
विवाह एउटा सुन्दर सम्बन्ध हो, जुन प्रेम, विश्वास र आपसी समझदारीमा आधारित हुन्छ । तर, जब यी आधारभूत स्तम्भहरूमा दरार आउन थाल्छ तब सम्बन्ध टुट्ने अवस्था सम्म पुग्छ । यस्तो बेला वैवाहिक जीवनलाई सफल बनाउन गाह्रो हुन्छ तर सही समयमा सही कदम चाल्ने हो भने यसलाई टुट्नबाट जोगाउन सकिन्छ ।
सम्बन्धमा खुलेर कुरा गर्ने, विश्वास कायम राख्ने र एक-अर्काको सम्मान गर्ने वैवाहिक सम्बन्धलाई बलियो बनाउने मुख्य उपाय हुन् । यदि यी कुराहरूलाई ध्यानमा राखियो भने सम्बन्ध बलियो हुनुको साथै वैवाहिक जीवन पनि सुखद हुनसक्छ ।
पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् र यसको पछाडि धेरै कारण जोडिएका हुन्छन् । यी कारणहरूलाई समयमै समाधान गरियो भने विवाह बचाउन सकिन्छ । सम्बन्ध विच्छेदका तीन प्रमुख कारण र विवाह जोगाउने केही महत्वपूर्ण उपायहरूबारे जानौँ ।
१. खुलेर कुरा नगर्नु
सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुरा एक-अर्कासँग कुरा गर्नु हो । श्रीमान् श्रीमतीबीच संवादको कमी हुँदा गलत बुझाइ बढ्न थाल्छ । बिस्तारै दुवै एक-अर्काबाट टाढा हुँदै जान्छन्, जसका कारण वैवाहिक सम्बन्ध कमजोर हुनथाल्छ ।
के गर्ने ?
आफ्नो पार्टनरले भनेका कुरा ध्यानपूर्वक सुन्ने र उसको भावना बुझ्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन एक-अर्कासँग कुरा गर्नका लागि केही समय छुट्याउनुपर्छ ।
कुनै पनि समस्यालाई शान्ति पूर्वक एकसाथ बसेर समाधान गर्ने र क्रोधमा कुनै निर्णय गर्नु हुँदैन ।
३. विश्वासको अभाव
विश्वास सम्बन्धको आधार हो । जब सम्बन्धमा विश्वासको कमी हुन्छ वैवाहिक सम्बन्धमा दरार आउन थाल्छ । शङ्का र झूटले कुनै पनि सम्बन्धलाई कमजोर बनाउन सक्छ र सम्बन्ध विच्छेद सम्म पुर्याउन सक्छ ।
के गर्ने ?
आफ्नो पार्टनरसँग इमानदार रहनुपर्छ । केही कुरा पनि लुकाउने प्रयास गर्नु हुँदैन । यदि कुनै कारणले विश्वास कम भएको छ भने, यसलाई फेरि बलियो बनाउन खुला रुपमा कुराकानी गर्नुपर्छ । सम्बन्धमा पारदर्शिता कायम राख्नुपर्छ र आफ्नो पार्टनरको भावनाको सम्मान गर्नुपर्छ ।
३. सम्मानको कमी
सम्बन्धमा एक-अर्काको भावना र आवश्यकता बुझ्न नसक्दा सम्बन्ध विच्छेदको सम्भावना बढ्छ । धेरै पटक पार्टनरहरूले एक-अर्काको कुरालाई बेवास्ता गर्न थाल्छन् वा उनीहरूको भावनालाई महत्त्व दिँदैनन् । जसका कारण सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्छ ।
के गर्ने ?
आफ्नो जीवनसाथीको भावनाको कदर गर्नुपर्छ । उनीहरूलाई आदर गर्नुपर्छ । कुनै पनि तर्कमा, उनीहरूलाई बेवास्ता गर्नुको सट्टा एक-अर्काको कुरा बुझ्ने प्रयास गर्नुपर्छ । सम्बन्धमा माया र सम्मान कायम राख्नका लागि जीवनसाथीको सानो-सानो कुराको ख्याल राख्ने, बेला बेलामा प्रशंसा गर्ने जस्ता साना कुराहरूमा पनि ध्यान दिनुपर्छ ।
प्रतिक्रिया 4