+
+
Shares

पोल्टाकै गुमाएका प्रकाशमानको नजर सभापतितर्फ

काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान सिंह सधैं हावी रहे । १४औं महाधिवेशनबाट भने उपत्यकाको पार्टी संरचना उनको पक्षमा देखिँदैन । तैपनि, सिंहले केन्द्रीय सभापतिको स्पर्धामा फेरि उत्रने संकेत गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ फागुन २१ गते २१:५८

फागुन २१, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिबाहेक प्रकाशमान सिंह पुग्न बाँकी कुनै पद छैन । सरकारमा दोस्रो बरियतामा रहेका सिंहले पार्टीको उपसभापति तथा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

विगतमा प्राप्त पदीय भूमिकाको बलमा सिंहले यसले यस पटक पार्टीको सर्वोच्च पदमा पुग्ने आकांक्षा दोहोर्‍याएका छन् । उनी १४औं महाधिवेशनमा सभापति उठेर पराजित भएका थिए ।

आइतबार सुर्खेतमा पत्रकारलाई प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहेका सिंहले पार्टी सभापति पदमा उठ्ने आसय व्यक्त गरे । पारिवारिक बिरासत र विगतको भूमिकाले सभापति दाबी गर्नु स्वभाविक रहेको उनको तर्क थियो ।

सिंह निकट बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादे सभापतिको उम्मेवार बन्नकै लागि सिंहबाट यस्तो अभिव्यक्ति आएको बताउँछन् । ‘उहाँ सभापति र प्रधानमन्त्री हुन बाँकी हो । सभापतिमा उठ्नकै लागि भन्नुभएको हो,’ वादेले अनलाइनखबरसँग भने ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह विद्यार्थी राजनीतिबाट मूल पार्टीमा प्रवेश गरेका हुन् । १०औं महाधिवेशनअघि उनी काठमाडौं कांग्रेसका सभापति थिए । १०औं महाधिवेशन नजिक तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले १६ जिल्ला समिति भंग गर्दा काठमाडौंबाट सिंहलाई पनि हटाएका थिए । काठमाडौंको सभापति भएसँगै राजधानीको आन्तरिक पार्टी संरचनामा हावी भएका सिंह कांग्रेसको पहिलो निर्वाचित महामन्त्री समेत हुन् ।

गुमाए उपत्यकाको शक्ति

काठमाडौं सभापतिको जगमा उपत्यकाको संगठनमा एकाधिकार जमाएका सिंहको शक्ति अघिल्लो महाधिवेशनसम्म कायमै थियो । यही शक्तिको बलमा १४औं महाधिवशेनमा सभापति उठेका सिंहले ३७१ मत प्राप्त गरे अनि दोस्रो चरणको मतदानमा सभापतिमा शेरबहादुर देउवालाई सघाए ।

सिंहका ‘बलियो खम्बा’का रुपमा नेता/कार्यकर्ताले अहिले साथ छोडिसकेको काठमाडौंका कांग्रेस नेताहरु बताउँछन् । महाधिवेशनअघि अधिकांश समय सिंहसँगै जिल्ला भ्रमणमा निस्कने काठमाडौंका सभापति सबुज बानियाँ पनि उनीबाट टाढिएको उनीहरुको दाबी छ । जिल्ला तहका एक नेता भन्छन्, ‘काठमाडौंमा कांग्रेसको संरचना प्रकाशमान दाइको पहुँचबाट बाहिर गइसक्यो । अहिले उपत्यकामा गगनजी हावी हुँदै गएको देखिन्छ ।’

तर, कांग्रेस बागमती प्रदेशका महामन्त्री वादे पार्टीमा आफू अनुकूलको हल्ला गर्नेहरुले बानियाँले सिंहको साथ छोडे भनेर हल्ला फिजाएको बताउँछन् ।

लामो समयसम्म सिंहको स्वकीय सचिव रहेका श्रीराम लामिछाने पनि महामन्त्री गगन थापाको पक्षमा खुलेर लागेका छन् । काठमाडौ–४ का बासिन्दा लामिछानेले अघिल्लो महाधिवेशनसम्म सिंहलाई साथ दिएका थिए ।

सिंह संगठनमा कमजोर हुँदै जानुमा पार्टी नेताहरु मूलतः तीन विषयलाई आधार मान्छन् । पहिलो, गत महाधिवेशनमा अपेक्षाकृत मत पाउन नसक्नु । दोस्रो, काठमाडौंको मेयरमा श्रीमतीलाई अघि सार्नु । र, तेस्रो, टिकट वितरणमा प्रभावी हुन नसक्नु ।

सिंहले आफ्नै क्षेत्र अन्तर्गतको प्रदेश सभामा प्रतिस्पर्धा गरेका सुरजचन्द्र लामिछानेलाई समेत आफूसँग राख्न सकेनन् । काठमाडौं–१ प्रदेशतर्फ (ख) मा जितेका लामिछाने हाल महामन्त्री थापा नजिक छन् । लामिछाने थापाकै बलमा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।

यस्तै केन्द्रीय सदस्य प्रतिमा गौतम पनि महामन्त्री थापाको पक्षमा खुलेर लागेकी छन् । ‘पार्टी र काठमाडौंको राजनीतिमा गगन लामो रेसमा रहेकोे सबैले बुझिसके,’ जिल्ला तहका नेता भन्छन्, ‘राजनीतिक भविष्य हेर्दै अब समात्नुपर्ने गगन भएको बुझेर उनैलाई साथ दिनेहरु बढिरहेका छन् ।’

जिल्ला सभापति बानियाँले सिंहको साथ छोडेपछि जिल्ला र प्रदेश तहका कतिपय नेताहरु कतातिर लाग्नेमा ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । सिंहलाई साथ दिँदै आएका काठमाडौं–२ गोविन्द पुडासैनी, काठमाडौं–३ का छिरिङ दोर्जे लामा, काठमाडौं–५ का रमेश खड्का लगायत अहिले कतातिर लाग्नेमा ‘पर्ख र हेर’को अवस्थामा रहेको जिल्ला तहका नेताहरु दाबी गर्छन् ।

काठमाडौं–७ मा प्रकाशमानका लागि बलियो पिलर महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल थिए । रिजालको मृत्यु भइसकेको छ । कांग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी सपना राजभण्डारी पनि महामन्त्री थापाको पक्षमा सक्रिय भएकी छन् ।

प्रकाशमानलाई दरिलो साथ दिइरहेका नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतमाथि भ्रष्टाचारमा मुद्दा चलेपछि सिंहका लागि अर्को क्षति पुगेको छ ।

यस्तै केन्द्रीय सदस्य एवं काठमाडौं–१० का सांसद राजन केसीले २०७८ मा प्रकाशमान सभापतिमा उठ्दा हरसम्भव सहयोग गरेका थिए । तर अहिले उनी सबैलाई सन्तुलनमा राख्ने पक्षमा देखिएका छन् ।

महानगरका कांग्रेस सभापति निलकाजी शाक्य प्रकाशमानलाई दिँदै आएको साथबाट अरुतिर ढल्किन लागेको चर्चा पार्टी भित्र छ । ‘महानगरमा मेयरको टिकट उनलाई नदिएर प्रकाशमानले आफ्नै श्रीमतीलाई दिएदेखि नै निलकाजी असन्तुष्ट थिए,’ महानगर समितिका एक पदाधिकारी भन्छन् ।

बागमती प्रदेशका महामन्त्री वादे भने काठमाडौंको पार्टी संरचनामा सिंह कमजोर नभएको दाबी गर्छन् । ‘पार्टीमा स्पेस नपाएपछि केही मान्छेहरु यताउति हुनु ठूलो करा भएन । सबै साथीहरु तितरबितर भएजस्तो कसैलाई लागेको हुनसक्छ,’ वादेले अनलाइनखबरसँग भने, ‘अब दुई महिनापछि धेरै सिनहरु क्लियर हुन्छ । सबै मिल्छ ।’

पहिले सिंहको साथमा रहेका पार्टीका जिल्ला सभापति अहिले कोही पनि उनीसँग देखिँदैनन् । एक समय काठमाडौंका सभापति बानियाँ, चितवनका सभापति जीतनारायण श्रेष्ठ, पाल्पाका सभापति हिमाल श्रेष्ठ, सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाह लगायत सिंहको साथमा थिए ।

पार्टी संरचनामा सिंहलाई साथ दिनेको संख्या घट्दो छ । भ्रातृ संस्थामा समेत उनी निकटको संख्या न्यून छ । एक समय आफू पक्षधरलाई नेविसंघको महामन्त्री बनाएका थिए । नेविसंघको ७५२ जनाको केन्द्रीय समितिमा सिंह पक्षका दर्जन हारहारी मात्र रहेको विद्यार्थी नेताहरु बताउँछन् । अन्य भ्रातृ संस्थामा सिंह निकट भनेर परिचितहरु नगण्य रहेको भ्रातृ संस्थाका नेताहरुको दाबी छ ।
बागमती प्रदेश सभा सदस्यमा सिंह पक्षधर पाँच बढी सांसद रहेको उनी पक्षीय नेताहरुको दाबी छ ।

भीमसेनदास नजिकिए

पूर्वमन्त्री भीमसेनदास प्रधान भने प्रकाशमानसँग नजिकिएका छन् । काठमाडौं–६ का पूर्व सांसद प्रधान सिंहसँग नजिकिँदा जिल्ला सभापति बानियाँलाई उनीसँग टाढिन बल पुगेको छ । प्रधानका कारण बानियाँ काठमाडौं–६ मा टिकटबाट वञ्चित हुँदै आएका छन् ।

कृष्णप्रसाद सिटौलाको पक्षमा रहेका प्रधानलाई भित्र्याए पनि पार्टी संरचनामा बल थप्न भने सकेका छैनन् । ‘प्रकाशमानसँग भीमसेनदास व्यक्ति मात्रै गए । पूर्वसमूहका नेता/कार्यकर्ता लान सकेनन्,’ काठमाडौ–६ का एक नेताले सुनाए ।

उपप्रधानमन्त्रीको बलमा शक्तिको अभ्यास

सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्न सिंहलाई पठाएका छन् । उनी मन्त्रिपरिषद्मा दोस्रो वरियतामा छन् । उपप्रधानसहित सहरी विकास मन्त्री बनेका सिंहले पदको आडमा शक्ति बढाउने प्रयास त गरेका छन् । तर आफ्नै विश्वासपात्रलाई फर्काउन भने सकेका छैनन् ।

मन्त्री भइसकेपछि उनले विभिन्न जिल्ला पुगेर आफू पनि पार्टीमा एउटा शक्ति रहेको सन्देश दिने प्रयत्न गरे पनि पुरानै हैसियत भने कायम राख्न नसकेको कांग्रेस नेताहरु बताउँछन् । एक पूर्वपदाधिकारीले सुनाए, ‘बाहिर जिल्लामा घुम्दै गर्दा पहिले आफ्नो पोल्टाको त जोगाउन पर्‍यो नि । भुईंको टिप्न खोज्ने तर पोल्टाकै जोगिएको छैन ।’

सिंह संगठनमा कमजोर हुँदै जानुमा पार्टी नेताहरु मूलतः तीन विषयलाई आधार मान्छन् । पहिलो, महाधिवेशनमा अपेक्षाकृत मत पाउन नसक्नु । दोस्रो, काठमाडौंको मेयरमा श्रीमतीलाई अघि सार्नु । र, तेस्रो, टिकट वितरणमा प्रभावी हुन नसक्नु ।

‘झापाका कृष्ण सिटौलाले काठमाडौं–६ मा भीमसेनदासलाई टिकट दिलाउन सके । दुईपटक काठमाडौं सभापति बनेका सबुजलाई प्रकाशमानले उम्मेदवार बनाउन सकेनन्,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने ।

२ फागुनमा सभापति देउवालाई भेट्न जाने ११ जना नेताहरुमा सिंह पनि थिए । एकले अर्कोलाई विश्वास गर्ने अवस्थामा नरहेका उनीहरुले सिंहलाई उम्मेदवार बनाउन अन्यले छोड्ने अवस्था नरहेको कांग्रेस नेताहरु बताउँछन् । ‘प्रकाशमानको क्षमता १४औं महाधिवेशनमा सबैले देखिसके । उनलाई सभापतिको उम्मेदवारमा समर्थन गर्न कृष्ण सिटौला तयार छैनन्,’ शीर्ष तहका एक नेताले भने ।

प्रकाशमानलाई डा. शशांक कोइरालाले समेत समर्थन नगर्ने कारण समेत ती नेताले खुलाए ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?