
२१ फागुन, काठमडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसले आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि हुने मतदाताको सूची सार्वजनिक गरेको छ ।
जसमा ५ हजार ९ सय ६५ जना मतदाता रहेको स्ववियु निर्वाचन समितिका संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेले जानकारी दिए । यो मतदाता संख्याकाले त्रिविको स्ववियु नयाँ नेतृत्व चयन गर्ने छ ।
विश्वविद्यालय क्याम्पसमा ३३ वटा केन्द्रीय विभाग, ४ वटा विभाग र ८ वटा विशेष अध्ययनका विद्यार्थीले मतदान गर्ने छन् ।
‘सबै विधा गरेर ४५ वटा विभागका विद्यार्थी सहभागी हुन्छन्,’ विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा अक्कलदेव मिश्रले भने ।
चुनावका लागि १९ फागुनमा संघ, संगठन र समूहको दर्ता भइसकेको छ । २२ वटाले दर्ता गरेकोमा नेविसंघको बागी समूहले फिर्ता लिएपछि २१ वटा संघ संगठन स्ववियु चुनावमा सहभागी हुने छन् । अब २५ फागुनसम्म मतदाताको दाबी विरोधको समय तोकिएको छ । सोही दिन नै अन्तिम नामवली सार्वजनिक गरिने मिश्रले बताए ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गरिने प्रिन्सिपल मिश्रले बताए । ‘प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकेका छौं । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित हुन्छ,’ उनले भने ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गरिने उनले बताए ।
‘दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक हुन्छ,’ उनले भने ।
प्रत्यक्ष र समानुपातिक चुनावबाट नेतृत्व चयन
स्ववियुमा २१ सदस्यका लागि २७ फागुनमा उम्मेदवारको मनोनयन हुनेछ । जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् ।
प्रिन्सिपल मिश्रका अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुन्छन् । उपाध्यक्ष र उपसचिव २१ जना सदस्य निर्वाचित भएपछि त्यसबाट चयन गरिनेछ ।
‘कुनै संघ संगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैकोबाट चयन हुन्छ । यदि बहुमत आएन भने सहमतिबाट पनि चयन हुन सक्छ । सहमति भएन भने २१ जनाको भोटिङबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ,’ प्रिन्सिपन मिश्रले भने ।
इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान
विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने भएको छ । ‘भोटिङका लागि २० वटा मेसिन राख्छौं । दुईवटा मेसिन नमुनाका लागि प्रयोग गछौं,’ प्रिन्सिपल मिश्रले भने । स्ववियुको चुनाव नजिकिएसँगै तयारीलाई तीव्रता दिइएको मिश्रले बताए ।
‘११ सदस्यीय निर्वाचन समिति र ७ सदस्य निर्वाचन आचारसंहिता अनुगमन समिति बनाएर चुनावलाई तीव्रता दिएका छौं,’ उनले भने । स्ववियु चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षाको प्रबन्ध पनि मिलाइएको उनले बताए ।
‘केन्द्रीय सुरक्षा योजना अनुसार सरक्षाको प्रबन्ध गरिएको छ । शान्तिपूर्ण चुनाव हुन्छ । हुलहुज्जत नगरी मतदान चुनाव हुने विश्वास छ,’ उनले भने । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने छ ।
प्रतिक्रिया 4