२३ फागुन, काठमाडौं । बुटवलमा आयोजित सर्वाधिक पुरस्कार राशीको अल नेपाल ओपन बुटवल मेयर कप स्नुकर च्याम्पियनशिपको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् ।
खस्यौली स्नुकर क्लब बुटवलमा बिहीबार रातिसम्म भएको ७ घण्टा लामो खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जितेका हुन् ।
बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा शुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि सरोजले लगातार ४ सेट जितेका थिए । दशौं सेट सोमले जितेर अग्रता बढाउदा एघारौं सेट सरोजले जितेपनि बाह्रौं सेट जितेर सोमले उपाधीमाथि कब्जा जमाउन सफल भए ।
नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नूकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडीले भाग लिएका आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।
प्रतियोगिताको उपाधी विजेता सोम लामाले ३ लाख ३ हजार, उपविजेता सरोजले एक लाख एक हजार, हाइएस्ट ब्रेकर सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले नगद ३०/३० हजार पाए ।
प्रतिक्रिया 4