
बालकको जस्तै निर्दोष थियो उसको मन । ऊ यस्तो संसार देख्न चाहन्थ्यो, जुन हाँसीखुसी होस् । एकदिन बसमा यात्रा गरिरहँदा उसले एउटा उदास बच्चा देख्यो । अघिल्लो सिटमा बसेको बच्चालाई हँसाउनका लागि अनेक यत्न गर्यो । उसको विचित्र भावभंंगी देखेर बच्चा उमंगले हाँस्यो पनि । ऊ गदगद भयो ।
तर, बच्चाकी आमा हठात् उसलाई गाली गर्न थालिन् । यसो भन्दै, ‘मेरो बच्चालाई किन सताएको ? किन तर्साएको ?’
उसले त बच्चाको उदास अनुहारमा हाँसो भर्न खोजेको थियो । ‘किन बच्चाकी आमाले मेरो मनोभाव बुझिदिइनन् र उल्टै हप्काइन् ?’ यही कुराले उसको चित्त दुख्यो ।
यसरी उसको चित्त धेरै पटक दुखेको थियो । तैपनि ऊ अरुलाई हँसाउन चाहन्थ्यो । किनभने उसलाई कमेडियन बन्नु थियो । कमेडियन बनेर आफ्नो गरिबीलाई लात मार्नु थियो ।
ऊ कल्पन्थ्यो, ‘मेरो मृत्युको मूल्य अहिले बाँचेको जीवन भन्दा महंगो होस् ।’
ऊ दुनियाँलाई हँसाउने अभ्यास गर्थ्यो । जबकि दुनियाँ उसको कलालाई पारख गरेर होइन खिसीट्युरी गरेर हाँस्थे । त्यसपछि उसलाई तत्वबोध भयो, ‘मेरो लागि खुसी हुने यहाँ कोही पनि छैनन् ।’
आखिरमा उसको हाँसो हिंसामा बदलियो । अनि ऊ खुंखार हत्यारा बनेर अपराधको दुनियाँमा प्रवेश गर्यो ।
सन् २०१९ मा प्रदर्शित फिल्म ‘जोकर’ को कथासार हो यो । एउटा मान्छेको भावनासँग समाज कति लापरवाहीसँग खेल्छ ? उसको संवेदनामाथि कति मजाक उडाउँछ ? अनि संवेदना गुमाएपछि एउटा डरपोक व्यक्ति कसरी हिंस्रक बन्छ ?
कला, शिल्प, भाव र प्रविधिको बेजोड दृश्यभाषा सँगै ‘जोकर’ यही प्रश्नको सेरोफेरोमा घुम्छ ।
मुर्कुटाको कथा
तर यो सिनेमाको कथा होइन । बरु पाखण्ड र ढोंगको आनुवांशिक गुण बोकेर राष्ट्रवादको मुकुण्डो धारण गरेका मुर्कुटाहरुको कथा हो । खासमा चाहिँ यो कथा दुई हास्य अभिनेताको हो, जो यस्तै मुर्कुटाहरुले सताइएका छन् ।
समाजको एउटा तप्कामा यस्तो मुर्कुटाहरुको भीड छ, जसले सद्दे मान्छेलाई सहीसलामत बाँच्न दिँदैन । गल्तीहरु खोतलेर, मनोमानी कथा रचेर, भ्रम फैलाएर, सत्तेसराप गरेर, मुखै छाडेर तामासिक मज्जा लिन्छन् । अनि अर्काको भावना र इमानमाथि बेपर्वाह धक्का दिन्छन् ।
यस्तै मुर्कुटाहरुको घेराबन्दीमा छन्, हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि ।
त्यसैले त करियरको उत्तरार्द्धमा रहेका मदनकृष्ण–हरिवंशले हात जोडेर विनीत मुद्रामा भन्नुपर्यो, ‘हामीले आजको दिनसम्म कसैको हानि नोक्सानी हुने काम गरेका छैनौं । कसैको कुभलो चिताएका छैनौं । कसैको आस्थामाथि सौदाबाजी गरेका छैनौं । हामी सबैलाई आफ्नो हितैषी सम्झन्छौं । तर, हामीमाथि नै यस्तो आरोप लाग्दा, अर्नगल प्रचार हुँदा हाम्रो चित्त दुखेको छ ।’
अविश्राम कला साधनामा लागिरहेका, आफ्नो व्यथा लुकाएर पनि हँसाइरहेका, शक्ति र सत्ताको बेथितीमाथि खबरदारी गरिरहेका, हरेक राजनीतिक उथलपुथलमा सर्वसाधरणको कित्तामा उँभिएर जोश बढाइरहेको यो जोडीले सायदै सोचेको थियो होला जिन्दगानीमा यति निरीह बन्नुपर्नेछ भनेर । ढल्कदो जीवनलाई फारु गरेर खर्चनुपर्ने यो घडीमा अनेक आरोपहरुको स्पष्टीकरण दिएर बस्नुपर्नेछ भनेर ।
तर, नसोचेको भइरहेछ यहाँ ।
सामाजिक सञ्जालमा एकफेर नजर डुलाउने हो भने यस्तो लाग्छ मानौं हाम्रो प्राणभन्दा प्यारो देशलाई भिखारी बनाएकै मदनकृष्ण–हरिवंशले हो ।
हामी जस्तो महापुरुषको इमान–इज्जतलाई कलंकित बनाएकै मदनकृष्ण–हरिवंशले हो । हामी जस्तो अत्यान्तै धार्मिकहरु बस्ने समाजमा भाँडभैलो मच्याएकै मदनकृष्ण–हरिवंशले हो । हामी जस्तो स्वभिमानले ओतप्रोत देशभक्तहरुलाई आपसमा जुधाएकै मदनकृष्ण–हरिवंशले हो । हामी जस्तो शालिन र सभ्य सज्जनवृन्दहरुलाई चक्मा दिएर वेथितीको जालो विछ्याएकै मदनकृष्ण–हरिवंशले हो ।
मदनकृष्ण–हरिवंश नामधारी मान्छेहरु राष्ट्रघाती नै हुन् ? अब फेरि तपाईं आँखा चिम्लेर यही प्रश्न दोहोर्याउनुहोस् त, ‘राष्ट्रघाती नै हुन् ?’
समाजको बहीखातामा महको हिसाब किताब
उहिले राजाका पालामा । नेपाल राष्ट्र बैंकको रजत जयन्ती मनाइँदै थियो र त्यही मेसोमा मनोरञ्जनात्मक कार्यक्रमको पनि तयारी गरिएको थियो ।
दर्शकसँगै मञ्चमा विराजमान थिए, राजा वीरेन्द्र र रानी ऐश्वर्य ।
दुई अल्लारे केटा मञ्चमा देखापरे । चोटीला व्याङ्ग गरे, रसिला कुरा गरे । सबैलाई खित्का छाड्नेगरी हँसाए । राजारानी दंग परे । अनि सोधीखोजी गरे, ‘को हुन् यी केटाहरु ?’
एक थिए, मदनकृष्ण श्रेष्ठ । अर्का थिए, हरिवंश आचार्य । दुबैले एकसाथ मञ्चमा पाइला टेकेको यो पहिलो पटक थियो ।
राजारानीले कार्यक्रम हेर्नका लागि छुट्याएको ९० मिनेटको समय पाबन्दीले उनीहरुलाई एकै ठाउँमा उभ्याएको थियो । नभए त हरिवंशको छुट्टै र मदनकृष्णको छुट्टै कार्यक्रम तय भइसकेको थियो ।
कार्यक्रम सकिएपछि उनीहरुले सल्लाह गरे, ‘अब चाहिँ हामी यसरी नै एकसाथ प्रहसन गरौं ।’
त्यस लगत्तै दुबैले गाईजात्रा महोत्सवमा अर्को प्रहसन गरे, यमलोक । त्यसक्षण प्रज्ञा भवनमा नाटक हेर्न बीपी कोइराला पनि आएका थिए । बीपीले भनेछन्, ‘यी दुई केटाहरु को रहेछन्, प्रजातन्त्रको वकलत गरिरहेका छन् ?’
सोही ‘यमलोक’ प्रहसनलाई उनीहरुले अडियो क्यासेटको रुपमा तयार गरे । संभवत नेपाली हास्यव्यङ्गको इतिहासमा यसरी अडियोमा नाटक कहिल्यै सुनिएको थिएन । त्यो समयमा ‘यमलोक’ क्यासेट डेढ लाख प्रति बिक्री भयो । यसबापत उनीहरुले प्रति क्यासेट ९ रुपैयाँको दरले पैसा कमाए ।
यतिका आम्दानीबाट मदनकृष्ण–हरिवंशले जायजेथा मात्र जोडेनन्, मनग्ये माया र हौसला आर्जन गरे । त्यही माया र हौसलाको जगमा उनीहरु अविछिन्न प्रहसन, टेलिफिल्ममा देखिन थाले ।
एकपटक ‘विज्ञापन’ नामक प्रहसन मन्चन हुँदै थियो । उद्घोषक राजु भूँजुको स्वर बस्यो । अनि उनको ठाउँमा उद्घोषक बनेर आइपुगे, राजाराम पौडेल । उनले काइदाको जुक्ति निकाले, मदनकृष्ण र हरिवंशको नामबाट पहिलो अक्षर फुत्त–फुत्त निकालेर जोड्ने । यसबाट ‘मह’ बन्छ । मह जस्तै गुलियो र गुनिलो नाम ।
अन्ततः पहिलो पटक उनले मदनकृष्ण–हरिवंशलाई यस्तो संवोधन गर्दै मञ्चमा बोलाए, ‘अबको प्रस्तुतिका लागि आउँदैछन् मह जोडी ।’
त्यसपछिका दिनहरुमा उनीहरुलाई ‘मह जोडी’ भनी बोलाउन थालियो । यही विनोदपूर्ण उपमा बोकेर यी अल्लारे केटाहरु रंगमञ्चमा उँभिए, देश–परदेश डुले । अनि पुगे नेपालीको मन–मनमा । समाजका लागि स्वस्थ मनोरञ्जनको अविरल श्रोत बनिरहे ।
त्यही जोडी, जसले चटके वा जोकर भनिने हास्य कलाकारितालाई एउटा विशिष्ठ कलाको रुपमा स्थापित गरे । हाँसो र ठट्टाको कलेबरमा राज्यको बिसंगति अनि बेथितीमाथि औंला ठड्याइरहे । आधारभूत स्वास्थ्य सचेतनाका लागि समाजलाई झकझकाइरहे ।
हिसाब छैन, करिब ५० वर्षे यो गठबन्धनमा उनीहरुले कति मान्छेलाई उदासी र बेचैनीबाट जोगाए ? कतिलाई संभावित रोगव्याधिको जोखिमबाट बचाए ? कतिलाई दिक्कलाग्दो एक्लोपनबाट छुटकारा दिलाए ? कतिलाई आँट र हिम्मत जुटाइदिए ?
महको कार्यक्रम आउँदैछ भनी अधैर्यसाथ टेलिभिजन हेर्नेहरुलाई, मञ्चमा पर्खर्नेहरुलाई उनीहरुले कहिल्यै खिन्न हुन दिएनन् । बेस्सरी हँसाए । हँसाउदा–हँसाउदै जीवन र पद्दतीका कुराहरु सिकाए । आफूले भन्न नसकेका कति कुराहरु घत लाग्नेगरी खुलस्त भनिदिए । नेता–मन्त्रीलाई अघिल्तिर राखेर देश र जनताको गुनासोहरु उप्काइदिए । परदेशमा पुगेर गाउँघरको खबरहरु सुनाइदिए ।
जन्मथलो छाडेर विदेशमा एकलकाँटे जीवन विताइरहेकाहरुका अघिल्तिर मह जोडी पुग्दा तिनीहरुले आफ्नो माटोको सुगन्ध पाए होलान् । कहिलेदेखिको नियास्रोपन मेटाए होलान् । आफ्नै माइती आएको न्यानोपन अनुभूत गरे होलान् ।
****
दुनियाँलाई रुवाउन सजिलो छ, हँसाउन होइन । हास्य चेत र कला आफैंमा एक बेजोड शक्ति हो । यस्तो शक्ति आर्जन गर्नका लागि सितिमिति लगाव र अभ्यास पुग्दैन । समाजको धरातल बुझेर, मानव चरित्र र मनोविज्ञानलाई सुक्ष्म अवलोकन गरेर, रोचक र घोचक शब्दभण्डार बनाएर त्यसलाई अभिनय कलामार्फत अभिव्यक्त गर्नु मामुली साधनाले पुग्दैन ।
यसर्थ मदनकृष्ण–हरिवंश आफैंमा यस्तो साधक हुन्, जो हरेक युगमा जन्मदैनन् । संगीत, साहित्य, कला र अभिनयको यो सम्पूर्ण प्याकेज समाजले सधैंभरी पाइरहँदैन । मह जोडीको रुपमा उनीहरुले जे–जति गरे, हास्य कलाकारिताको त्यो आयमिक परिघटना मात्र होइन सामाजिक देन पनि हो ।
यतिका ख्याती र सामर्थ्य आर्जन गरिसकेपछि सत्ता निकट बसेर मनलाग्दी राज्यलाई दोहन गर्न सकिन्थ्यो । एक्स्ट्रा अर्डिनरी भिषा च्यापेर विदेशमा वैभवशाली जीवन बिताउन सकिन्थ्यो । उस्तै परे राजनीतिको फेरो समाएर आफ्ना छोरा, नाति, भाइ, भतिजलाई रसिलो–पोषिलो बनाउन सकिन्थ्यो । तर, मह जोडीले आफ्नो धर्म छाडेनन् ।
बरु सर्वसाधारणको कित्तामा उँभिएर सधैं गरिखाने वर्गका लागि वकालत गरिरहे । राज्य संयन्त्रको बेथितिमाथि व्यङ्ग गरिरहे । भ्रष्टाचारी, आडम्बरीहरुको सातोपुत्लो उडाइरहे । सुस्त र लाचार कर्मचारीतन्त्रलाई काउकुती लगाइरहे ।
यद्यपि हाड, छाला, मासुले लपेटिएका मन र भावनाले भरिएका उनीहरु यन्त्र होइनन् मान्छे नै हुन् । मान्छे आखिर गल्तीहरुको शृंखला हो । व्यक्तिगत जीवनमा उनीहरुको आफ्नै कमजोरी होलान्, गल्ती होलान् । तर, समग्र समाजलाई बिझाउनेगरी उनीहरुले त्यस्तो के बिराए ?
उमेरले ७० वर्ष नाघेका मदनकृष्ण–हरिवंशले समाजलाई सधैं हाँसीखुसी राख्न यत्न गरे । तर, समाजको एउटा जमात उनीहरुको खुसीमा खुसी मिसाउन तयार छैन । बरु उनीहरुलाई दुखाएर, सताएर, हत्तुहैरान बनाएर मज्जा लिन चाहन्छन् । यस्तो परपीडक जमातसँग न जुधेर सकिन्छ, न तर्क गरेर । बोल्नेहरुको मुख थुनेर साध्य हुने भए पो ?
आखिर जतिसुकै असल काम गरेपनि एउटा न एउटा खोट निकालेर लखेट्नेहरु जो दाउ हेरेर बसेका छन् ।
प्रतिक्रिया 4