+
+
Shares

महिलाको आवाज सुनौं, किस्तीमा कैंचीमात्रै नबोकाऔं

मार्च महिना संसारभरका महिलाहरूको सशक्तीकरण र अधिकारबारे चर्चा गर्ने महिना हो। त्यसैले महिला र बालिकाहरूलाई कार्यक्रममा फूलमाला टक्रयाउने, किस्तीमा कैंची बोकाउने गर्नुभन्दा उनीहरूको विचारलाई अगाडि बढाऔं । बोल्न दिऔं ।

अमृता लम्साल अमृता लम्साल
२०८१ फागुन २४ गते २१:५९

केही हप्ता अगाडि एकजना विद्वान लेखकले आफ्नो विमोचन हुन लागेको पुस्तकको लागि महिला वक्ता को हुनसक्छ भनेर सोध्नुभयो । आफूलाई सो विषयमा उपयुक्त लागेको बौद्धिक व्यक्तित्वको नाम सुझाएँ।

फेरि सोध्नुभो; भन्दै गएँ।

बल्लबल्ल एउटा नाम उहाँलाई जच्यो; उहाँले, ती बौद्धिक महिलाको बारेमा थप जानकारी माग्नुभयो। ती महिलाको देशमामात्रै होइन, विदेशमासमेत प्राज्ञिक क्षेत्रमा काम गरेको अनुभव थियो; बताएँ।

त्यति सुने पश्चात्, लगत्तै उहाँको प्रश्न थियो, ‘उहाँको श्रीमान् को नाम के हो ?’

झनक्क रिस उठ्यो; प्रतिप्रश्न गरेँ, ‘यहाँलाई वक्ताको स्थानमा बौद्धिक व्यक्तित्व चाहिएको कि, नाम चलेको व्यक्तिको श्रीमतीलाई वक्ता बनाउनु परेको ?’

उहाँले आफूलाई सच्याउँदै भन्नुभयो, त्यसो होइन; को हुनुहुँदोरहेछ भनेर जानकारीमात्रै राख्न खोजेको।’

यस्ता घटनाहरू दोहोरिइ रहन्छन; यो पंक्तिकारको अनुभवमा यस्ता घटनाहरू धेरैपटक घटेका छन्।

जब, महिलाहरूलाई फोरम दिने प्रश्न आउँछ, अपवादलाई छाडेर कि त, समाचार माध्यममा एकोहोरो छाइरहने महिलाहरू छानिन्छन्; कि त, कुनै नाम चलेका व्यक्तिहरूको छोरी, पत्नी, बहिनी, दिदी….. आदि।

त्यसैले, बारम्बार प्रश्न उठाइरहन मन लाग्छ, आखिर विचार निर्माण प्रक्रियामा महिलाहरूको उपस्थिति कहाँ छ त ?

यो प्रश्नको जवाफको विभिन्न पाटाहरू हुनसक्छन्; तर, यहाँ उल्लेख गर्न लागेको सन्दर्भ मिडिया अर्थात् संचार माध्यमसँग जोडिएर आउँछ।

संचार माध्यम यस्तो क्षेत्र हो, जसले नदेखेको, कुनाकानीमा रहेको कुराहरूलाई सर्वसाधारणको माझ पुर्‍याइदिन्छ। यो लेखको सुरुआतमा सुझाएको नामहरू पनि पत्रपत्रिकामा पढेका लेखहरू र श्रव्यदृश्य माध्यमबाट सुनेका उहाँहरूका विचारहरूको कारणले नै थियो। नभए कतिपय व्यक्तिहरूलाई हामीले जीवनभर भेटेका हुँदैनौं भने उनीहरूको बौद्धिक क्षमताकोबारेमा कसरी थाहा पाउनु ?

पढेर र श्रव्यदृश्यमार्फत देखेर/सुनेर नै उहाँहरूका विचारहरूबाट प्रभावित भएका हुन्छौं; त्यसैका आधारमा उहाँहरूलाई विद्वान, पारम्परिक सोचलाई विस्थापित गर्दै समय अनुकुल अगाडि बढ्न सक्ने र ज्ञानको कुरामा तर्कपूर्ण प्रस्तुति गर्नसक्ने भनेर छुट्याउन सक्छौं।

तर, महिलाहरूलाई त पहिले नै ‘यिनीहरूले के जान्दछन् र ?’ को सोचमा समाचार माध्यमहरूले ठाउँ दिनै गाह्रो छ।

यसै प्रसँगमा समाचारमाध्यमहरूमा महिलाहरूको विचारलाई कति महत्व दिइन्छ ? भनेर यसै क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग प्रश्न राख्दा सबैको उस्तैउस्तै अनुभव देखियो।

सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक आरती चटौत, जो लामो समयदेखि सामाजिक न्याय र लैंगिक अल्पसंख्यकबारेमा समेत कार्यक्रम निर्माण गर्नुहुन्छ, उहाँलाई ‘विषयविज्ञको रुपमा संचारमाध्यममा महिलाहरूको विचार, पुरुष विज्ञको अनुपातमा कति प्रतिशतले समेटिन्छ ?’ भन्ने प्रश्न राख्दा, उहाँको जवाफ थियो, ‘यति नै प्रतिशतले भन्न त तथ्याँक छैन। तर, अनुभवको आधारमा भन्नुपर्दा हार्ड न्युज भनिने राजनैतिक विश्लेषण, आर्थिक पाटो, विश्वमा घटेका घटनाहरूमा तुरुन्तै विचार राख्नुपर्ने विषयवस्तुहरूमा महिलाहरूको विचार कमै समेटिन्छ। यसलाई तीन प्रतिशतभन्दा कम मान्न सकिन्छ भने, सफ्ट न्युजको रुपमा लिइने मनोरञ्जनात्मक समाचार, सौन्दर्य प्रतियोगिता, लाइफस्टाइल आदि विषयमा भने झन्डै ९८ प्रतिशत नै समेट्न खोजिन्छ।’ चटौत, पहिले नेपाल टेलिभिजन र हाल, सार्वजनिक प्रसारण संस्थाको उपल्लो तहमा रहेर निति निर्माणको कार्यमा सक्रियमात्रै होइन कि, आफैं लैंगिक प्रशिक्षण तालिमहरूमा प्रशिक्षकको रुपमासमेत लामो समयदेखि कार्यरत हुनुहुन्छ।

शिक्षाविद डा.अमिना सिंको विचारमा ‘समाचार र लेखहरुमा महिलाका बिचार यति प्रतिशत भनेर भन्न त सकिन्न होला। तर साधारणतया प्रवृति भने पुरुषहरुकै, त्यसमा पनि एकै खालका पुरुषहरु ( प्राय जसो संचार माध्यममा ‘विज्ञ’ भनेर प्रस्तुत भैइरहनेहरु नै) हुन्छन् जस्तो लाग्छ

उहाँको विचारमा, पुरुषको अनुभव नभएका कुराहरू, कतिपय सामाजिक विषयहरुमा भने महिलाको ९८ प्रतिशत नै विचार प्रवाह गरिएला, त्यो अपवादको विषय भयो।’

यस्तै प्रश्न त्रिविवि पत्रकारिता विभागका प्रमुख, एशोसिएट प्रोफेसर, तथा लामो समयदेखि पत्रकारितामा स्थापित, बुधबार साप्ताहिकका सम्पादक कुन्दन अर्याललाई राख्दा, उहाँको जवाफ थियो, ‘नेपालका सबै किसिमका आमसञ्चार माध्यमका सबै सामग्रीहरुमा महिलाको विचार कम उद्धृत गरेको देखिन्छ । केही वर्षयता खासगरी राजनीतिक र प्रशासनिक निकायहरुमा ३३ प्रतिशत समावेशीकरणको प्रावधान लागू भएपछि अखवार वा अनलाइन समाचार पोर्टलहरुमा लेख रचनामा महिलाहरुलाई ठाउँ दिएको देखिन्छ ।’

उहॉ अगाडि भन्नुहुन्छ, ‘स्नातकोत्तर तहको एकजना विद्यार्थीले गत वर्ष गरेको शोधपत्रमा उल्लेखित एउटा तथ्यांक बताऊँ । ०८० वैशाखदेखि असारसम्मको तीनमहिनाका लेख रचनालाई हेर्दा, छापिएका कूलमध्ये गोरखापत्रमा साढे एघार प्रतिशत, कान्तिपुरमा झण्डै बीस प्रतिशत लेख रचना मात्रै महिलाका नाममा छापिएका थिए । तर तीमध्ये राजनीति वा शासन व्यवस्थासम्बन्धी लेख रचना नगण्य थिए । अधिकांश लेख रचनाहरु गैरराजनीतिक वा प्रत्यक्ष शक्तिसँग नजोडिएका विषयहरुमा केन्द्रीत थिए । अझ समाचारहरुमा विज्ञ महिलाहरुलाई यथोचित स्थान दिइएको पाइँदैन् । विज्ञका रुपमा महिलाहरुको उद्दरण जानेर वा नजानेर कताकता राख्न नखोजेकोजस्तो देखिन्छ ।’

सोही बिभागका अर्का सहायक प्राध्यापक तथा पत्रकार ऋषिकेश दहाल, जसले भर्खरै आफ्नो विद्यावारिधीको पढाई पुरा गर्नुभएको छ, उहाँलाई राख्दा उहाँको भनाइ थियो, ‘मैले मेरो पीएचडी अध्ययनका क्रममा ६०२ सामग्रीको विश्लेषण गर्दा ४ वटा सामग्रीमामात्र महिलालाई प्रमुख स्रोतका रुपमा लिइएको भेटेको थिएँ। ४३ वटा सामग्रीमा महिलालाई औपचारिकताका लागि मात्र उदृत गरिएको पाएँ। जसलाई मैले यसरी लेखेको छु: “संसदमा महिलाहरूको बढ्दो प्रतिनिधित्व पत्रपत्रिकाहरूमा स्रोतको रूपमा प्रतिविम्वित हुँदैन। लैङ्गिक दृष्टिकोणबाट, महिलाहरू एजेन्डा सेटरको भूमिकामा लगभग अदृश्य छन्। केवल चार समाचारहरूले महिलाहरूलाई प्राथमिक स्रोतको रूपमा उद्धृत गर्छन्, जबकि ४३ अन्यले महिलाहरूको बयानलाई कुनै न कुनै रूपमा उपेक्षित देखााउँछन्। यसले एजेन्डा सेट गर्ने काममा महिलाहरूको कमजोर स्थिति देखाउँछ। संसदमा महिलाहरूको बढिरहेको प्रतिनिधित्व र उनीहरूको विचारलाई समाचारपत्रहरूमा स्थान दिइरहेको पाइन्न।”

हुनत, नेपालमा यसबारेमा हालैका दिनमा अनुसन्धान भएकोजस्तो लाग्दैन तर पनि, हरेक दिन समाचारपत्रहरू नियाल्दा, श्रव्यदृश्य सामाग्रीहरू स्क्रोल गर्दा यी कुराहरू नकार्न सकिन्न।

काठमाडौँस्थित ‘फ्रीडम फोरम’ संस्थाले सन् २०२० मा प्रकाशित गरेको, ‘अ रिपोर्ट अन जेन्डर कन्टेन्ट्स मनिटरिङ अफ नेशनल मिडिया’ अनुसार, छापामाध्यममा महिलाहरूको बाइलाइन ३ प्रतिशतले बढेको भनिएको रहेछ। त्यो सीमित अवधिमा, नौवटा राष्ट्रिय दैनिक, छवटा अनलाइन र सातवटा प्रदेशबाट २१वटा दैनिक पत्रिकासमेटेर सार्वजनिक गरिएको सो रिपोर्टकोलागि सन् २०१६देखि, नेदरल्यान्डस्थित ‘फ्री प्रेस अनलिमिटेड’को सहयोगमा संचार निगरानी गरिएको थियो।

प्रतिवेदनमा भनिएको छ, छानिएका दैनिक पत्रिकाहरूको मुख्य समाचार कथाहरू (पहिलो र दोस्रो पृष्ठमा प्रकाशित) र अनलाइन पोर्टलहरूको मुख्य समाचार खण्डबाट अनुगमन गरिएको थियो। त्यसपछि समाचार कथाहरूलाई तिनीहरूको बाइलाइन, उद्धृत स्रोतहरू, शीर्षकहरू र लैङ्गिक पूर्वाग्रहलाई उजागर गर्ने कथाहरूलाई चानिएको थियो। सन् २०१९ मा,संस्थाले समाचार बाइलाइन र ती कथाहरूमा प्रत्यक्ष रूपमा उद्धृत स्रोत दुवैमा १३% महिलाहरू भएको तथ्य रेकर्ड गरेको थियो। अनलाइन समाचार पोर्टलहरूमाथि निगरानी गर्दा, कथाहरूमा, बाइलाइनमा १७% ठाउँ ओगटेका थिए र १२% सामग्रीमा स्रोतको रूपमा थिए। त्यस्तै गरी, अनुगमन अवधिमा ती राष्ट्रिय दैनिकहरूमा प्रकाशित २०% लेखहरू महिला लेखकहरूद्वारा लेखिएका थिए। यो सन् २०२० को कुरा भयो, त्यसपछि वाग्मतीमा धेरै पानी बगिसक्यो; तर, संचारमाध्यमहरू महिलाहरूको विचार विज्ञताको उपस्थिति भने, खोल्सोमा जमेको बग्नै नसकेर जमेको पानीजस्तो भएर रहेको छ।

हुनत, त्यतिबेलाको सन्दर्भमा नेपालमामात्रै होइन, ‘द मिसिङ पर्सपेक्टिवस् अफ वीमेन इन न्युज’अनुसार, त्यतिबेला भारत, केन्या, नाइजेरिया, साउथ अफ्रिका, युके र युएसमा गरिएको अनुसन्धान प्रतिवेदनअनुसार, समग्रमा, राजनैतिक समााचारमा पुरुषको उपस्थिति महिलाकोभन्दा सात गुणा बढि पाइएको थियो।

फेरि नेपालकै सन्दर्भ, समाचारमा महिला विचारको प्रतिनिधित्वकै कुरा उठाउँदा, त्रिविवि पत्रकारिता विभागका अर्का असिस्टेन्ट लेक्चरर तथा पत्रकार, जसले आफैँ पनि श्रव्यदृश्य सामाग्री निर्माण गर्नुहुन्छ, डक्टर श्रीराम पौडेलको भनाइ उधृत गर्दछु; उहाँ भन्नुहुन्छ, ‘विषयविज्ञको स्थानमा यति नै प्रतिशत भनाइ राख्न भन्नेमा म स्पष्ट छैन । समकालिन अभ्यासमा महिलाको भनाइ वा उद्धरणको अंश सानो देखिन्छ । अंश सानो भएपनि बढ्दो क्रममा रहेको सीमित अध्ययनहरुले देखाएका छन् । फ्रिडम फोरमले २०२० मा गरेको अध्ययनमा महिलाको बाइलाइन ३ प्रतिशतले बढेको देखाइएको छ । तर यो अध्ययन तोकिएको अवधिको भएकोले सामान्यीकरण गर्न मिल्दैन होला । विश्वविद्यालयमा धनु विश्वकर्माले भर्खरै प्रस्तुत गरेको शोधग्रन्थमा ओपेड पेजमा महिलाको सहभागीता कति भन्ने बारेमा गरेको कन्टेन्ट एनालिसिसमा १५ प्रतिशत मात्रै (तीन महिना) देखिएको भन्ने छ । महिलाहरूलाई सञ्चारमाध्यममा समान रूपमा प्रतिनिधित्व गरिनु आवश्यक छ किनभने प्रतिनिधित्वले समाजको धारणा निर्माण गर्छ र लैङ्गिक मान्यताहरूलाई सुदृढ गर्छ । सिद्धान्तत: समावेशी र न्यायसंगत समाजका लागि सन्तुलित प्रतिनिधित्व आवश्यक छ । अपर्याप्त वा न्यून प्रतिनिधित्वले प्रणालीगत लैङ्गिक असमानतालाई बढावा दिन्छ, आकांक्षाहरूलाई सीमित गर्छ, र पूर्वाग्रहलाई बल पुर्‍याउँछ ।’

अर्की प्राज्ञिक व्यक्तित्व, शिक्षाविद डा.अमिना सिंको विचारमा ‘समाचार र लेखहरुमा महिलाका बिचार यति प्रतिशत भनेर भन्न त सकिन्न होला। तर साधारणतया प्रवृति भने पुरुषहरुकै, त्यसमा पनि एकै खालका पुरुषहरु ( प्राय जसो संचार माध्यममा ‘विज्ञ’ भनेर प्रस्तुत भैइरहनेहरु नै) हुन्छन् जस्तो लाग्छ। विशेषतः: अर्थ राजनीति, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा महिलाको विचारलाई प्राथमिकता दिने त लगभग शून्यनै जस्तो लाग्छ। मैले चासो राख्ने क्षेत्र शिक्षामा पनि प्राय एकैथरी पुरुष विज्ञहरुकै विचार र अनुभव समेटिएको पाइन्छ। अपवाद चाहिं शिक्षाको क्षेत्र भित्र पनि कुनै कुनै बिषय महिला शिक्षककै हो भनेर स्थापित भएकोले होला, त्यस्ता सामग्रीमा केही महिला विज्ञको विचार कहिले काहीं पढ्न पाइन्छ – जस्तै शिशु र प्रारम्भिक बाल्यकाल शिक्षाको विषय भयो। मलाई लागेको कुरा, कुनै बिषयगत क्षेत्रमा समग्रमा भन्दा पनि त्यो क्षेत्र भित्र ‘महिलासंग’ सम्बन्धित सवालहरु छन् भन्ने परेमा मात्र महिलाहरुका विचार राखिन्छ। यो मेरो कुरा चाहिं कुनै वस्तुगत आधारमा नभएर मलाई लागेको कुरा भो। अरु त यो कुरामा मिडियाको कन्टेन्ट एनालाइसिस नै गर्नु पर्ला।’

सन् २०२० देखि प्रकाशित ‘आरक्यु १’ नामक न्युजलेटरको अनलाइन प्लेटफर्म ‘सब्सट्याक’मा गत फेब्रुअरी १९ मा प्रकाशित लेखमा पहिलेका पत्रकार र हालका प्राज्ञिकहरू/अनुसन्धानकर्ताहरू वाशिङटन तथा ली युनिभर्सिटीका मार्क कडिङटन र युनिभर्सिटी अफ ओरेगनका सेथ लुइसकाअनुसार, विश्वभर समाचार अनुसन्धानमा निरन्तर रुपमा रहेको र, दुःखको कुरा, अचम्मलाग्दो निष्कर्षहरू मध्ये एक, समाचार कथाहरूमा स्रोतको रूपमा पुरुषहरूको प्रभुत्व हो। यस दशकमा दुई बहुराष्ट्रिय अध्ययनहरूसहित, धेरै अध्ययनहरूले वर्षौंदेखि स्रोतको रूपमा पुरुष र महिलाको अनुपातको तुलना गरेका छन्; जसमा, धेरैजसो विश्वव्यापि मिडियाहरूमा, पुरुषको अनुपातमा २५-३०% मात्रै महिला स्रोतहरू फेला पारेका छन्। यो असंतुलन विशेष गरी विशेषज्ञ स्रोतहरूमा स्पष्ट देखिन्छ, जहाँ धेरै अध्ययनहरूले उद्धृत गरिएका विशेषज्ञहरू मध्ये केवल २०-२५% महिलामात्र रहेको पत्ता लगाएका छन्।

अनुसन्धानले के पनि देखाएको छ भने, महिलाहरू चाहेर पनि स्रोत या विचार विज्ञको रुपमा अगाडि आउन नखोज्नुमा, गलत उद्धृत गरिने चिन्ता, पत्रकार वा मिडिया आउटलेटहरूप्रति अविश्वास र समयको अभाव पनि थिए

अनुसन्धानकर्ताहरू लेख्छन्, यो असन्तुलन किन कायम छ भन्ने कुरालाई निश्चित रूपमा बाहिर निकाल्न अलि गाह्रो छ। रिपोर्टरहरू निश्चित रूपमा पहिले कुरा गरिसकेका विशेषज्ञ स्रोतहरूतिर आकर्षित हुन्छन्, र ती विशेषज्ञहरू पुरुषहरू नै हुन्छन्। पत्रकारहरूले महिलाहरूलाई स्रोतको रूपमा सक्रिय रूपमा समावेश गर्ने प्रयास गर्ने बताए पनि व्ययवहारिक रुपमा यो कुरा पाइएको छ।

यसै प्रसँगमा, कान्तिपुर टेलिभिजनका समाचार प्रमुख विजय पौडेल समक्ष प्रश्न राख्दा उहाँको जवाफ थियो, ‘अहिले हामीसँग ठ्याक्कै डाटा छैन । तर, हामीले पछिल्लो समय, समाचार बाइटमा महिलाको सहभागिता, कार्यक्रमहरुमा लैंगिक समानतासहित गेष्ट खोज्ने प्रयास गरिरहेका छाैं । तापनि, पर्याप्त मात्रामा चाहे जस्तो सहभागिता गराउन सकेका छैनाै ।’ उहाँको भनाइबाट यो प्रष्ट हुन्छ कि, सचेतना बढ्दै गएको छ।

‘आरक्यु १’ कै लेखअनुसार, महिला स्रोतहरूलाई अगाडि ल्याउन नसकिनुमा पनि केही कारणहरू छन् । के महिलाहरू स्रोतको रूपमा बोल्न या देखिन अनिच्छुक छन् ?

खासमा त्सयो पनि कारण हो; किनभने, अन्तर्वार्तामा बोल्दा महिला भएकै कारणले उनीहरूले नकारात्मक अनुभवहरू पनि महसुस गर्नुपरेको हुन्छ। अर्को कुरा, संस्थागत लैंगिक विभेदको जरा गाडेको कारणले गर्दा उनीहरूलाई रोजगारदाताहरूले अगाडि बढाउने सम्भावना कम देखिन्छ; वा सायद, मिडियामा देखा पर्दा उनीहरूले लिङ्गीय उत्पीडनको सामना गर्न महिलाहरू पछाडि हट्छन् कि ? यी प्रश्नहरू क्याथरिन शाइनको नेतृत्वमा रहेको अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूको टोलीले हालैको अध्ययन, “के लिङ्गले मिडिया संलग्नतालाई प्रभाव पार्छ? अष्ट्रेलियाली मिडिया स्रोतहरूको मनोवृत्ति र अनुभवहरू,” मा पत्रकारिता अभ्यासमा प्रकाशित गरेको थियो।

अनुसन्धानले के पनि देखाएको छ भने, महिलाहरू चाहेर पनि स्रोत या विचार विज्ञको रुपमा अगाडि आउन नखोज्नुमा, गलत उद्धृत गरिने चिन्ता, पत्रकार वा मिडिया आउटलेटहरूप्रति अविश्वास र समयको अभाव पनि थिए। तर महिलाहरूले अन्तर्वार्तामा सहमत हुन बाधाको रूपमा सम्भावित उत्पीडन र उनीहरूको उपस्थितिको बारेमा चिन्ता, साथै विशिष्ट अनुभवको कमीलाई उद्धृत गर्ने सम्भावना पुरुषहरूको तुलनामा उल्लेखनीय रूपमा बढि देखिएको रहेछ।

यो मार्च महिना, संसारभरका महिलाहरूको प्रगति, हक, अधिकारबारे चर्चा गर्ने महिना हो। यसपालीको नारा “सबै महिला र बालिकाहरूको लागिः अधिकार, समानता र सशक्तीकरण।” राखिएको छ। त्यसैले, महिला र बालिकाहरूलाई कार्यक्रमको समयमा फूलमाला टक्र्‍याउने, किस्तीमा कैंची बोकाउने काममा उपयोग गर्नुभन्दा पनि उनीहरूको विचारलाई अगाडि बढाऊँ ! बोल्न दिऊँ ! आवाजमा धेरै ठूलो शक्ति हुन्छ। उनीहरूको सफलता बढाउन उनीहरूको विचारले भूमिका खेल्छ।

नभए त, कतै वक्ताको स्थानमा बोलाउन पनि कसकी छोरी, श्रीमती, बहिनी/दिदी, भाउजू/बुहारीकै नाता खोजेर बॉकीकाको आवाज बन्द राख्ने निरन्तरता नै अगाडि बढ्छ ।

लेखक
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?