
१३ फागुन, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ अदुवाबारीमा ६ दिनअघि कुटपिटबाट छोराको मृत्यु भएपछि बाबुआमालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
मकवानपुर प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा बाबु ६३ वर्षीय मीनबहादुर र आमा ६४ वर्षीया देवीमाया भ्लोनलाई आज बुधबार मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेको हो ।
१५ फागुन राति मुखमा मास्क लगाएर चोर आएको आशंकामा भ्लोन दम्पतीले प्रतिकार गर्दा उनका आफ्नै जेठा छोरा ३९ वर्षीय भरथकुमार भ्लोनको कुटपिटबाट मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । टाउको फुटेको अवस्थामा गम्भीर भरथको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा १६ फागुन दिउँसो मृत्यु भएको थियो ।
घटनामा दुवै पक्षबीच हानाहान हुँदा भ्लोन दम्पती पनि घाइते भएका थिए । उनीहरूलाई भक्तपुरस्थित इवामुरा हस्पिटलमा उपचार पश्चात प्रहरीले मकवानपुर ल्याएको हो । मुखमा मास्क लगाएर चोर आएको आशंकामा घरमा एक्लै बस्दै आएका मीनबहादुर र देवीमायाले भान्सामा भेटिएका घरेलु वस्तुले प्रहार गर्दा भरथको टाउको फुटेको डिएसपी अर्यालले बताए ।
भरथ चार छोरामध्ये जेठा थिए । ‘आगो फुक्ने ढुंग्रो र कोइला समात्ने फलामको चिम्टाले प्रहार गर्दा भरथको खप्पर फुटेर टाउकोमा रगत जमेको थियो,’ डिएसपी अर्यालले भने, ‘बाबु मीनबहादुरको करङ भाँच्चिएको छ भने आमा देवीमायाको बायाँ हात भाँच्चियो ।’
ढिँढो खाँदै गर्दा भरथले आमा देवीमायाको आँखामा खुर्सानीको धुलो छ्यापिदिएपछि मीनबहादुरले प्रहार गरेको उनले बताए । उनीहरूले घटना कुटपिटसम्म पुग्दासम्म पनि छोरा भनेर नचिनेको प्रहरीलाई बताएका छन् ।
कोभिड–१९ को महामारीपछि मृतक भरथ काठमाडौं गएका थिए । काठमाडौं गएको चार वर्षपछि मात्रै उनी गत बिहीबार राति घर फर्किएको प्रहरीले जनाएको छ । चार छोरामध्ये कान्छा हरिकृष्ण गाउँमै बाबुआमाको घर नजिकैको अर्को डाँडामा बस्दै आएको, काठमाडौंमा बस्ने माइला नवराज होटलमा कुक र साइला हरिविष्णु पेन्टरको काम गर्दै आएका छन् ।
प्रतिक्रिया 4