+
+
Shares

म बाट महिलावाद

कविता

जिवन शर्मा जिवन शर्मा
२०८१ फागुन २३ गते १८:३०
कविताका लेखक जिवन शर्मा ।

हजारौँ वर्षदेखि

साम, दाम र दण्ड भेद अपनाएर

समाज, परिवार र सम्बन्ध भन्दै

तिमीले कोरेका मेरा मर्यादाका सीमारेखाहरूले

दबाएका मेरा सपनाहरू

पाठेघरभित्र खेलिरहेका कलिला नानीका टाङ् पल्टाएर

निमोठिएको सुन्दर जीवन

दाइजोका लागि जलाइएका

मेरा आफन्तहरूको क्षतविक्षत शरीर

अनि

मैले चुपचाप सहेका पीडाहरूलाई शक्तिमा बदल्दै

दबाइएको आवाज र

कुल्चिएका मेरा सपनाहरू संगाल्दै
अब म बोल्छु ।

तिमी सुन

या नसुनेझैँ गरतिमी मलाई स्त्री भन अथवा आईमाई

म तिम्री छोरी हुँ, तिम्रो आमा पनि हुँ

तिम्रो श्रीमती हुँ र तिम्रो साथी पनि हुँ

तर याद गर

त्यो भन्दा पहिले म मानव हुँ

त्यसैले
मेरो पहिचान तिम्रो नाम र थरसँग साटेर

पहिलेझैँ

म चुपचाप बस्न सक्दिन अब

अब म बोल्छु

यो समयलाई चुनौति दिन्छु म

म आफैँ खोज्छु मेरो पहिचान

मेरो आफ्नै कर्मबाट

म लेख्छु अब

आफनो कथा आफैँ

जुनकथा

हिजो तिमीले लुकायौ कतै,

दबायौ कतै

साट्यौ आफ्नै प्रियसीको सहनशीलतासँग

माग्यौ अलिकति आमाको ममता भनेर

कोर्‍यौ अनगिन्ती मर्यादाका रेखाहरू

छोरीको लज्जा बनेर

बाँध्यौ कयौं सीमाहरू बुहारीको मान भनेर

बल्ल बुझ्दैछु म

यो विभेदको यो लहरा

उर्घादैछु मेरा छोपिएका आँखाहरू र

सँगाल्दै छु विथोलिएका सपनाहरू

अब म

म बाट महिलावादको विद्रोह ओकल्छु र

लेख्छु

स्वतन्त्रताका लागि लडेका

योग मायाहरूको कथा

बोल्छु, पारिजातको विद्रोहको कविता

घन्काउछु स्वतन्त्रताको नारा

म लड्छु

समानताको ढोका खोल्न र

तिम्रो त्यो सोच बदल्न

जहाँ तिमी सधै मलाई

एउटी निर्वल बुहारी मात्र देख्छौ

एउटी लज्जावान छोरी मात्र देख्छौ

एउटी सहनशिल आमामात्र देख्छौ

एउटी पतिब्रता श्रीमति मात्र देख्छौ

 

अहँ

अब यस्तो फेरि हुन दिने छैन

अब यस्तो फेरि दोहोरिन दिने छैन

अब देख्नेछौ

घरको सिँढीदेखि युद्धको मैदानसम्म

सडक देखि संसदसम्म

मेरो सिंहनाद

आफ्नै स्तनभित्र साँचेको

स्नेहका अमृत धाराहरू बगाएर

म सिञ्चित गर्नेछु यो ब्रम्हाण्ड र

जन्माउनेछु एउटा अलग्गै संसार

बदल्नेछु चलिआएको कथा

तिमीले ठानिआएको कथा

तिम्रो समाजले मानिआएको कथा

उर्घानेछु विभेदको घुम्टो र

घन्काउनेछु

समानताको नारा

म बाट महिलावाद-जिन्दावाद

म बाट महिलावाद-जिन्दावाद

यो मेरो आवाज

मेरो अधिकार

अब रोकिन्नन् तिमीले रोकेर

म बोल्छु, म लेख्छु

महिलावाद विद्रोह होइन

महिलावाद परिवर्तन हो

यो समानताको संकल्प हो

यो सुरुवात हो चेतनाको

अनि याद गर

इतिहासलाई बंग्याएर

मेरो मात्रै मर्यादा कोर्ने

सत्यलाई लुकाएर आफनो मात्रै अभिमान लेख्ने

यो स्खलन हो तिम्रो आडम्बरको

यो स्खलन हो तिम्रो अहमताको

याद गर

यो चेतना

तिम्रो क्रुर इतिहासको पानी ढलो हुनेछ र

कोरिने छ म बाट महिलावादको कथा

समानताको कथा ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?