम्मान नेपाली फिल्मले नेपालबाहिर पाएको देख्दा मलाई साह्रै नौलो पनि लाग्यो । व्यक्तिगतरुपले आफै घुमेर पहिलोचोटी अनुभव पनि लिएँ । मेरो मान भावविह्वर भएर पनि आयो किनभने, नेपालको कथा हो । टाढाको मान्छेले पनि कनेक्ट र रेस्पेक्ट गर्न सक्दो रहेछ । मेरो एकजना शिक्षकले आफूलाई खोज्न र आफूलाई बुझ्न टाढा जानुपर्छ भन्नुहुन्थ्यो । त्यही भाव मलाई झल्कियो ।

नेपालको आफ्नै कथा नेपालभित्रै भ्यालु नहोला । म दाङको मान्छेलाई जनकपुरबारे त्यति थाहा थिएन व्यक्तिगतरुपमा । जनकपुरको मान्छेलाई कर्णाली र सल्यान थाहा नहोला । म यस्तो खालको प्रवृत्तिमा बाँचेका छौं । नेपाल सानो छ भनिन्छ, देशभित्र एक ठाउँको कुरा अर्को ठाउँलाई थाहा छैन । भेनिस र बुसानको उत्साहपूर्ण प्रतिक्रिया हेर्दा त्यहाँको अलिकति अंश भएपनि नेपाली समाजले त्यसलाई जनजीवनमा लागू गर्न सके हुन्थ्यो जस्तो लाग्छ । म ब्यापारीको छोरा भएपनि कलाले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छजस्तो लाग्छ । म कलामा सानैदेखि विश्वास गर्ने मान्छे हो ।

यो फिल्मभित्र युनिभर्सल अपिलिङका तत्व के छन् ?

सबैभन्दा युनिभर्सल अपिल त क्राइम भयो । मलाई के लाग्छ भने, मानिसको रुपमा खुसीले हामीलाई कम्फर्ट र क्राइमले थ्रील बनाउँछ । क्राइमले हामीले एडभेन्चर बनाउँछ । क्राइमले हामीलाई कुनै न कुनैरुपमा आकर्षित गर्छ । कुनै घटना सुन्यौं भने कहाँ भयो, के भयो भनेर आकर्षित हुन्छौं । यो अपहरणको थ्रीलर कथा हो ।

संसारमै हुने घटना हो यो । नेपाल, अमेरिका र भारतमा मात्र हुँदैन, यो सबै समाजमा नचाहँदा नचाहँदा पनि हुने घटना हुन् । जुन बच्चा अपहरण गरिएको छ । बच्चा माथि दुःख पर्दा हामी धेरै भावुक हुन्छौं । राजनीतिक परिवार, समाजमाथि हैकम राख्ने फेमिलीको कथा भएको कारणले पनि मलाई त्यो कारणले होला संसारका जहाँसुकैका मान्छेले रिलेट गर्न सक्नुहुन्छ ।

अब तपाईंले नियमितरुपमा फिल्म बनाउने कि, के छ योजना ?

यो त सुरुवात मात्र हो । स्वाद लिन पाइयो । पहिलो कदममै दीपक रौनियारजस्तो सक्षम, कुशल र नाम कमाउनुभएको नेपालका ब्लकबस्टर फिल्मका निर्माता रामबाबु गुरुङ, दयाहाङ राई, विजय बराल, पशुपति राईजी सबैसँग सहकार्य गर्न पाउनु नै मेरो लागि अहोभाग्य हो । डेब्यु नै यति राम्रो सुरुवात भएपछि अबको यात्रा निरन्तरता नगर्नुको कारण छैन नि ।

तपाईं यो फिल्मबाट युवापुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?

यो फिल्म र मेरा विविध प्रयासमार्फत, म नयाँ पुस्तालाई खोज, नवीनता र साहसको महत्व बुझाउन चाहन्छु । चाहे सिनेमा होस्, व्यवसाय वा व्यक्तिगत वृद्धि, म विश्वास गर्छु कि सफलता परम्परालाई सम्मान गर्दै, इतिहासलाई आत्मसात गर्दै र मौलिकता नगुमाई अगाडि बढ्ने क्षमतामा निर्भर गर्छ ।

‘राजागञ्ज’ हामीले गहिरो प्रभाव पार्ने विषयवस्तुलाई अन्वेषण गरेका छौं । म युवा पुस्तालाई व्यवस्थित जोखिम लिन, आफ्नो शिल्पमा अडिग रहन र भविष्यलाई दिशा दिने अर्थपूर्ण विरासत निर्माण गर्न प्रेरित गर्न चाहन्छु । संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ, तर ती व्यक्तिले नै सबैभन्दा स्थायी प्रभाव छोड्नेछन्, जसले भविष्यलाई नयाँ दृष्टिकोणले निर्माण गर्ने क्रममा विगतलाई पनि सम्मान गर्न जान्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?