+
+
Shares

बैंकिङ सेक्टरमा म्युचुअल फन्डको लगानी उच्च, यी हुन् रोजाइका कम्पनी

माघ मसान्तसम्म म्युचुअल फन्डले ५७ अर्ब २९ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेका छन् । जसमध्ये दोस्रो बजारमा ७६.१३ प्रतिशत अर्थात् ४३ अर्ब ६२ करोड रुपैयाँ बराबर लगानी गरेका छन् ।

कमल नेपाल कमल नेपाल
२०८१ फागुन २२ गते १७:०६

२२ फागुन, काठमाडौं । ठूला संस्थापक सेयरधनी म्युचुअल फन्डले सबैभन्दा धेरै लगानी वाणिज्य बैंकहरुको सेयरमा गरेका छन् । म्युचुअल फन्डहरुको माघ मसान्तसम्मको तथ्यांकअनुसार कुल लगानीको ३७.५ प्रतिशत लगानी वाणिज्य बैंकहरूको सेयरमा छ ।

माघ मसान्तसम्म म्युचुअल फन्डले ५७ अर्ब २९ करोड रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेका छन् । जसमध्ये दोस्रो बजारमा ७६.१३ प्रतिशत अर्थात् ४३ अर्ब ६२ करोड रुपैयाँ बराबर लगानी गरेका छन् ।

त्यस्तै १६.१८ प्रतिशत अर्थात् ९ अर्ब २७ करोड रुपैयाँ नगदमा छन् । यो रकम उनीहरुले चाहेका बेला सेयर बजारमा परिचालन गर्छन् । त्यस्तै ७.६७ प्रतिशत अर्थात् ४ अर्ब ३९ करोड रुपैयाँ मुद्दती निक्षेपमा जम्मा गरेका छन् । म्युचुअल फन्डले बढीमा १५ प्रतिशतसम्म रकम मात्रै मुद्दती निक्षेपमा लगानी गर्न पाउँछन् ।

साउनदेखि माघ मसान्तसम्मको तुलनात्मक वित्तीय विवरणअनुसार म्युचुअल फन्डको कुल आकार घटेको छ । साउन मसान्तसम्म फन्डहरुको आकार ६१ अर्ब रुपैयाँ बराबर रहेको थियो ।

केही बन्दमुखी योजनाको समयावधि सकेर खारेजीमा गएसँगै फन्डको आकार घटेको हो । ‘सिटिजन्स म्युचुअल फन्ड १’ तथा ‘सानिमा इक्वीटी फन्ड’ हालै खारेजी भएका थिए ।

कुन कुन सेक्टरमा कति छ लगानी ?
वाणिज्य बैंकपछि हाइड्रोपावर सेक्टरमा ११.७१, विकास बैंकमा ११.६६, जीवन बीमामा १०.५५, निर्जीवन बीमामा ९.९०, माइक्रोफाइनान्समा ८.६३ प्रतिशत लगानी गरेका छन् ।

बाँकी १० प्रतिशत लगानी उत्पादन, होटल तथा पर्यटन, संस्थागत फन्ड, अन्य लगायत सेक्टरमा लगानी गरेका छन् ।

कस्ता कम्पनी छन् रोजाइमा ?
म्युचुअल फन्डमा कम्पनीहरूको अध्ययन, अनुसन्धान गर्नका लागि रिसर्च टिम खडा गरिएका हुन्छन् । सोही टिमले विभिन्न सूचकहरुलाई केलाउँछन् । रिसर्च टिमले गरेको अध्ययनअनुसार व्यवस्थापन टिमले कम्पनीहरू छनोट गर्छन् ।

‘म्यानेजमेन्ट टिमले निश्चित सेक्टरबाट छनोट गर्ने कम्पनीबारे रिसर्च टिमसँग समन्वय गरिरहन्छ’ एक मर्चेन्ट बैंकका सीईओले भने ‘मूल्य बढेर नाफा देखिएका कम्पनी बेच्ने, थप बढ्ने देखिएमा होल्ड गर्ने र घटेर औसतभन्दा तल आएका बेला किन्ने जस्ता रणनीति लिइएको हुन्छ ।’ म्युचुअल फन्डले पनि सेयरबाट गरेको आम्दानीबाट इकाइधनीलाई लाभांश दिने गर्छन् ।

माघ मसान्तसम्म म्युचुअल फन्डको होल्डिङ सेयर संख्या र लगानी रकम

कम्पनीको विश्लेषण गर्न नसक्ने तर सेयर बजारमा लगानी गर्न चाहनेका लागि म्युचुअल फन्डको रोजाइमा परेका सेयर विकल्प हुन सक्छन् । हरेक महिना म्युचुअल फन्डले आफ्नो लगानी विवरण सार्वजनिक गर्दै आएका छन् । यहीं विवरणमा कुन कम्पनीमा कति रकमको सेयर लगानी भएको छ भनेर स्पष्ट उल्लेख गरिएको हुन्छ ।

म्युचुअल फन्डले लगानी गरेका कम्पनी र लगानीको औसत मूल्य र बजार मूल्य समेत तुलना गरेर साधारण लगानीकर्ताले रणनीति बनाउन सक्ने उनले बताए । ‘न्यून मूल्यमा आएकै बेला अथवा म्युचुअल फन्डको औसत लागतभन्दा तल झरेको अवस्थामा ती कम्पनीको सेयर किन्नेले नोक्सानी ब्यहोर्न पर्दैन’ उनले भने ।

म्युचुअल फन्डले कुनै कम्पनीको भाउ घट्नेजस्तो देखेमा स्टप लस गर्ने वा एभरेजिङ गर्नेगरी तयारी अवस्थामा रहन्छन् । ‘सर्वसाधारणले त्यहीं कम्पनी म्युचुअल फन्डले बेचेका बेला टुप्पोमा किन्ने, घटेका बेला एभरेजिङ गर्न नसक्ने हो वा झन् डराएर बेच्ने हो भने त नोक्सानी पनि हुन सक्छ’ उनले भने ।

लगानीकर्ता सुवासचन्द्र ढुंगाना म्युचुअल फन्डको होल्डिङ सेयर र उनीहरुले तत्कालै गरिरहेको कारोबारअनुसार सर्वसाधारणले लगानी रणनीति बनाउन सक्ने बताउँछन् । ‘म्युचुअल फन्डले खरिद गरेको औसत प्रतिइकाइ मूल्य थाहा भएपछि, बजारमा सोभन्दा तल झरेको अवस्थामा खरिद उपयुक्त हुन सक्छ’ उनले भने ।

म्युचुअल फन्डले छोटो छोटो समयमा कारोबार गरिरहने भएकाले उनीहरुको होल्डिङ भनेर मात्रै खरिद गर्न नहुने उनको भनाइ छ । ‘त्यहाँ विज्ञ हुन्छन्, उनीहरुको रोजाइका कम्पनी राम्रा हुन्छन्, तर ती कम्पनी सधैं होल्ड नगर्न सक्छन्, उनीहरुले बेचेका बेला मूल्य घट्ने जोखिम पनि हुन्छ, त्यो अध्ययन गर्नुपर्छ ।’

म्युचुअल फन्डले दैनिक रुपमा सेयर कारोबार गरिरहेका हुन्छन् । सेयर मूल्य बढेका बेला नाफा लिएर बेच्ने र घटेका बेला खरिद गर्छन् ।

लेखक
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?