+
+
Shares

सरकारले पठाएको रकमले २ महिनाको बीमा भुक्तानी गरिने, अझै १६ अर्ब भुक्तानी गर्न बाँकी

सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त रकम र थप बोर्डले संकलन गर्ने प्रिमियमबाट लगभग ४ अर्ब गरेर गत आर्थिक वर्षको बक्यौता तिरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १४:३९

२२ फागुन, काठमाडौं। सरकारले हालै विनियोजन गरेको ३ अर्ब रुपँयाले स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने दुई महिनाको वक्यौता भुक्तानी हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड स्रोतका अनुसार उक्त रकमले यो आर्थिक वर्षको साउन र भदौंको बक्यौता तिरिने भएको हो ।

‘असारसम्मको केही भुक्तानी गर्न बाँकी छ। अहिले विनियोजन गरेको रकमले थप दुई महिनाको भुक्तानी तिर्न सकिन्छ भन्ने हो,’ बोर्डको उच्च स्रोतले भन्यो, ‘अहिलेसम्म बोर्डले १६ अर्ब भन्दा बढी भुक्तानी तिर्न बाँकी नै छ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त रकम र थप बोर्डले संकलन गर्ने प्रिमियमबाट लगभग ४ अर्ब गरेर गत आर्थिक वर्षको बक्यौता तिरेको छ।

त्यसैगरी अर्थ मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड विनियोजन गरेको छ ।

बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा पटक पटक अर्थ मन्त्रालयमा पत्र पठाइरहेको छ । उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान गरिएको छ ।

लामो समय बीमाले भुक्तानी दिन नसक्दा अस्पतालले सेवा रोक्ने गरेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बजेट अभावमा अस्पताललाई भुक्तानी दिन नसक्ने बताउँदै आइएका छन् ।

सरकारले पछिल्ला वर्षमा वार्षिक स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड दिंदै आएको छ । तर यस वर्ष ४५ अर्बभन्दा बढी रकम भुक्तानी गनुपर्ने अवस्था रहेको उनले बताए ।

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य बीमाबाट अस्पतालले हालसम्म दिएको सेवाको रकम भुक्तानी गर्ने विषयमा अन्यौल सृजना भएपछि स्वास्थ्य र अर्थ मन्त्रालय छलफलको तय गरिएको छ ।

आर्थिक दायित्व बढ्दै गएको बीमा बोर्डको कार्यकारी निर्देशक र अध्यक्ष भने रिक्त रहेको छ । अर्को हप्तासम्म दुवै नियुक्त हुने अपेक्षा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?