जीवनमा अनेकौं परिस्थिति आइपर्छन् । जसले मन र मस्तिष्कलाई द्विविधामा पार्छ। कहिलेकाहीँ यस्ता परिस्थितिहरू सिर्जना हुन्छन्, जहाँ सत्य र भ्रमबीचको सीमारेखा नै धमिलो हुन्छ। यस्तो अवस्थामा सही निर्णय लिन कठिन हुन सक्छ, जसले मानसिक तनाव, अन्योलता निम्त्याउँछ।
कहिलेकाहीँ कुनै अप्रिय घट्नाले केही सेकेन्ड वा मिनेटका लागि सबैको जीवनमा हुनसक्छ । तर, दिनहुँजसो व्यक्तिको मन र मस्तिष्क भ्रमको चक्रव्यूह अल्मलिन्छ भने त्यो मानसिक समस्या भ्रम रोग हुनसक्छ ।
भ्रम रोग के हो ?
भ्रम रोग एक यस्तो मनोविकार हो । जसमा व्यक्तिले वास्तविक र काल्पनिक जीवनमा अन्तर गर्न सक्दैन। यस रोगमा व्यक्ति काल्पनिक कुरामा बढी विश्वास गर्छन । उसले विश्वास गरेको कुरालाई कसैले त्यो भ्रम मात्रै हो भन्यो भने उनीहरू पत्याउँदैनन् । कल्पनामा डुबिरहन्छन ।
भ्रम कयौं मानसिक रोगको लक्षण हुनसक्छ । जस्तै सिजोफ्रेनिया, गम्भीर प्रकारको डिप्रेसन, बाईपोलार डिसअर्डर । तर, भ्रम रोग नै भनेर किटान गर्न सकिने समस्या भनेको व्यक्तिमा मुख्य रुपमा भ्रमको मात्र समस्या हुन्छ ।
भ्रम रोग यस्तो अवस्था हो, जसमा रोग एक महिना वा त्यो भन्दा बढी पनि हुनसक्छ । यो रोग भएको व्यक्ति एक भन्दा बढी विषयमा भ्रमित हुन्छन् ।
जस्तो कि, मनपर्ने हिरो वा हिरोइनसँग प्रेममा भएको कल्पना गर्नु, आफ्नो पार्टनर बफादार नभएको शंका गर्नु, परिवारका सदस्य वा निकट व्यक्तिले उसका लागि षडयन्त्र गरिरहेको अनुभव हुनसक्छ । कुनै रोग नहुँदा पनि ठूलो रोग लागिरहेको छ भन्ने भ्रम पैदा भइरहनसक्छ ।
कारण
अन्य मानसिक समस्याजस्तै भ्रम रोगको ठोस कारण अहिलेसम्म पत्ता लागिसकेको छैन । यद्यपि, अनुवांशिक, जैविक र केही वातावरण यसका लागि जिम्मेवार मानिन्छ ।
अनुवांशिक कारण
पहिला नै बाबुआमा मध्ये कसैलाई भ्रम रोग वा सिजोफ्रेनिया थियो भने सन्तानमा पनि हुनसक्छ ।
जैविक कारण
स्नायुमा रसायनको सन्तुलन बिग्रिँदा पनि यो समस्या आउनसक्छ । मस्तिष्कको केही भागमा हानि पुग्दा पनि भ्रम रोग हुनसक्छ ।
आघात
बाल्यकालमा घटेको अप्रिय घटना दिमागमा बसिरहेको, आघात र कुनै कुरा बाहिर नआएको तर वषौंदेखि बोझ मनमा रहिँरहदा पनि पछि यो समस्या भ्रम रोगमा परिणत हुनसक्छ ।
यो बाहेक लागुऔषध गर्ने, मानसिक र भावनात्मक रुपमा कमजोर, आत्मबल कम भएको, पहिले देखिनै एक्लै बस्ने, शंकालु स्वभाव भएको समस्या जस्तै अन्य लक्षणले पनि प्रभावित पारिहरेको अवस्थामा पनि भ्रम रोग नहोला भन्न सकिन्न।
अन्य मानसिक रोगको संकेत हो वा भ्रम रोग कसरी छुटयाउने ?
डिमेन्सिया, सिजोफ्रेनिया, बाईपोलार डिसअर्डर जस्ता रोगमा भ्रमसहित अन्य अस्वभाविक लक्षण देखिन्छन् । उनीहरूको दैनिक जीवन बिग्रिरहेको हुनसक्छन् । उनीहरू भड्किलो हुने, एकैछिनमा खुसी, उदास, रुने, एक्लै बस्ने, भाग्ने जस्ता लक्षण पनि देखा पर्छ ।
तर, भ्रम रोगमा एक किसिमको भ्रम भइरहन्छ । त्यो वास्तिविक लाग्छ । दैनिकी उनीहरूको सामान्य जस्तै हुन्छ । अर्को व्यक्तिले उसको हाउभाउ र व्यवहारबाट समस्या छ भनेर पत्ता नलगाउन पनि सक्छन् ।
भ्रम रोगमा के कस्ता लक्षण देखिन्छ ?
-शंका गर्ने, व्यवहारमा पनि शंका गरेको देखिने ।
-आफूलाई शोषणको शिकार सम्झिने ।
-आफूमा अलौकिक शक्ति आएको सोच्ने ।
-स-साना घट्ना वा सन्दर्भमा पनि डरलाग्दो किसिमको अर्थ निकाल्ने र त्यहीबारे सोचिरहने । डराउने ।
-कुनै कुरामा तुरुन्त प्रतिक्रिया दिने वा देखाउने ।
-सजिलै उत्तेजित हुने ।
-मानसिक खतराबाट बच्दै आफूलाई हानि गर्ने ।
-सामाजिक सम्बन्धमा समस्या हुने ।
-जानेरै आफूलाई एक्लै बनाउने वा बस्ने ।
-भ्रम कसैले भनिदिँदा झगडा गर्ने र स्वीकार्न तयार नहुने ।
-कहिलेकाहीँ आक्रामक भइदिने ।
-कसैले बोल्दा उसको विपरीत मात्र बोल्ने ।
उनीहरूमा मुख्य लक्षण भनेको अरू व्यक्तिलाई शंका गर्ने र विश्वास नगर्ने बानी बस्ने र यो लामो समयसम्म रहने ।
पहिचान कसरी हुन्छ ?
यस्ता बिरामी पहिचान गर्न हाउभाउ र उसलाई गरिने प्रश्नको जवाफबाट आकलन गरिन्छ । परिवारको सदस्यबाट पनि जानकारी लिइन्छ । उनीहरूको कुराबाट भ्रम नै हो भनेर पुष्टी भएमा भ्रम हो भनेर सम्झाउँदा स्वीकार्न चाहेनन् भने पनि यो समस्याबारे थाहा हुन्छ ।
भ्रमबाहेक अन्य मानसिक रोगको संकेत हो कि भनेर पनि हेरिन्छ । सबैकुरा विचार गर्दा बढी भ्रममै रहेको पाइएमा भ्रम रोग भनेर ठहर गरिन्छ ।
के यो समस्याको उपचार सम्भव छ ?
यो समस्याको उपचार सम्भव छ । यदि सम्हाल्न गाह्रो अवस्था छ भने अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । तर, अवस्था सामान्य छ भने औषधि सिफारिस गरिन्छ ।
त्यो औषधिले डोपामाइन र सेरोटोनिन नामक न्यूरोट्रान्समिटरलाई रोक्न मद्दत गर्छ। जुन अत्याधिक हुनु भ्रमको मुख्य कारक हुन । यसले दिमाग शान्त पार्ने र भ्रमलाई विस्तारै तोड्दै लान मद्दत गर्छ । सीमित समयसम्म औषधि खाए पछि यो समस्या निको हुनसक्छ ।
जटिलता
यो समयको पहिचान तथा उपचार भएन भने बिरामीले आफूलाई हानि गर्ने अरुलाई पनि हानि गर्ने समेत हुनसक्छ । कहिलेकाहीँ यस्ता बिरामीले भ्रममै रहेर आत्महत्यासम्मको बाटो रोज्न सक्छन् ।
प्रतिक्रिया 4