
२३ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रशासन क्याम्पस प्रमुख नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन गरिएको छ ।
व्यवस्थापन संकायका डिन, निमित्त क्याम्पस प्रमुख, क्याम्पस सञ्चालक समिति, विद्यार्थी संगठनहरू लगायतका सबै पक्षबीच सहमतिमार्फत सिफारिसका लागि सर्वसम्मत सर्च कमिटी गठन भएसँगै नयाँ क्याम्पस प्रमुख नियुक्तिको विषय अगाडि बढेको हो ।
क्याम्पस प्रमुख नियुक्तिका लागि यसअघि पनि दुई पटकसम्म सर्च कमिटी गठन भए पनि सहमति हुन सकेको थिएन ।
गत मंगलबार त्रिभुवन विश्वविद्यालयका डिन प्राडा महानन्द चालिसेको उपस्थतिमा बसेको क्याम्पसको सञ्चालक समितिको बैठकले प्राडा बालकृष्ण श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले बताए ।
यसअघि सञ्चालक समितिका अध्यक्षको असहयोग तथा नियम विपरीत सर्च कमिटीका अध्यक्ष नियुक्ति लगायतको कारण सर्च कमिटीहरूले काम गर्न नसकेकोमा यसपटक स्ववियु उपाध्यक्ष तिवारीको प्रस्तावमा व्यवस्थापन संकायका डिनलाई सञ्चालक समितिको बैठकमा आमन्त्रण गरी डिनकै प्रस्तावमा निष्पक्ष र सर्वमान्य रुपमा सर्च कमिटी गठन गरिएको उनको भनाइ छ ।
यसरी फुक्यो गाँठो
लामो समयदेखि निमित्तको भरमा चलिरहेको जनप्रशासन क्याम्पस बल्खुको क्याम्पस प्रमुख नियुक्तिको विषय यसपटकको सञ्चालक समितिको प्रमुख एजेन्डाको रूपमा तोकिएको थियो ।
सञ्चालक समिति बैठकभन्दा अघि त्यस विषयमा सहमति जुटाउनका लागि तीन पटकसम्म सञ्चालक समितिका अध्यक्ष नरेन्द्रराज पौडेल, क्याम्पस प्रमुख शाही, क्याम्पसको स्ववियुका प्रतिनिधि तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूको बैठक बसेको थियो ।
तर, तीनवटै बैठकमा क्याम्पस प्रमुखको सिफारिसका लागि गठन गर्ने सर्च कमिटीका सदस्यका विषयमा सहमति जुट्न सकेन । त्यसपछि बसेको चौथो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष अनिकेत तिवारीले सहमतिको प्रस्ताव अघि सारेका थिए । उपाध्यक्ष तिवारीले अघि सारेकै मोडेलमा सहमति जुटेपछि विवाद निष्कर्षमा पुगेको हो ।
उपाध्यक्ष तिवारीले प्रस्ताव गरेका दुई बुँदा थिए । जसमा पहिलो, ‘नयाँ क्याम्पस प्रमुखको रूपमा प्रतिस्पर्धा गर्न पाउनु सबैको अधिकार भएकाले त्यसमा नियमले नरोके हालका निमित्त क्याम्पस प्रमुख स्वंयमले पनि उम्मेदवार बन्न पाउने’ भन्ने थियो ।
यस्तै दोस्रो बुँदामा, ‘सञ्चालक समितिको बैठकमा व्यवस्थापन संकायका डिनलाई आमन्त्रण गर्ने र सोही बैठकमा डिनले क्याम्पस प्रमुखको छनोटका लागि सर्च कमिटीमा बस्ने व्यवस्थापन संकायकै ३ जना व्यक्तिको नाम छनोट गर्ने’ प्रस्ताव थियो ।
सोही अनुसार २० फागुनमा बसेको सञ्चालक समिति बैठकमा व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसेलाई आमन्त्रण गरेर उनैले सर्च कमिटीका संयोजक प्राडा बालकुष्ण श्रेष्ठ तथा दुई सदस्यको नाम सिफारिस गरेका थिए । सिफारिस भएका तीनै जनाको नाम बैठकले तत्कालै स्वीकृत गरेको थियो ।
क्याम्पसका निमित्त प्रमुख हरिभक्त शाहीले सर्च कमिटीका सदस्यका लागि पत्र तयार गरी पठाइसकिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि सर्च कमिटीले काम सुरु गर्ने र १५ दिनभित्रमा नयाँ क्याम्पस प्रमुखको नाम सिफारिस गर्ने बताए ।
जनप्रशासन क्याम्पसका स्ववियु सचिव सत्यमकुमार यादवले क्याम्पस प्रमुख नियुक्ति तथा क्याम्पसका आन्तरिक समस्याका विषयमा राजनीति गर्न नहुने भन्दै उपाध्यक्ष तिवारीको रोडम्याप अनुसार सर्च कमिटी गठन भएसँगै अब सर्वस्वीकार्य रूपमा नयाँ क्याम्पस प्रमुख नियक्ति हुने बताए ।
स्ववियु उपाध्यक्ष तिवारीले क्याम्पसका हरेक समस्याका लागि क्याम्पस प्रमुखलाई मात्रै दोष लगाएर कोही पनि उम्किने अवस्था नरहेको भन्दै सबैजना जिम्मेवार बनेर अघि बढ्नुपर्ने आवश्यकता बोध गरेरै आफूले सबैलाई स्वीकार्य हुने प्रस्ताव अघि सारेको र त्यसमा व्यवस्थापन संकायका डिन लगायतका सबै सहमत भएसँगै विवाद र समस्याको गाँठो फुकेको बताए ।
जनप्रशासन क्याम्पसका सञ्चालक समिति अध्यक्ष नरेन्द्रराज पौडेलले विगतमा राजनीतिकरणले गर्दा समस्या उत्पन्न भएको र निकासका लागि डिनको प्रस्तावमा सर्च कमिटी गठन गरिएको बताए ।
प्रतिक्रिया 4