
काठमाडौं । लोकप्रिय हास्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले टिभी श्रृंखला ‘मेरी बास्सै’मा अभिनय गरेसँगै आफ्नो पहिचान बनाइसकेका थिए । ‘धुन्धुकारी’ नामक पात्रको नामले उनी दर्शकमाझ चर्चित थिए ।
त्यो श्रृंखलामा उनले माग्ने बुढाको भूमिकामा देखिएका केदारसँग अभिनय गरे । त्यसपछि अर्को टेलिश्रृंखला ‘रिटायर हल्दार’बाट डेब्यु निर्देशन समेत गरे । टिभीको पर्दामा उनको पहिचानको जग बनिसकेको थियो ।
उनको हुटहुटी यत्तिमै सीमित भएन । बुवाको पाइला पछ्याउँदै उनी अहिले ठूलो पर्दामा अघि बढेका छन् । उनको डेब्यु कथानक ‘होस्टेल ३’ फागुन २३ देखि प्रदर्शन तयारीमा छ ।
चर्चित फिल्मको तेस्रो श्रृंखलामा आशिष शीर्षमध्येको भूमिकामा छन् । ट्रेलर हेर्दा पनि उनको भूमिका स्पष्ट हुन्छ । पहिलो फिल्मको प्रचारमा जुटेका उनले अनलाइनखबरसँग कुराकानी गर्दै आफू बुवाभन्दा आफ्नो नामले चिनिने सोचमा लागेको बताउँछन् ।
‘सानैबाट अभिनयप्रति लगाव थियो । मेरी बास्सैबाट ‘धुन्धुकारी’ भनेर चिनिँदा खुसी लाग्थ्यो । सँधै माग्ने बुढाको छोरा भनेर चिनिएर मात्र पनि हुँदैन । बुवाको नामसँगै आफ्नो छुट्टै पहिचान बनाउँछु भनेर फिल्ममा लागेको हुँ’ उनले भने ।
स्नातक तहसम्मको पढाइ सकेर गुरुकुल थिएटरमा नाट्य प्रशिक्षण लिएर उनी अभिनयको लागि तयार थिए । ‘राम्रो फिल्मको अफर आयो भने गर्छु भन्ने थियो । फिल्मको लागि फोन आउँदा फेक फोन जस्तो लागेको थियो’ प्रस्ताव सम्झिँदै उनले भने ।
पहिलो फिल्मको अभिनयले जोश अझै बढेको उनले बताए । ‘सानो पर्दादेखि ठूलो पर्दामा काम गर्दा छुट्टै जोश थियो । ठूलो टिमसँग काम गर्दा कस्तो होला भन्ने थियो । राम्रो टिम र आफ्नै उमेरका साथी सँगको काम भएको हुनाले सोचेभन्दा राम्रो भयो । यो अनुभवले फिल्मप्रति अझै जोश जागेको छ ।’
सिरियलको अनुभवले फाइदा उनको भनाइ छ । ‘अरू साथीभन्दा मलाई केही हदसम्म सजिलो भयो । मेरो पात्रको लागि आफ्नो तर्फबाट सय प्रतिशत नै दिएको छु’ अभिनय अनुभवबारे उनी खुले ।
फिल्ममा काम गर्दा बुवाको नाम बिचमा नल्याउने सर्त राखेको उनले बताए। भन्छन्- ’ फिल्म साइन गर्दा पनि मैले म कहाँ बाट आएको हो ,कसको छोरा हो भन्ने नहेरी मात्र मेरो काम हेरिने कुरा राखेको थिए। बुवाको नामले मलाई काम गर्दा सहज होस् भन्ने म चाहन्न। ’
पहिलो फिल्मको ट्रेलर हेरेपछि बुवाको प्रतिक्रिया सम्झँदै उनी भन्छन्, ‘म घर पुग्दा बुवाले ट्रेलर ३ पटक हेरी सक्नुभएको रहेछ । परिवारमा छुट्टै खुसी थियो । मेरो पहिलो कामबाट बुवा सन्तुष्ट भएको देखेर मन ढुक्क भएको थियो ।’
बुवाआमा दुवै अभिनय क्षेत्रमा हुनाले उनलाई नातावाद (नेपोटिज्म)को आरोप पनि लाग्दै आएको छ । यसबारे उनी भन्छन् ‘बुवाआमाको नामले केही हदसम्म मद्दत गर्यो होला तर नामले मात्र काम गर्न पाइन्छ भन्ने हुँदैन । बुवाआमाको नामले चिनिनु मेरो सौभाग्य हो तर मैले आफ्नो कर्म गर्ने हो । नतिजा र प्रतिक्रिया दुवै दर्शककै हातमा हुन्छ । मेरो भविष्य मैले आज गरेको काममा निर्भर हुन्छ, बुवाआमाको नामले होइन ।’ आगामी दिनमा आफूले सोचे जस्तो फिल्मको अफर आए फिल्मलाई निरन्तरता दिने उनको सोच छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4