२३ फागुन, काठमाडौं । काठमाडौं रेजर्स एफसीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डे तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि नेपाल आइपुगेका छन् । उनी शुक्रबार काठमाडौं आइपुगेको क्लबले जनाएको छ ।
यसअघि दुई सिजन बालगोपाल महर्जनले काठमाडौंको प्रशिक्षण सम्हालेका थिए । तर तेस्रो सिजनका लागि काठमाडौंले युईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकलाई अनुबन्ध गरेको छ । ६० वर्षीय विल्डेले सोमालिया, रुवान्डा जस्ता अफ्रिकन राष्ट्रको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
यस्तै उनले चीनको यू-२३ टिम र अल्जेरिया टिमको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । लामो समय कोचिङ करियरमा बिताएका उनले पहिलो पटक एसियाको क्लब हेर्न लागेका हुन् ।
काठमाडौं रेजर्सले यसअघि नै प्रशिक्षक मेघराज केसीलाई टेक्निकल डिरेक्टरको रुपमा नियुक्त गरिसकेको छ । पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले रोहन कार्कीलाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।
एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुँदैछ । जसमा काठमाडौंसहित ७ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4