+
+
Shares

उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छ : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २३ गते १६:०६

२३ फागुन, सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने खालको नभए मुलुक नै पछि पर्ने बताए ।

‘जुन मुलुकले आफ्नो मुलुकमा रहेका स्रोतसाधनको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैन । त्यो मुलुक विकासको दौडमा पछाडि पर्ने निश्चित हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई देशभक्ति, देशप्रति उत्तरदायी हुने मानवतावादी बन्न आग्रह समेत गरे । मानवतावादको मूल ध्येय बोकेर अहिलेका विद्यार्थीहरूले अध्ययन, अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिए ।

‘अब पुँजीवाद र समाजवादका बहस गरिरहनु पर्दैन, सबैभन्दा ठूलो मानवतावाद हो’, प्रधानमन्त्री ओलीले भने ।

मध्यपश्चिम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आजको युग कृत्रिम बौद्धिकतायुक्त प्रविधि र सृजनशीलताको युग भएको उल्लेख गर्दै उच्च शिक्षा अध्ययनमा लाखौँ विद्यार्थी र अबौँ पुँजी विदेश पलायन हुनु चिन्ताजनक अवस्था रहेको बताए ।

‘आज उच्च शिक्षाका लागि देशका कर्णधारहरू विदेशी विश्वविद्यालयमा पुगेको अवस्था छ,’ उनले भने, ‘व्यवस्थित शिक्षा आर्जन, सुरक्षा र स्वदेश फिर्तीलाई सरकारले उच्च प्राथमिकताका साथ हेरिरहेको छ ।’

शिक्षा केवल डिग्री प्राप्त गर्नु मात्र नभई जीवनलाई सही दिशा दिने मार्ग भएकाले दीक्षित भएका विद्यार्थीलाई आफ्नै देशमा नवीनतम काम गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।

कर्णालीबारे बोल्दै उनले कर्णालीका मानिसहरू महाभारत युद्धमा लड्न गएको उल्लेख गरे ।

‘यहाँका मान्छेले जहाँ छोयो, त्यही छेड पार्थे । यहाँको सभ्यताको लामो इतिहास छ । आजको हिसाबले पनि कर्णाली तेल खानी भएको प्रदेश हो । जडीबुटीको खानी हो । प्रयोगबारे खोज अनुसन्धान गर्न बाँकी नै छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?