+
+
Shares

कर्मचारीको पद र हैसियतको हवाला

इमान्दारले गर्व गर्ने र दोहनकारीले पश्चाताप गर्ने अवस्था निर्माण हुन भ्रष्टाचारको विरोध गर्ने मात्र हैन, सदाचार र इमान्दारिताको कदर गर्ने सामाजिक सोच र व्यवहार जरुरी छ।         

मेघ राज शंकर मेघ राज शंकर
२०८१ फागुन २३ गते ७:३१

सरकारी सेवामा काम गर्ने प्रायले भन्ने गर्छन्- सोझो र पहुँच नहुने कर्मचारीलाई टिक्न गाह्रो छ। विषेशगरी पदस्थापन र सरुवाका बेला कर्मचारीको यस्तो गुनासो र असन्तुष्टि धेरै सुनिन्छ।

हुनत; सार्वजनिक सेवा प्रवाहमा कुन कर्मचारी कुन पद वा दर्जाको हो, कति वर्षको अनुभव भएको हो वा कताबाट सरुवा भएर आयो भन्ने कुरा आम सेवाग्राहीका लागि उति चासोको विषय होइन।जोसुकै भए पनि काम सरल र सहज तवरले सम्पन्न भयो भने त्यो नै असल र सक्षम कर्मचारी हो।

कुनै सरकारी कार्यालयमा सेवा लिन जाँदा कुनै सेवाग्राहीले हैरानी व्यहोरेको रहेछ भने त्यस्तो सेवाग्राहीले कर्मचारीको सेवा-सुविधाको समाचार सुन्ने बित्तिकै विरोध गर्नु पनि स्वभाविक हो।तर यससँगै जोडिएको विषय के पनि हो भने कर्मचारीको अनुभव, क्षमता, उत्प्रेरणा र प्रतिवद्धताले सेवाको गुणस्तर पक्कै फरक पर्छ। त्यसैले भन्ने गरिन्छ, ठिक ठाउँमा, ठिक समयमा, ठिक व्यक्ति हुनुपर्छ।

धेरै कर्मचारीलाई पिरोलिरहने विषय भनेको पदस्थापन र सरुवा हुँदाको अवस्थामा हो। झट्ट हेर्दा लाग्छ, सरकारले जहाँ खटाए पनि जागिर खान्छु भनेर सेवा प्रवेश गरेपछि किन त्यस्तो रस्साकस्सी गर्नु । खटाएको ठाउँमा जानु कर्मचारीको कर्तव्य हो।

अझ सार्वजनिक सेवामा आवद्ध नभएकाहरुले के पनि भन्ने गर्छन् भने, बाहिर कयौं युवाहरु काम नपाएर बेरोजगार छन्, उता कर्मचारीहरु रोजेको ठाउँमा जान पाइएन भनेर रोइलो गर्छन्। ठिक हो, कर्मचारीको पदस्थापन र सरुवा यदि स्वच्छ तवरले प्रणालीअनुसार हुन्थ्यो भने अपेक्षा पनि त्यही हुन्थ्यो। सबैलाई समान व्यवहार हुन्थ्यो भने सके प्रणाली जे छ त्यसैमा चलेर जागिर खाने नसके अन्य विकल्प खोज्नु पर्थ्यो। अहिले भइराखेको अभ्यासले त्यस्तो देखाउँदैन।

कसैले सेवा जीवनमा सधैं चाहेको ठाउँमा काम गर्न पाएको छ, कसैले नचाहेको  र अपायक पर्ने ठाउँमा वर्षौंसम्म खट्नु परेको छ। कसैले सेवाकालभरि सुगममा त्यसमा पनि सिंहदरबारमा नै जागिर खान्छ, उसले दुर्गम जानु परेको छैन। कसैले चाहेर पनि सिंहदरबारमा जागिर खान सक्दैन। कसैले कयौं वर्ष दुर्गममा काम गरेर सरुवा माग गर्दा पनि सरुवा हुँदैन, उल्टै सरुवा अधिकार हैन, सरकारले आवश्यक ठानेको ठाउँमा खटाउने हो, कानुन थाहा छैन ? भनेर उल्लिबिल्ली बनाउने गरिन्छ।

यसले गर्दा कर्मचारी वृत्तमा अनेक गुनासो र असन्टुष्टि छछल्किने गर्छ। यही सन्दर्भलाई लिएर सेवाभित्र अनेक शंका, उपशंका, अड्कलबाजी र परिचर्चा हुने गरेका छन्। खासखुस चल्ने गर्छ, लौ फलाना ठाउँमा पदस्थापन वा सरुवा हुन त दशौं लाख बुझाउनुपर्छ रे। यस्तो गाइँगुइँले सर्वसाधारण कर्मचारीमा केही उत्सुकता, केही त्रास र केही निराशा पैदा गराउँछ ।

एकजना साथीले भने- सरकारले पोशाकभत्ता दिए पनि तीन वर्ष भयो, पूरा पोशाक नसिलाएको। चैत महिनामा पोशाकभत्ता दश हजार आउँछ। त्यसैबेला बच्चाको ठिक्क अर्को कक्षामा भर्ना गर्ने बेला भएको हुन्छ, त्यही पैसा थपथाप गरेर बच्चाको भर्ना गरिन्छ । नयाँ पोशाक किन्नु त कता हो कता।

यस्तो महोलमा संलग्न नभएकालाई लाग्छ, कर्मचारीहरुसँगै यसरी लाखौं पैसा असुल्ने काम कसले गर्छ होला, अनि यति धेरै पैसा कर्मचारीले चाहिँ कहाँबाट ल्याएर देला। त्यत्रो पैसा बुझाएर के काम गर्छ, त्यो बुझाएको पैसा कसरी परिपूर्ति गर्छ ? जे होस्, हावा चलेर पात हल्लिए पनि वा पात हल्लिएर हावा चले पनि अधिकांश कर्मचारीले बारम्बार सुन्ने प्रसंगहरु हुन् यी।

अझ केही अड्डाका रोचक किस्सा पनि सुनिने गरिन्छ, लौ फलाना अड्डामा त कर्मचारी रातदिन काम गर्न आतुर हुन्छन् रे, त्यो अड्डामा जान त तँछाडमछाड छ रे, भित्रभित्रै बोलकबोल नै हुन्छ रे। त्यस्ता अड्डामा त कर्मचारीले बिदा पनि नलिई काम गर्छन् रे, अरु त के किरिया बिदामा गएको कर्मचारी  पनि काजकिरिया सकेकै दिन काममा हाजिर हुन्छ रे। गर्भवती महिला कर्मचारी पनि कुनै दिन बिदा लिँदैनन् रे, बरु प्रसूति व्यथा लागेपछि अफिसबाटै अस्पताल भर्ना हुन जान्छन् रे।

काम गर्ने अड्डा र कर्मचारीको रुचिबारेका यस्ता किस्सा र कहानी सत्य नभएर कर्मचारीबारे अनर्गल प्रचारबाजी अर्थात् हँसिमजाक पनि हुन सक्लान्। तथापि, असन्तुष्ट कर्मचारीले फुर्सदको समयमा गफिने मसला भने पक्कै हो। सबै कर्मचारी एकै प्रकारका हुँदैनन् । एउटा कर्मचारीले लाखौं दिने र अर्कोले खाने भन्ने कुरा सबैमा सान्दर्भिक भने छैन।

पदोन्नति निश्चित भएपछि एकजना साथीले भने- यो महिनाको तलब आएपछि नियुक्ति भएको भए राम्रो हुन्थ्यो। बैंङ्क ब्यालेन्स जिरो हुन आँटेको छ। लड्डु खुवाउन पनि ऋण नै गर्नुपर्ला जस्तो पो छ। महिनाको अन्तिम-अन्तिम हुन थालेपछि तलब नआउन्जेल घर खर्च केले धान्ने भन्ने पिर लाग्न थाल्छ। केही साथीहरु खटाएको ठाउँमा नगएर मन्त्रालयमा बिनातलब हाजिर गरेर बस्छन्, मेरो त त्यसरी बस्न सक्ने अवस्था छैन। परिवारमा कमाउने म एक्लै हो। एक महिना तलब आएन भने चुलो बल्दैन, केटाकेटी स्कुल जान सक्दैनन्। त्यसैले खटाएको ठाउँमा गइहाल्छु।

अर्का एकजना साथीले भने- सरकारले पोशाकभत्ता दिए पनि तीन वर्ष भयो, पूरा पोशाक नसिलाएको। चैत महिनामा पोशाकभत्ता दश हजार आउँछ। त्यसैबेला बच्चाको ठिक्क अर्को कक्षामा भर्ना गर्ने बेला भएको हुन्छ, त्यही पैसा थपथाप गरेर बच्चाको भर्ना गरिन्छ । नयाँ पोशाक किन्नु त कता हो कता।

झण्डै ५० हजारको हाराहारीमा तलब खाने अधिकृत कर्मचारीले यस्तो दरिद्रता देखाउँदा कर्मचारी इतरका धेरैलाई लाग्दो हो, मान्छेले काठमाडौंमा नाङ्लो पसल गरेर पनि जीविका चलाएको छ, त्यत्रो पैसाले पनि जीवन कठिन हुन्छ र ?

एउटा कर्मचारीको सेवा जीवन यस्तो होस् कि आफूले गरेका काम सम्झेर आफैं लजाउन र पश्चाताप गर्न नपरोस्। विलासी जीवन र अनैतिक माध्यमबाट आर्जित शक्तिलाई नै प्रतिष्ठित जीवन मान्ने सामाजिक सोच रहिरहने हो भने इमान्दारहरु पनि इमान्दार भएकोमा पश्चाताप गर्ने अवस्था नआउला भन्न सकिन्न।

सीमित स्रोतले असीमित आवश्यकता पूरा गर्नुपर्नेलाई मात्र थाहा हुन्छ । कर्मचारी वृत्तमा यसरी दैनिक जीवन चलाउने केही कर्मचारी छन्। तलब स्केल र बजार मूल्य तुलना गर्ने हो भने जागिरले जीवन यसरी नै चलाउनुपर्ने बाध्यता छ। बाहिरबाट कर्मचारीलाई जति गाली गरे पनि आखिर कतिपय कर्मचारीको वास्तविक अवस्था यही हो। सरकारकै जागिर खाएर त्यसो त आलिसान जिन्दगी जिउने कर्मचारी पनि छन्। अधिकांश जनमानसले कर्मचारीलाई त्यसरी नै जिउनेको रुपमा बुझ्ने गर्छन्। तर उनीहरुले लड्डु र पोशाकको चिन्ता गर्नेस्तरका कर्मचारी पनि छन् भन्ने यथार्थ भुल्नु हुँदैन।

आफ्ने तलबमा सीमित रहेर फारो गरेर जीवन चलाउने कर्मचारीप्रति समाजको धारणा र स्वीकार्यता कस्तो छ भन्ने पक्ष पनि महत्वपूर्ण छ। यो स्तरका कर्मचारीले समुदायमा पार्टी, बिहेभोज र सामाजिक समारोह लगायतका कार्यक्रममा ताँमझामका साथ जान सक्ने कुरै भएन । प्राय: सबै पार्टी तथा समारोहमा एउटै पहिरन र एकै प्रकारको रहनसहनमा हुनुपर्ने अवस्था हुन्छ। प्राय: त्यहाँ ब्रान्डेड लुगा, गरगहना र बिलासी लवाइ आदिको पनि ख्याल हुने हुँदा यस प्रकारका कर्मचारीको उपस्थिति निम्सरो देखिन्छ ।के के न पदमा पुग्यो भनेको गतिमति रहेछ भन्ने सोचाइ र व्यवहारको सिकार हुनुपर्ने अवस्था छ

हिजोआज त विदेशको कमाइसँग तुलना गर्ने र विदेशतिर खिचेका तस्वीरसँग एउटा कर्मचारीको जीवनशैलीसँग तुलना गरेर नेपालमा केही हुँदैन हेर फलाना कर्मचारीको अवस्था त्यस्तो छ भन्ने कुरा उठ्न सक्छ। छरछिमेकबाट पनि कर्मचारी भएर के गर्नु केही गर्न सक्ने रहेनछ भनेर कुरा काट्ने, उस्तै परे हेप्ने प्रवृत्तिबाट पनि प्रताडित बन्नुपर्ने हुनसक्छ।

हाइपावर र हाइप्रोफाइलका व्यक्तिहरुसँग कुनै होटल तथा रेष्टुरेन्टमा खानपान गरेर बस्न पनि यस्ता कर्मचारीसँग क्षमता हुँदैन। अलिक मोटो बिल फलाना हाकिम साबले तिर्नुहुन्छ भन्दा झ्याप्पै तिर्न सक्ने अवस्था हुँदैन।यससँगै, हाम्रो फलाना सम्मेलन हुँदैछ वा कार्यक्रम हुँदैछ हाकिम साहेबको तर्फबाट यति रकम है भनेर सहयोग माग्दा पनि लौ हुन्छ भन्न सक्ने ल्याकत पनि हुँदैन।

कसैलाई पक्राउबाट बचाउनुपर्‍यो वा हिरासतबाट निकाल्नुपर्‍यो भन्दा यसखाले कर्मचारीको त्यस्तो पहुँच र नैतिकता नहुन सक्छ। त्यति भएपछि राजनीतिज्ञ र शक्तिशाली व्यक्तित्वले समेत उति खोजिरहने व्यक्तिमा पर्दैनन् यस्ता कर्मचारीहरु।

हातमा घडी कस्तो छ, मोबाइल कुन ब्रान्डको छ, मोबाइलमा कहाँकहाँबाट कल आउँछ भन्ने कुराले पनि कर्मचारीको हैसियत तय गर्ने भएकोले समाजको अपेक्षा अनुसार बन्न नसक्नेहरु प्राय: निरीह बन्नुपर्ने अवस्था छ। यसकारण समाजको प्रतिष्ठा के हो भन्ने स्थापित भएको मानकमा पुग्न नसक्ने वा नचाहने कर्मचारीलाई बडो सकस हुने गर्छ।

सरकारी सेवा पनि यही समाजको प्रतिबिम्वित स्वरुप भएकोले प्रशासन संयन्त्रभित्र कसले कसलाई कसरी रिझाउन सक्छ, प्रभाव पार्न सक्छ, कोसँग कुन नेता वा राजनीतिक शक्तिको पहुँच छ, प्रशासनको उच्च तहमा कसको कति पहुँच छ, कसको पहुँचमा कुनकुन कार्यालय वा मन्त्रालयमा काम गर्‍यो भन्ने कुराले कर्मचारीले प्राप्त गर्ने सेवा-सुविधा मात्र नभएर कर्मचारीको क्षमतालाई बुझ्ने विषयमा समेत प्रभाव पार्छ। यसरी प्रभाव पार्न नसक्नेहरु स्वार्थी समूहको नजरमा कमजोर बन्ने गरे तापनि काम गर्ने सवालमा भेट भएका सेवाग्राही तथा सरोकारवालाको लागि भने असल कर्मचारीको श्रेणीमा दर्ज भइरहन्छन्।

एउटा कर्मचारीको सेवा जीवन यस्तो होस् कि आफूले गरेका काम सम्झेर आफैं लजाउन र पश्चाताप गर्न नपरोस्। विलासी जीवन र अनैतिक माध्यमबाट आर्जित शक्तिलाई नै प्रतिष्ठित जीवन मान्ने सामाजिक सोच रहिरहने हो भने इमान्दारहरु पनि इमान्दार भएकोमा पश्चाताप गर्ने अवस्था नआउला भन्न सकिन्न।

त्यसैले, इमान्दारले गर्व गर्ने र दोहनकारीले पश्चाताप गर्ने अवस्था निर्माण हुन भ्रष्टाचारको विरोध गर्ने मात्र हैन, सदाचार र इमान्दारिताको कदर गर्ने सामाजिक सोच र व्यवहार जरुरी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?