
अमेरिकी ओभल अफिसको दृश्य गएको शुक्रबार अप्रत्यासित रुपमा अशान्त देखियो । ओभल अफिस अमेरिकी राष्ट्रपतिको औपचारिक वर्क स्टेसन हो, जहाँ अमेरिकी राष्ट्रपतिले प्रायः उच्चस्तरीय भेटघाट पनि गर्छन् । तर २८ फेब्रुअरी २०२५ को ओभल अफिसको दृश्य भने फरक थियो ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको ओभल अफिस तनावपूर्ण भेटलाई अन्तर्राष्ट्रिय कूटनीतिक विश्लेषकहरुले २१आंै¬ शताब्दीको सबैभन्दा चर्चित राजनीतिक घटनामध्ये एक मानिरहेका छन् ।
गएको हप्ता ओभल अफिस पुगेका जेलेन्स्की ट्रम्पलाई भेट्ने तेस्रो युरोपेली नेता थिए । यसअघि फ्रान्सका राष्ट्पति इमान्युएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पलाई भेटिसकेका थिए । तर ट्रम्प र जेलेन्स्कीको १ सय ३९ मिनेट लामो तनावपूर्ण भेट यतिखेर चर्चामा छ । ट्रम्पको आफ्नै सिग्नेचर स्टाइल र जेलेन्स्कीको इनफर्मल अटाएरमा सुरुवाती झन्डै चालीस मिनेटको संवाद सामान्य लाग्छ ।

तर, ४० मिनेट पछाडि परिस्थिति असामान्य बनेको देखिन्छ । जहाँ ट्रम्पले जेलेन्स्कीसँग कठोर र रुखो व्यवहार गर्न थाल्छन्, बारम्बार उनका तर्कहरुको अवमूल्यन गर्न थाल्छन् । अनि जेलेन्स्कीले उठाएका सुरक्षा चिन्ताहरुलाई खासै गम्भीर रुपमा लिँदैनन् । तर जब पत्रकारहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा प्रश्न गर्थे, ट्रम्पको व्यवहार कूटनीतिक रुपमा पूर्णतः फरक देखिन्थ्यो ।
यो १ सय ३९ मिनेटको भेटमा अमेरिकी राष्ट्रपतिले प्रत्येक पटक पुटिनको प्रसंगमा सम्मानजनक शब्दहरु उल्लेख गरेका थिए । त्यति मात्र होइन, पुटिनको नेतृत्व क्षमताको प्रशंसा समेत गरे । यो भेट पछाडिको विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा विश्लेषण गर्नु अगाडि जेलेन्स्कीको निर्भिक र ओभल अफिसको दुई घन्टाभन्दा बढी तनावपूर्ण क्षणमा समेत बलियो बडी ल्याङ्वेजका साथ दिइएको प्रस्तुतिले यतिखेर चर्चा पाइरहेको छ ।
यस भेटको ‘आफटरम्याथ’ लाई युक्रेन र युरोपले कसरी डिल गर्छन् त्यो त हेर्न बाँकी नै छ तर यो भेटसँगै युक्रेनलाई क्यामेरा अगाडि राखेर डोनाल्ड ट्रम्पले युक्रेनसँगै युरोपको भार त्याग गरिदिएको स्पष्ट सन्देश दिन खोजेका छन् । अनि ८० वर्ष पुरानो दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थालाई आधिकारिक रुपमा ध्वस्त पारिदिएका छन् । योसँगै ट्रम्पको टिमले नयाँ विश्व व्यवस्थाको उद्घोष गरेका छन् ।
ओभल अफिसको उक्त बैठकको अर्को चाखलाग्दो कोरियोग्राफी के थियो भने अधिकांश पत्रकारहरु ट्रम्पकै पक्षका देखिन्थे । सीएनएनले त त्यहाँ रुसको सरकारी समाचार संस्थाको एक पत्रकार पनि सहभागी भएको दाबी गरेको छ । ह्वाइट हाउसले उनलाई बैठकमा समावेश किन गर्यो भन्ने प्रश्नको उत्तर यो भेटको टेक अवे पछाडि छर्लंग हुन्छ, जबकि त्यही कार्यक्रममा एपी र रोयटर्सका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको थियो ।
कूटनीतिको अप्टिक्समा यो घटनाले दोस्रो विश्वयुद्धपछि अमेरिकी नेतृत्वमा स्थापित असी वर्ष पुरानो अन्तर्राष्ट्रिय व्यवस्थाको पूर्णबिरामको संकेत गर्छ, जहाँ अमेरिकी प्रभुत्व सेन्टर स्टेजमा थियो । तर अब ट्रम्प यो ब्यागेज बोकेर हिँडन चाहँदैनन्, उनी एउटा नयाँ सन्देश दिन खोजिरहेका छन् र यसको इपिसेन्टरमा युक्रेन छ ।
शुक्रबारको ओभल अफिसको तनावलाई बुझ्नका लागि केही समय अगाडिको दुई घटनामा फर्किन पर्छ । पहिलो १४ फेब्रुअरी २०२५ मा जर्मनीमा सम्पन्न ६औं म्युनिक सुरक्षा सम्मेलन, जसले नयाँ भू–राजनीतिक परिप्रेक्ष्यको संकेत गरिसकेको थियो । भ्यालेनटाइन डेको दिन अमेरिकाले स्पष्ट पारिदिएको थियो– अब पुरानो प्रणाली लागू हुँदैन ।
सन्देश स्पष्ट थियो, ट्रम्प पुटिनसँग वार्ता गर्न चाहन्छन् र युक्रेनलाई वार्तामा नराख्न सक्छन् । त्यही सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपको खतरा युरोप नै रहेको बताएका थिए । म्युनिकमा अमेरिका अब युरोपको सैनिक सहयोग अर्थात् नेटोको लागि खर्च गर्न तयार नरहेको सन्देश ट्रम्पको कूटनीतिक रणनीतिको महत्वपूर्ण हिस्सा थियो ।
यसले युरोप र अमेरिकाबीचको परम्परागत सम्बन्धमा गहिरो असर पुर्याउने नै थियो । र, अमेरिकी कूटनीतिक दृष्टिकोणमा ठूलो फेरबदल ल्याउने संकेत गरिसकेको थियो, जहाँ ट्रम्पको नयाँ भू–राजनीतिक दृष्टिकोणको ब्लु प्रिन्ट कस्तो हुनेछ, त्यो त समयले बताउला ।
अर्को प्रसंग प्रोफेसर जेफ्री साक्सले १९ फेब्रुअरी २०२५ मा युरोपेली संसद्मा गरेको भाषण, जहाँ उनले हेनरी किसन्जरको ‘अमेरिकाको शत्रु हुनु खतरनाक छ तर मित्र हुनु झनै बिनाशकारी छ’ भन्ने भनाइ राख्दै अब युरोप अमेरिकी राडारबाट बाहिर निस्केर युरोपले स्वतन्त्र र यथार्थपरक परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने सुझाव दिएका थिए ।
यी दुवै घटनाक्रमले बदलिँदो विश्व व्यवस्था र डोनाल्ड ट्रम्पको नयाँ ग्लोबल अर्डर एस्पिरेसनलाई देखाउँछ । दोस्रो कार्यकालको लागि २०२५ जनवरीमा ह्वाइट हाउस छिरेका ट्रम्पलाई अवगत छ, अबको डिलमेकर बन्न जो बाइडेनले छोडेको अमेरिका पर्याप्त छैन ।
ट्रम्पले राम्ररी बुझेका छन्, अबको युग एआई र प्रविधिको हो । जेनेरेसन अल्फाबाट जेनेरेसन बिटामा सन् २०२५ मा आधिकारिक रुपमा प्रवेश गरिरहँदा ट्रम्प दोस्रो पटक ७८ वर्षको उमेरमा अमेरिकी राष्ट्रपति बनेका छन् र उनलाई थाहा छ, सफल बन्न उनले बदलिँदो विश्व व्यवस्था र नयाँ रणनीति बेगर यो सम्भव छैन । त्यसैले त डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएनसी (डज) को स्थापना र त्यसको प्रमुख एलन मस्कको छनोट उनको महत्वकांक्षाको सुनियोजित प्रयोग हो ।
जनवरी २० मा पद ग्रहण गरेको केही घन्टाभित्रै ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यूएस एडका सबै कार्यक्रम स्थगित गरिदिए । यसको वासिंगटन मुख्यालय तत्काल नियन्त्रणमा लिइयो । हालसम्म ट्रम्प प्रशासनले ९० प्रतिशतभन्दा बढी अमेरिकी विदेशी सहायता सम्झौताहरु र नेपालसहित गरेर संसारभर ६० बिलियन डलरको अमेरिकी सहायता रोकिदिएका छन् ।
ट्रम्प प्रशासनको दोस्रो कार्यकालको क्रोनोलोजीलाई बुझ्ने हो भने उनले बारम्बार अप्रत्यासित विचारहरु अघि सारेका छन् । जसमध्ये डेनमार्कबाट ग्रिनल्यान्डलाई आफनो अधिनमा लिने, पनामाका नहरहरुलाई पुनः अधिग्रहण गर्ने, जुन संयक्त राज्य अमेरिकाले दशांै वर्ष पहिले पनामाको सरकारलाई फिर्ता गरेको थियो । र, क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने योजना छन् ।
यी सबै परिदृश्य सुनियोजित देखिन्छ, जहाँ ट्रम्प टिमले १९४५ पछिको अन्तर्राष्ट्रिय व्यवस्था जुन नियम, संस्था र गठबन्धनहरुमा आधारित थियो, अब विखण्डन हुने अवस्थामा पुगेको निष्कर्ष निकालिसकेको छ । यो व्यवस्था दोस्रो विश्वयुद्धपछि स्थापित भएको थियो, जसको उद्देश्य विश्वव्यापी स्थिरता, सहयोग र आर्थिक समृद्धि प्रोत्साहन गर्नु थियो । संयुक्त राष्ट्रसंघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जस्ता संस्थाहरु शान्ति र सुरक्षाको लागि स्थापित भएका थिए । तर ट्रम्पले यी संस्थाहरुलाई अब समर्थन गर्ने छैनन् ।
राष्ट्रपति ट्रम्पको नेटो र यूएन जस्ता संस्थाहरुप्रतिको दृष्टिकोण उनका पूर्ववर्तीहरुभन्दा धेरै फरक छ । उनी यी संस्थाहरुलाई सन्देहको नजरले मात्र हेर्दैनन्, झन् यी संस्थाहरुले अमेरिकाको धन र शक्तिलाई लुटिरहेको गम्भीर आरोप समेत लगाउँछन् । यस पृष्ठभूमिमा ट्रम्पका नीतिहरुले विश्वलाई अधिक अस्थिर र अनिश्चित बनाउने सम्भावना देखिन्छ ।
यदि यस्तो दृष्टिकोण जारी रहन्छ भने नेपाल जस्ता साना राष्ट्रहरु ठूला शक्तिहरुको स्वार्थमा पर्ने सम्भावना बढ्दै जानेछ । यसले विश्व शासनमा गहिरो असर पार्नेछ, जहाँ सहयोग र साझा सुरक्षाका सिद्धान्तहरु क्षीण हुनेछन् । प्रष्ट छ, हामी नयाँ युगमा प्रवेश गरिसकेका छौं, जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरु अब नियम र बहुपक्षीय संस्थाहरुले होइन, बलियो नेताहरु र सम्झौताले निर्धारण गर्नेछन् ।
अमेरिकामा ट्रम्प टिमले राम्ररी बुझेको कुरा के हो भने, यदि युक्रेन प्रोजेक्ट असफल भयो भने दोस्रो विश्वयुद्ध र शीतयुद्धमार्फत संयुक्त राज्य अमेरिकाले स्वतन्त्र, समृद्ध, सुरक्षित र लोकतान्त्रिक विश्व निर्माण गर्न हासिल गरेका सबै उपलब्धि संकटमा पर्नेछन् । अथाह पैसा खर्च गरेर नतिजाविहीन रुस–युक्रेन युद्धको यो स्थितिमा ट्रम्प प्रशासनले युक्रेन र युरोपियन युनियनलाई कमजोर बनाउँदै रुससँग निकट हुने रणनीति लिनुमा उसको गहिरो स्वार्थ लुकेको छ ।
अमेरिकाको दृष्टिकोणबाट हेर्दा पछिल्ला पाँच दशकमा अमेरिकी भू–राजनीतिक रणनीतिको सबैभन्दा ठूलो सफलता भनेकै रुस र चीनलाई अलग राख्नु थियो । शीतयुद्धकालमा एक अर्काबाट टाढिएका यी दुई राष्ट्रहरु पछिल्लो दशकमा अमेरिकाकै कारणले झन् नजिकिए । विश्व अर्थतन्त्रमा चीनको साइज बढ्दै जानु र रुस विश्वको जियोपोलिटिकल ल्यान्डस्केपमा प्रभावशाली फ्याक्टर बन्दै जानुले ट्रम्प सी जिन पिङ र भ्लादमिर पुटिनको ब्रोम्यान्सलाई छुट्याउन चाहन्छन् ।
ट्रम्प एउटा नयाँ दृष्टिकोण अपनाउँदैछन्, जहाँ युक्रेनको कुरा मात्र होइन, उनका सन्देशले स्पष्ट रुपमा युरोपेली महादेशभरि गहिरो प्रभाव पार्नेछ । यो भू–राजनीतिक सन्तुलनमा एक ठूलो परिवर्तनको संकेत हो । अमेरिका आफैंले स्थापित गरेका नियमहरु र संस्थाहरुबाट एकपक्षीय रुपमा पछाडि हट्नु स्वभाविक रुपमा अस्थिरतापूर्ण छ र यसले भविष्यमा नयाँ द्वन्द्वहरु निम्त्याउने उच्च जोखिम बोक्छ ।
यो ग्लोबल पोलिटिक्स अप्रत्यासित देखिन्छ । तर यो १९४५ पछि स्थिर रहेको अन्तर्राष्टिय नियममा आधारित व्यवस्थाको अन्त्यको सुरुवात हुनसक्छ । अझ विश्लेषण गर्ने हो भने, यो बढ्दो रुपमा १८ औं र १९ औं शताब्दीदेखि प्रभुत्व गुमाएको शक्ति नै सही हो भन्ने साम्राज्यवादी राज्य मोडेलको पुनः उदय जस्तो देखिन्छ ।
डोनाल्ड ट्रम्प र उनको टोली अमेरिकालाई नयाँ विश्व व्यवस्थामा अमेरिका फस्र्टको दृष्टिकोणबाट अघि बढाउन चाहन्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेश नीतिको नयाँ दिशा विश्व व्यवस्थामा गहिरो प्रभाव पार्ने दिशामा छ । वाल स्ट्रिट जर्नलको एक लेखमा उल्लेख गरिएको छ कि, ट्रम्प अमेरिकालाई विश्व नेतृत्वको भार वहन गर्न चाहँदैन, उनको दृष्टिकोण अनुसार अमेरिकाले सयौं अर्ब डलर अर्च गरेर पूरै क्षेत्रहरुलाई सुरक्षा प्रदान गर्ने युगको अन्त्य हुँदै गएको छ ।
ट्रम्पले अमेरिकाको राष्ट्रिय हितलाई संकीर्ण परिभाषामा सारेर आफ्नो संसाधनहरुलाई केन्द्रित गर्ने नीति अपनाउदै आइरहेका छन् । यसको अर्थ हो, अब अमेरिकाले त्यस्ता क्षेत्रहरुमा हस्तक्षेप कम गर्नेछ । यस नयाँ दृष्टिकोणले विश्व व्यवस्थामा गहिरो प्रभाव पार्नेछ । जसले अन्य देशहरुलाई आफ्नो सुरक्षा र स्थिरताको लागि आफैं जिम्मेवारी लिन बाध्य बनाउनेछ र यो परिवर्तनले अमेरिकाको विश्वमा रहेको भूमिका र प्रभावलाई पुनः परिभाषित गर्ने प्रयास देखाउँछ ।
युरोपका शक्ति विशेषगरी पश्चिमी लोकतन्त्र देशहरु ट्रम्पको यो नयाँ भू–राजनीतिक परिप्रेक्ष्यप्रति चितिन्त बनिसकेका छन् । शुक्रबारको घटनापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पछाडि युरोपका सबै नेताले समर्थन देखाउनु स्वाभाविक थियो । ट्रम्पको टिमले बुझेको कुरा के हो भने, यो विश्व व्यवस्था अब मल्टिपोलार संरचनामा प्रवेश गरिसकेको छ, जहाँ अमेरिका अझै पनि सबैभन्दा शक्तिशाली राष्ट्रका रुपमा त छ तर पोस्ट कोल्ड वार अवधिमा जस्तै एकलौटी रुपमा विश्व व्यवस्थालाई नियन्त्रण गर्ने क्षमतामा छैन ।
ट्रम्पले अमेरिकाको इतिहास राम्ररी बुझेका छन् । ८० वर्षको अमेरिकी प्रभुत्वबाट पछाडि फर्किंदै ट्रम्प हालको विश्व परिप्रेक्ष्यअनुसार समायोजन गर्दै मुनरो डक्टरिनको नयाँ संस्करणलाई ब्युँझाउन चाहन्छन् ।
समग्रमा ट्रम्प अहिले एउटा नयाँ भू–राजनीतिक आकांक्षा राख्दैछन् । यो बदलिँदो विश्व व्यवस्थासँगै अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिक परप्रेक्ष्यमा अमेरिका फेरि नम्बर एक बन्न चाहन्छ । तर यस पटकको दौडमा अमेरिकाको सुपरपावर इलिमेन्टमा पैसा र प्रोफिटसँगै शक्ति प्रमुख स्थानमा रहनेछन् । र यो इकोसिस्टममा मित्रहरु फेरिन सक्छन् र शत्रुहरुको किटानी विस्तारै हुँदै जानेछ ।
प्रतिक्रिया 4