
२२ फागुन, काठमाडौं । आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा केयू डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको छ ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिने जनाएको छ ।
‘समितिले प्रतिवेदन पेश नगर्दाको अवधि सम्मका लागि मानसिक विभागमा कार्यरत शिक्षकहरुलाई शैक्षिक, चिकित्सकीय र एशोसिएट डीनको हैसियतमा काम काजमा संलग्न नगर्ने र नगराउने,’ सूचनामा भनिएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरेसँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर पाँच दिनभित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
काउन्सिलले आइतबार निलम्बित चार चिकित्सकसँग बयान लिइसकेको छ । तर, कारबाहीबारे ठोस निर्णय भएको छैन ।
काउन्सिल स्रोतका अनुसार आवासीय चिकित्सकले उपचारको कागजपत्र मगाइएको छ । ‘दुवै पक्षको बयान लिइसकेका छौं । आवासीय चिकित्सकको उपचारको कागजपत्र मगाएका छौं,’ स्रोतले भन्यो, ‘ केही दिनमा काउन्सिलको आकस्मिक बैठक राखेर निर्णय हुन्छ ।’
काउन्सिलको व्यावसायिक आचरण समितिका संयोजक डा. विश्वराज दवाडी, सहसंयोजक डा. कुन्जाङ शेर्पा र सदस्यहरू डा. आनन्दकुमार शर्मा, डा. रूपक बीके घिमिरे र राजेश्वर अधिकारीको पाँच सदस्यीय समितिले बयान थियो ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका प्रमुख डा. अजय रिसाल, सोही विभागका डा. दीपक कुँवर, डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई गत बुधबार नै एक हप्ता निलम्बन गरेको हो ।
आवासीय चिकित्सक समेत रहेकी उनले गत ४ फागुन (आइतबार) मा आत्महत्याको प्रयास गरेकी थिइन् । चिकित्सकले औषधिको ओभरडोज खाएपछि उनलाई मानसिक यातना दिएको खुल्नमा आएको थियो ।
आवासीय चिकित्सकले घटनाबारे आंशका जनाउँदै सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । घटना पहिलो नभई यसअघि पनि पटकपटक भएको उनीहरूको आरोप छ ।
विभागीय प्रमुख र एशोसिएट प्रोफेसरबाट पटक पटक दुर्व्यवहावर भएको उनीहरूको भनाइ छ । एक वर्षअघि पनि एक जना विद्यार्थीले दुर्व्यवहारकै कारण आत्महत्याको प्रयास गरेको तथा एक जना विद्यार्थी बीचमै पढाइ छोडेको आवासीय चिकित्सकले बताए ।
दुई साताभन्दा बढी समय बितिसक्दा पनि आत्महत्याको घटनाबारे कुनै सुनुवाई नभएको भन्दै आवासीय चिकित्सकले डीन कार्यालयमा शुक्रबारदेखि ताला लगाएका छन् ।
प्रतिक्रिया 4