
२१ फागुन, बुटवल । बुटवलका चार व्यावसायिक संस्थाले पसल, उद्योग वा व्यवसाय चिनाउन साइनबोर्ड राखे वापत बुटवल उपमहानगरले लिंदै आएको कर खारेज गर्न माग गरेका छन् ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ र उद्योग व्यापार संघ बुटवलले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी साइनबोर्ड कर खारेजी नगरे कर नतिर्ने घोषणा गरेका छन् । चार व्यावसायिक संस्थाहरूले ६० स्क्वायर फुटसम्मको साइनबोर्डको कर नतिर्ने घोषणा गर्दै त्यसभन्दा बढी बोर्ड राखे कर तिर्न तयार रहेको बताएका छन् ।
कोरोना महामारीको असरले ओरालो लागेको व्यवसाय आर्थिक मन्दीले झनै थला परेको अवस्थामा दोहोरो, तेहोरो कर, चर्को घर भाडा र बहाल करले व्यवसायी पलायन हुने अवस्थामा साइनबोर्ड राखेको समेत कर असुल्नु अव्यावहारिक भएको भन्दै उनीहरूले कर नलिन माग गर्दै गत २ असारमा बुटवल उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।
नगर प्रमुख र उपप्रमुखसँग पटक–पटक भएका वार्तामा समस्या समाधानको आश्वासन दिइएको तर कर उठाउने ठेक्का पाएको कम्पनीबाट व्यवसायीमाथि जबरजस्ती भएपछि उनीहरूले १३ फागुनमा पुनः ज्ञापनपत्र बुझाएका थिए ।
उपनगरपालिकाले ठेक्कामार्फत गणेश एन्ड सन्स कन्ट्रक्सन बुटवललाई साइनबोर्डको कर उठाउन अनुमति दिएको छ ।
‘१० महिना पहिले नै साइनबोर्ड करमा असहमति जनाउँदै नलिन ज्ञापनपत्र बुझाएका थियौं, त्यसयता मेयर र उपमेयरसँग २० पटकभन्दा बढी वार्ता र छलफल हुँदा आश्वासन मात्र दिइयो । तर ठेकेदारबाट झन् जबरजस्ती र ज्यादतीका घटना भएपछि बाध्य भएर कर खारेज नगरेसम्म चारवटै संस्थामा आबद्ध व्यवसायीले कर नतिर्ने निर्णय गरेका हौं,’ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने ।
ठेकेदार कम्पनी व्यावसायिक प्रतिष्ठानहरूमा पुगेर जोर जबरजस्ती र अभद्र व्यवहार गर्नुका साथै तोडफोड समेत गरी ज्यादतीपूर्ण व्यवहार गरेकाले तोडफोडको उचित क्षतिपूर्ति दिनुपर्ने आफूहरूको माग रहेको रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बताए ।
प्रतिक्रिया 4