
२३ फागुन, काठमाडौं । काठमाडौं बबरमहलकी सुनिता महर्जनले गएको भदौमा एक लिटर सूर्यमुखी तेल २१० रुपैयाँमा किनेकी थिइन् ।
तर, पुसमा त्यही तेलको भाउ बढेर लिटरको २३५ रुपैयाँ पुग्यो । भदौदेखि पुससम्म आइपुग्दा तेलको भाउ लिटरमै २५ रुपैयाँ बढ्यो ।
फागुन दोस्रो साता महर्जन उही सूर्यमुखी तेल एक लिटरको २७० रुपैयाँ तिर्न बाध्य भइन् ।
भदौदेखि फागुनसम्म आउँदा खानेतेलमा भएको मूल्य वृद्धिले अत्यास लाग्ने बनाएको उनी सुनाउँछिन् ।
‘अहिले एक लिटर तेलमा ६० रुपैयाँको अन्तर देखियो’ महर्जनले अनलाइनखबरसँग भनिन्, ‘२० रुपैयाँसम्म घटबढ हुनु त ठिकै मान्नुपर्थ्यो । तर, एकैपटक ६० रुपैयाँ कसरी बढ्यो ? यस्तै महँगी हुने हो भने त कसरी बाँच्न सकिएला र ?’
अहिलेको महँगीका कारण आफ्नो मासिक बजेट नै बिग्रिएको गुनासो उनले गरिन् ।
चाडपर्वमा पनि खासै नबढेको तेलको भाउ अहिले अत्यधिक बढ्दा घरायसी बजटेमै समस्या परेको उपभोक्ताले गुनासो गरेका छन् ।
पछिल्लो समय चामल, दाल र गेडागुडीको भाउ घटिरहेको भए पनि खानेतेलको मूल्य भने घट्न सकेको छैन ।
अनलाइनखबरको स्थलगत रिपोर्टिङमा बबरमहल तथा नयाँबानेश्वर क्षेत्रका खुद्रा पसलमा सूर्यमुखी र भटमासको तेल प्रतिलिटर २६० देखि २८० रुपैयाँसम्म बिक्री भइरहेको पाइयो । भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ४२५ देखि ४३० रुपैयाँसम्म तथा काँचो तोरीको तेल ३२५ देखि ३३० रुपैयाँसम्म बिक्री गरेको पाइयो ।
आखिर किन घट्न सकिरहेको छैन खानेतेलको भाउ ?
पछिल्लो ६ महिनामा खाने तेलमा प्रतिलिटर ५० देखि ६० रुपैयाँसम्म वृद्धि भएको छ । यो मूल्यवृद्धि सूर्यमुखी तेल, भटमास तेल र तोरीको तेलमा भएको हो ।
दिनहुँ प्रयोगमा आउने अत्यावश्यक वस्तु तेलको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा उपभोक्ता मारमा परिरहेका छन् ।
तेलको भाउ १५ दिनमै ५ देखि १० रुपैयाँले वृृद्धि भएको खुद्रा व्यापारीहरूको छाता संगठन नेपाल खुद्रा व्यापार संघको तथ्यांकले पनि देखाउँछ ।
संघको तथ्यांक अनुसार १ माघमा प्रतिलिटर ४ सय रुपैयाँ पर्ने भुटेको तोरीको तेल फागुन आइपुग्दा १० रुपैयाँले बढेर ४१० कायम भएको छ । सोही अवधिमा सूर्यमुखी र भटमासको तेलमा लिटरको ५/५ रुपैयाँ भाउ बढेको छ ।
खुद्रा व्यापार संघका अनुसार पसलमा अहिले भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल लिटरको ३२५ रुपैयाँ छ । यसैगरी भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ पुगेको छ ।
तर, संघले अहिले २५० रुपैयाँ मूल्य तोकेको सूर्यमुखी र भटमासको तेल खुद्रा व्यापारीले भने २६० देखि २८० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।
नेपाली बजारको आवश्यकता परिपूर्ति नगरी भारतमा तेल निर्यात गर्दा नेपाली उपभोक्ताले महँगो मूल्य तिर्नुपरेको व्यवसायी आफैं बताउँछन् ।
खुद्रा व्यापार संघका कोषाध्यक्ष तथा व्यवसायी वसन्त श्रेष्ठले तेलको मूल्य होलसेल (थोक) मै बढेर आएको बताए ।
उनका अनुसार पुस दोस्रो सातादेखि नै तेलको मूल्य बढ्न थालेको हो । ‘होलसेलबाट नै तेलको मूल्य बढेर आएको हुँदा हामीलाई पनि बढाउनुपर्ने बाध्यता छ,’ कोषाध्यक्ष श्रेष्ठ भन्छन् ।
सरकारी कम्पनीमा कति पर्छ ?
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) ले सूर्यमुखी तेल प्रतिलिटर २३६, भटमासको तेल २३४ र तोरीको तेल ३६० रुपैयाँमा बिक्री गरिरहेको छ ।
अर्को सरकारी कम्पनी साल्ट ट्रेडिङ लिमिटेडले भने सूर्यमुखी तेल लिटरको २८० रुपैयाँ, भटमासको तेल प्रतिलिटर २५० रुपैयाँ र तोरीको तेल २६० देखि ४२५ रुपैयाँमा बिक्री गरिरहेको छ ।
उपभोक्ता अधिकारीकर्मी के भन्छन् ?
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना सरकार नै जिम्मेवार नभएकाले हरेक क्षेत्रमा नागरिकको शोषण भइरहेको बताउँछन् ।
‘यो भनेको उपभोक्तामाथि गरिएको चरम शोषण हो’ अधिकारकर्मी तिमिल्सिना भन्छन्, ‘उद्योगीलाई सहुलियत दिने नाममा उपभोक्तालाई दुःख दिइएको छ । यसमा उद्योगीलाई सरकारले नै मलजल गर्ने काम गरेको छ । व्यापारीले जति नाफा खाए पनि जिम्मेवार निकाय मौन छ ।’
सरकारले थाहा नपाए झैं गरेर चुप लाग्दा व्यवसायीको मनोमानी बढेको उनको आरोप छ ।
‘नेपाली जनतालाई भन्दा भारतीय जनतालाई सस्तो खुवाउनका लागि तेल भारत निर्यात गरिएको छ,’ उनी भन्छन्, ‘निर्यात भनेको त आफ्नो देशको आवश्यकता परिपूर्ति भएपछि मात्रै हुनुपर्छ । हरेक उपभोग्य वस्तुमा ५ देखि १० रुपैयाँ गरी–गरी मूल्य बढाएर उपभोक्तालाई दुःख दिने काम भइरहेको छ । सरकारको नियमन पाटो कमजोर र अनुगमनको पाटो फितलो भयो ।’
तर, यसरी व्यापारीले नेपालमा उत्पादित वस्तु भारत निर्यात गरेर नेपाली बजारमा अभाव सिर्जना गराइ मूल्यवृद्धि गर्दा पनि सरकार मौन बसेको उनको भनाइ छ । यही कारण उपभोक्ता चर्को महँगीको मारमा रहेको उनले बताए ।
विभाग भन्छ : हामी एक/दुई दिनमा बजार अनुगमन गर्छौं
उपभोक्ताको अधिकार संरक्षण गर्ने निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उपभोक्ता संरक्षण विभागले भने तेलको मूल्यवृद्धिको विषयमा जानकारी आएको तर अनुगमनमा जान नभ्याएको प्रतिक्रिया दिएको छ ।
विभागका सूचना अधिकारी डिकबहादुर कार्कीले अनुगमन गरेपछि मात्रै बजारको स्थितिबारे जानकारी दिन सकिने बताए ।
‘एक/दुई दिनमा हामी बजार अनुगमनमा निस्किन्छौं’ उनले भने, ‘सत्य तथ्य जाँच नगरी यही छ भनेर भन्न सकिने अवस्था रहेन ।’
नेपालबाट विदेशमा कति हुन्छ तेल निर्यात ?
नेपालबाट बर्सेनि अर्बौं रुपैयाँ बराबरको खाने तेल भारत लगायत देशमा निर्यात हुने गर्छ । विदेशबाट कच्चापदार्थ ल्याएर प्रशोधन गरी नेपालबाट तेल निर्यात हुने गरेको छ ।
नेपालबाट भारत निर्यातमा शून्य भन्सार लाग्ने गरेको छ । त्यसो हुँदा ठूलो परिमाणमा तेल निर्यात हुने गरेको हो । तेस्रो मुलुकबाट आयात हुने तेलमा भारतले उच्च भन्सार लगाएपछि नेपालबाट त्यता जाने तेलको मात्रा अत्यधिक बढेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालबाट भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायत देशमा ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ भने ६ अर्ब ९७ करोड रुपैयाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ ।
प्रतिक्रिया 4