
२४ फागुन, वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला भनिएका दलसँग लड्न आफूहरू नै काफी रहेको बताएका छन् ।
पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासिन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन् । त्यसको प्रतिउत्तर दिँदै राप्रपा अध्यक्ष लिङ्देनले उनीहरूसँग चुनाव लड्न आफूहरू नै पर्याप्त रहेको बताएका हुन् ।
शनिबार वीरगन्जको लालबगलामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘राजसंस्था भोटको राजनीतिभन्दा धेरै माथिको संस्था हो । चुनाव लड्न राजा जानु पर्दैन हामीहरू नै काफी छौं ।’
७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई साथ दिन आह्वान गरेका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत ती दलका नेताहरूले पार्टी खोलेर चुनावमा आउन चुनौती दिँदै आएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूले पार्टी विशेषको नभई देशको राजा ल्याउन खोजेको बताए । ‘हामीले कुनै राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो,’ उनले भने ।
दलहरूले शासन गर्न थालेयता देश झन्झन संकटमा परेको दावी गरेका लिङ्देनले नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा देशमा रोजगारी नपाएर युवा विदेशिन बाध्य हुँदा देश रित्तिँदै गएको बताए ।
उनले सरकार असफल भएको दावी गर्दै मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने नसक्ने परिस्थिति सृजना हुन लागेको दावी गरे ।
प्रतिक्रिया 4