
२१ फागुन, काठमाडौँ । अक्षरा स्कुलले १५औँ वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसै क्रममा विगतका सम्पूर्ण गतिविधिलाई स्मरण गर्दै स्कुलले बुधबार नेतृत्व विकासका विविध आयाम विषयक अन्तक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयकी कार्यकारी निर्देशक अन्जु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञहरूसहित विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथि वक्ताका रूपमा किङ्स कलेज, काठमाडौँका अध्यक्ष नरोत्तम अर्याल, मिस नेपाल २००५ सुगारिका केसी, उद्यमी वेदिका मुरारकालगायतको सहभागिता रहेको थियो।
नेतृत्व विकासका आधारभूत विषयलाई प्रकाश पार्दै अतिथि वक्ता अर्यालले संसारलाई जित्न पहिला आफूलाई जित्नुपर्ने र यसका लागि अध्ययन महत्त्वपूर्ण रहेको बताए। त्यस्तै मिस नेपाल सुगारिका केसीले नेतृत्व विकासका लागि विविध क्षेत्रका सफल व्यक्तित्वका गुणलाई आफूमा खोज्नुपर्नेमा जोड दिइन् ।
उनले विद्यार्थीलाइ त्यस्ता गुण र क्षमता आफूभित्रै खोज्नुपर्ने र ती गुण वा क्षमताको विकास गर्नुपर्ने बताइन् । सबैभन्दा बढी आफू सक्दिनँ भन्ने भावनालाई जित्नुपर्छ र आफूमा सबैभन्दा बढी लगानी गर्नुपर्छ, यसले नै नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ, उनले भनिन् ।
विविध विषयका पुस्तक
यस्तै उद्यमी मुरारकाले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि मनस्थिति बलियो बनाउन सक्नु नै नेतृत्वकर्ताको महत्वपूर्ण गुण रहेको बताए । अभिभावकलगायत वक्ताहरूले नेतृत्व क्षमता विकासको गुण परिवारबाट प्राप्त हुने र त्यसमा पनि आमाको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए । साथै जुनसुकै कठिन अवस्थामा पनि लड्न तयार हुने गुण नेतृत्वकर्तामा हुनुपर्छ भन्ने उनीहरुको निष्कर्ष थियो ।
कार्यक्रममा विद्यालयकी कार्यकारी निर्देशक भट्टराईले विद्यालयले विगतदेखि नै यस्ता क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम गर्दै आएको बताइन् । विद्यार्थीले अवसर पाए आफूमा रहेको क्षमता वा सिप प्रस्फुटन गर्ने, सानैदेखि गरेका वा पाएका निर्देशनले जीवनका पाइलापाइलामा सहयोग गर्ने भएकाले पनि उनीहरूबीच भएका क्षमता खोजेर उनीहरूलाई प्रस्तुतिको अवसर दिनुपर्ने बताइन्।
उनका अनुसार विद्यालयले नेपाली माटो वा देश सुहाउँदो शिक्षामा जोड दिएको छ । वर्षभरि सिकेका सिपलाई औपचारिक कार्यक्रममा प्रस्तुत गर्ने अवसर दिएमा उनीहरूले उच्च शिक्षाका क्रममा त्यसलाई विकास गर्दै लैजानेमा आफू ढुक्क रहेको उनले बताइन्।
बालसुलभ मानसिकताले नक्कल गरेर, अवलोकन, अन्वेषण गरेर वा कुनै पनि माध्यमले अवधारणा बनाई जग बसाल्ने भएकाले विद्यालयस्तरका बालबालिकामा पर्याप्त मात्रामा लगानी गर्नुपर्नेमा उनले जोड दिइन्।
विद्यालयले स्थापनाकालदेखि नै संस्कार युक्त शिक्षाको मूल मर्मअनुसार शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुमा नेतृत्वको विकास र वृद्धिलाई सदैव प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । यही उद्देश्य प्राप्तिका लागि विद्यालयले १५औँ वार्षिकोत्सव अवसरमा नेतृत्वदायी भूमिका विषयक विभिन्न कार्यक्रम गरेको हो ।
विद्यार्थीलाई भविष्यमा विश्वव्यापी बजारमा प्रतिस्पर्धी र अब्बल बनाउने विद्यालयको मिसन र भिजनअनुसार नै यस्ता कार्यक्रमहरु आयोजना गरेको र सफलतापूर्वक सम्पन्न गरेकोमा विद्यालय परिवारले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया 4