२२ फागुन, काठमाडौं । कुनैपनि प्रतियोगिताको आयोजक टोली फाइनलमा नपुगेको दृश्य त हामीले धेरैपटक देख्दै आएका हौं । तर आयोजक राष्ट्रमै प्रतियोगिताको फाइनल नहुनु चाहिँ कमै देखिने दृश्य हो ।
अहिले जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा पनि त्यही अवस्था छ । पाकिस्तानमा सुरु भएको आईसीसी क्रिकेट ट्रफीको समापन भने पाकिस्तानबाहिर हुँदैछ । भारतीय क्रिकेट टिम पाकिस्तानमा खेल्न नजाने भएपछि भारत संलग्न खेलहरू दुबईमा भइरहेका छन् ।
भारत फाइनलका लागि छनोट भइसकेकाले खेल पाकिस्तानबाहिर अर्थात् दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुँदैछ । उपाधिका लागि उही पुरानो प्रतिद्वन्द्वी न्युजिल्याण्डसँग भारतले खेल्ने छ ।
भारतले चिरपरिचित प्रतिद्वन्द्वी अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका हुन् । ‘मिनी विश्वकप’ समेत भनिने यस प्रतियोगिता कसले जित्ला त ?
भारतले लामो समयपछि एकदिवसीय आईसीसी इभेन्टको उपाधि जित्ला वा भारतभन्दा बढी समय उपाधि पर्खिरहेको न्युजिल्याण्डले जित्ला ?
यस्तो छ इतिहास
सन् १९९८ देखि आईसीसी नकआउट प्रतियोगिताको नामले सुरु भएको यस प्रतियोगिताको दोस्रो संस्करणको उपाधि न्युजिल्याण्डले जितेको थियो, अर्थात् सन् २००० को संस्करणको उपाधि न्युजिल्याण्डले जितेको थियो ।
संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो । अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्याउने अवसर छ ।
त्यसैगरी लामो समयदेखि आईसीसीको लिमिटेड ओभर प्रतियोगितामा उपाधिको खडेरी तोड्ने अवसर पनि छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ ।
अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।
त्यसयता भारतले गतवर्षको टी-२० विश्वकप बाहेक अन्य आईसीसी इभेन्ट जित्न सकेको छैन । यस क्रममा भारत दुईपटक अस्ट्रेलिया र दुईपटक न्युजिल्याण्डकै हातबाट सेमि वा फाइनलमा पराजित हुँदै उपाधिबाट वञ्चित हुँदै आएको छ ।
सन् २०१५ को ओडिआई विश्वकप सेमिफाइनलमा अस्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको भारत सन् २०१९ मा न्युजिलयाण्डसँग स्तब्ध बनेको थियो भने सन् २०२३ को सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएपनि फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
यसबीचमा सन् २०२१ को टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि न्युजिल्याण्डसँगै पराजित भएको थियो ।
हालको प्रदर्शन
यस प्रतियोगिताको सुरुवातमा दुवै टोली एउटै समूहमा रहेका थिए । समूह ए मा रहेका यी दुई टोलीमध्ये भारत अपराजित छ भने न्युजिल्याण्डले एकमात्र हार समूह चरणमा भारतसँग व्यहोरेको थियो ।
बंगलादेश र पाकिस्तानलाई हराएको न्युजिल्याण्ड भारतसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि शानदार जित निकाल्दै न्युजिल्याण्ड फाइनलसम्म आइपुगेको छ ।
न्युजिल्याण्डको ब्याटिङ लाइनअप बलियो देखिँदा बलिङ रोटेसन पनि राम्रो देखिएको छ । भारतसँग समूह चरणमा खेल्दा पनि कन्डिसन अनुसार राम्रो प्रदर्शन गरेको न्युजिल्याण्ड ब्याटिङमा भने सम्हालिन नसक्दा हार व्यहोरेको थियो ।
शानदार लयमा रहेका ओपनिङ ब्याटर रचिन रविन्द्र र ब्याटर केन विलियमसनले भारतीय बलरलाई दु:ख दिन सक्छन् । केनसँगै टम लेथमले स्पीन राम्रो खेल्ने भएकाले यी खेलाडीहरूले सम्हालिएर ब्याटिङ गरेमा भारत दबाबमा हुनेछ ।
बलिङतर्फ पनि अनुभवी म्याट हेनरीले पेस तथा कप्तान मिचेल सान्टनरले स्पीनको आक्रमण सम्हालिरहेका छन् । उनीहरूलाई अन्य बलरहरूबाट पनि राम्रो साथ मिलेको छ ।
त्यस्तै समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएको भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै फाइनल यात्रा तय गरेको छ । भारत अपराजित रहँदै च्याम्पियन हुन चाहन्छ ।
भारतका लागि ब्याटिङमा विराट कोहली र श्रेयस अय्यर बलियो पक्ष हुन् । बलिङमा मोहम्मद शामीसँगै वरुण चक्रवर्तीले राम्रो गरिरहेका छन् भने अलराउण्डर अक्षर पटेलले ब्याटिङ र बलिङ दुवैमा योगदान दिँदै विपक्षीलाई दबाबमा राख्दै आएका छन् ।
यस्तोमा यो फाइनल खेल एक ‘हाइ भोल्टेज’ प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन । भारतले सुरुवातदेखि नै यही एउटै मैदानमा खेलिरहेको भएपनि न्युजिल्याण्डले पनि एकपटक यस मैदानमा खेलिसकेकाले त्यसले फरक पार्ने छैन ।
हालसम्म हेड टु हेड
भारत र न्युजिल्याण्ड एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म कुल ११८ पटक खेलेका छन् जसमा भारत ६१ खेलमा विजयी हुँदा न्युजिल्याण्ड ५० खेलमा विजयी भएको छ । एक खेल बराबरी हुँदा ७ खेल नतिजाविहीन थिए ।
आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर यी दुई टोली कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ ।
आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।
सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल तथा सन् २०१९ को विश्वकप सेमिफाइनल न्युजिल्याण्डले जितेको थियो भने भारतको एक जित सन् २०२३ को विश्वकप सेमिफाइनलमा थियो ।
प्रतिक्रिया 4