
स्थायी केही पनि हुन्न भन्नु दर्शनमा मात्र छैन, व्यवहारमा नै देख्न सकिन्छ । यसलाई झन् मज्जाले नेपाली महिलाको परिचयमा देखिन्छ । खासगरी नेपाली महिलाको परिचय वा पहिचानसँग जोडेर हेर्ने हो भने स्थायी केही हुन्न भन्ने कुरा एकदमै सत्य भएर आउँछ ।
परिचयलाई मात्र नामसँग जोडेर हेरियो भने निकट विगत पनि महिलाका लागि उत्साहपूर्ण छैन । विवाह अगाडि फलानीकी छोरीमा सीमित हुने महिलाको परिचयलाई विवाहपछि तत्कालै फलानीकी श्रीमतीमा दरिन्थ्यो । त्योभन्दा पनि प्रचलित चै पतिको थरको स्त्रिलिङ्गी स्वरूप हुन्थ्यो । लिम्बुसँग विवाह भए लिम्बुनी र खड्कासँग बिहे भए खड्किनी ।
सामाजिक चलनमा यो अति सामान्य भइदिएकाले यसबारेमा कसैको विरोध हुने कुरा पनि भएन । त्यसमाथि महिलाको अस्थायी परिचयलाई महिलाविरोधी हो भन्ने मान्न भने सजिलो छैन । किनभने महिलाको परिचय वा पहिचान स्थायी हुन्न भन्ने कुरालाई देवत्वकरण गराइएको पनि छ । नारी कहिले छोरी हुन्छे र परिवारको इज्जत जोगाएर बस्छे, नारी कहिले आमा भएर धर्तीझैं प्रकृति थामेर बस्छे भन्ने जस्ता भनाइहरूले महिलाको परिचय स्थायी हुनुलाई पीडाबोध होइन, गौरव गर्न चै सिकाउँछ ।
म यहाँ उमेरजन्य सम्बोधनहरू बालिका, किशोरी, युवति, महिला वा नाताजन्य सम्बोधनहरू छोरी, बुहारी, भाउजु, सानिमा, काकी, आमा, हजुरआमा जस्ता सम्बोधनका बारेमा कुरा गरिरहेको छैन । उमेर थपिदै जाँदा सम्बोधन परिवर्तन हुनु प्राकृतिक छ । त्यस्तै नै वैवाहिक सम्बन्धले नाताहरू थपिंदै जानु सामाजिकरूपमा स्वभाविक छ । यो अवस्था महिला र पुरूष दुवैका लागि उस्तै नै हुन्छ । पुरूष पनि बालक, किशोर, युवक हुन्छ । नातागतरूपमा उ पनि छोरो, ज्वाइँ, भिनाजु, सानाबा, काका, बुबा, हुजरबुबामा परिवर्तन हुन्छ ।
तर महिलाको हकमा परिचयलाई पुरूषको जस्तो उमेरजन्य र नाताजन्य परिवर्तनमा मात्रै अस्थायी बनाइएको छैन । यसैले यहाँ म अविवाहित हुँदा ‘मिस’ र विवाहित भए पछि ‘मिसेस्’ भनेर महिलाको परिचय नै पुरूषतर्फ ढल्काउने पश्चिमा देखासिखी तथा अन्य प्राविधिक, नैतिकता र व्यवहारिक संरचनाको कुरा गर्दैछु ।
पूर्वीय सभ्यतामा अविवाहितलाई सम्बोधन गर्दा देवी भनेर तथा विवाहित महिलालाई माता भनेर सम्बोधन गरिने चलन पनि यदाकदा थियो भन्ने थाहा हुन्छ । त्यस्तै नामका अगाडि सुश्री र श्रीमती लेख्ने चलन हालसम्म पनि देखिन्छ । अहिले यसलाई पश्चिमा ‘मिस’ र ‘मिसेस्’ ले धेरै हदमा विस्थापित गरेको छ । तर अन्तर्यमा लुकेको महिलाको अलग परिचय रहन नदिने व्यवहारलाई भने समानरूपमा सहयोग गरिरहेको छ ।
तर यसका विपरीत व्याकरणको अपवाद छोडिदिने हो भने पुरूषलाई सम्बोधन गर्ने कुरामा पूर्वीय सभ्यतामा श्री वा श्रीमान् समानरूपमा प्रयोग हुन्छन्, पुरूष विवाहित छ या छैन भन्ने कुराले त्यसलाई फरक पार्दैन । पश्चिमा सभ्यतामा प्रयोग हुने ‘मिस्टर’ ले पनि खासै विवाहित र अविवाहित छुट्याउँदैन ।
पुरूषको सम्बोधनको शब्द स्थिर रहदा महिलाको सम्बोधन किन अस्थिर छ भन्ने कुराले महिलाको स्थायी परिचय रहन नदिने सांस्कृतिक परिघटना हो कि भन्ने शंका हुन्छ । यसले स्वभावत: प्रश्न उब्जिन्छ नै पुरूषको परिचय परिवर्तन नभइ पनि समाज चलिरहेको छ भने महिलाको परिवर्तन हुनै पर्ने कारण किन छ ? जवाफ पक्कै पनि सामाजिक व्यवस्था चलाउन भन्दा महिलालाई पुरूष समान हैसियतमा नराख्ने चिन्तनको अभ्यास हो भन्नेमा पुग्न सकिन्छ ।
समाजमा जानेर वा नजानेर नै महिलाप्रति भएका विभेदजन्य अभ्यासहरूका सबै विषयमा आजसम्म पनि बहस उठ्न सकेको छैन । माथि उल्लेख भए जस्तै कतिपय विषयहरूमा त विभेद् हो भन्नेसम्म हेक्का छैन । कतिपयलाई त उल्टो गौरवपूर्ण व्याख्या गरिएकोछ । यसैले नै हुनुपर्छ – महिलाप्रतिका असाध्यै धेरै विभेदहरूका विषयमा कुरा उठे पनि अस्थायी परिचयका बारेमा विरलै बहस हुन्छन् । सार्वजनिक बहसमा नआइदिदा धेरैको ध्यान त्यो विषयमा पुग्दैन । उदाहरणका लागि – संविधानले महिलाको अस्थायी परिचयलाई झन् बलियो बनाएको छ ।
संविधानले पुरूषको पहिचानलाई सरूवा (communicable) बनाएको छ । अर्थात्, पुरूषको पहिचान अर्को व्यक्तिमा सर्न सक्छ । बाबु नेपाली भएर आमा विदेशी भए पनि नेपाली बाबुको सन्तान नेपाली वंशज बन्न सक्छ । तर नेपाली महिलाको हकमा फरक छ । नेपाली महिलाको परिचय नसर्ने (non-communicable) किसिमको बनाइएको छ । आमा नेपाली भएर बाबु विदेशी भए नेपाली आमाको सन्तान अंगीकृत नागरिक मात्र बन्न सक्छ । यहाँ विदेशी पुरूषको परिचय नेपाली महिलामा सर्छ र नेपाली महिला हुँदै उनको सन्तानमा ।
केही विशेष अवस्थामा महिलाबाट उनको परिचय उनका सन्तानमा सर्न सक्छन् । तर त्यसका लागि विवादित र अफ्ठ्यारा सर्तहरू राखिएका छन् । कतिपय अवस्थामा ति हिनतापूर्ण र अपमानजन्य बनिदिन सक्छन् । केही उदाहरण प्रस्तुत गर्न सकिन्छ ।
नेपालको संविधानमा पुरूषले विदेशी महिला बिहे गरे पहिचान सरेर महिलालाई पनि नेपाली नागरिकता दिन सकिने बनाएको तर नेपाली महिलाले विदेशी पुरूष बिहे गरेमा पहिचान नसर्ने बनाएकोबारेमा माथि उल्लेख गरिएको छ । यो बारेमा संविधानले केहि पनि उल्लेख गरेको छैन ।
त्यस्तै आमाको नामबाट नागरिकता पाउँन बाबुको पहिचान नखुलेको स्वघोषणा गर्नु पर्ने जस्तो शर्त राखिएको छ । यो कतिसम्म अन्यायपूर्ण बनिदिन्छ भने बलात्कारका कारण गर्भ बसेर जन्माइएका सन्तानले आमाको नामबाट नागरिकता लिन बाबुको पहिचान नखुलेको व्योहोरा लेख्न पर्छ । तर कानूनी कारबाही गरेर अदालतबाट नै न्याय निरूपण भएको अवस्थामा बाबुको पहिचान नखुल्ने भन्ने हुदैन । त्यो अवस्थामा या त बाबुको पहिचान नखुलेको भनेर गैरकानूनीरूपमा स्वघोषणा गर्नु पर्छ जसलाई कानूनले नै कसुरजन्य बनाएको छ । नत्र सन्तानले नागरिकता बनाउनका लागि दिइने निवेदनमा बाबुको नाम लेख्ने बाकसमा त्यही बलात्कारीको नाम नै लेख्न पर्छ ।
अस्थायी परिचयले महिलालाई कति सम्म पछ्याउँछ भने जति अब्बल भए पनि त्यसले छोड्दैन । उही लोकसेवाको परीक्षा दिएर आएको कर्मचारीमा पुरूषले सम्बोधनमा सरको उपनाम पाइहाल्छ । सेवाग्राही आउँदा होस् वा कार्यालयका दैनिक अभ्यासहरूमा होस्, पुरूष कर्मचारीलाई सर भनिन, नामका पछाडी ज्यू वा जी जोडेर सम्बोधन गर्न कुनै पनि फरक ऊर्जा खर्च गर्न पर्दैन । तर त्यही अवस्थामा महिलालाई भने सेवाग्राहीले पनि बहिनी, दिदी जस्ता नाताजन्य सम्बोधनको सहारा लिएको देखिन्छ । महिला कर्मचारीहरू कसैका लागि बहिनी बन्दा कसैको लागि दिदी बन्छन् तर पुरूष भने सरको स्थायी सम्बोधनमा रहेको हुन्छ ।
यो लेखमा कसैले पनि पुरूषलाई किन गरियो भनेर पुरूषको परिचयप्रति इर्ष्याभाव रहेको भनेर नबुझिदिनुहोला । त्यसको साटो पुरूषको जस्तै स्थायी परिचय महिलाको पनि भयो भने समान सम्मान र समान व्यवहार गर्न सहयोगी हुन्छ भन्ने बुझिदिनुहोला ।
समाज विकासको क्रममा हामी अहिले नयाँ चरणमा प्रवेश गरेका छौं भनेर हरेक समयक्रममा व्याख्या गरिन्छ । तर त्यो विकासले महिला र पुरूषबीच कतिको समानता ल्याइरहेको छ भन्ने कुरा छलफल र बहसकै विषय बनिरहने गर्छ । हामी पनि लोकतन्त्र र मानवीयताको नयाँ चरणमा छौं । यसले कम्तिमा समान हैसियत भएका महिला र पुरूषका लागि समान व्यवहार हुनु पर्छ भन्नेमा सबै एक भएमात्र विकासले वास्तविकरूपमा व्यवहारमा ठाउँ पाउँछ ।
अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना ।
प्रतिक्रिया 4