
२४ फागुन, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले २०८४ को चुनावको चिन्ता गरेर कांग्रेसले समय खेर नफाल्ने बताएका छन् ।
शनिबार काभ्रेको मण्डनदेउपुरको कुन्तावेसीमा नेपाली कांग्रेस मण्डनदेउपुर नगरसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्राप्त समयलाई सदुपयोग गर्दै जनताको सेवा गर्न कांग्रेस लागि पर्ने बताए ।
विभिन्न दलले तीन वर्षपछिको चुनावको चिन्ता गरिरहेको प्रति लक्षित गर्दै उनले बाँकी समयलाई सदुपयोग गर्न कांग्रेस प्रयत्नशील रहेको बताए ।
‘कांग्रेस इतिहास बोकेको, लाखौं कार्यकर्ताको पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन, देशको चिन्ता गर्छ । म नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न आग्रह गर्छु,’ उनले भने ।
पार्टीमा केही आन्तरिक किचलो भए पनि बाहिर हल्ला भएजस्तो विवाद नरहेको उनको भनाइ थियो । ‘पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक हो,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गरेर आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जान्छ ।’
राजतन्त्र पक्षधरका पछिल्ला गतिविधि प्रति लक्षित गर्दै शर्माले ‘बाहिर बाजा बजेको सुनेर कसैले खुट्टा हल्लाएको हो कि जस्तो लागेको टिप्पणी गरे । ‘बाजाको धुनमा खुट्टासम्म हल्लाएको भए ठिकै छ बिहे नै सम्झेर बेहुलो बनेर बाहिर आउन खोज्नु भएको हो भने त्यो दिवास्वप्न मात्र हो,’ उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंले अहिलेसम्मका कामको मूल्यांकन गरेर आगामी कार्यक्रम तय गर्न नगर समितिलाई सुझाव दिए ।
अर्का केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने भन्दै आआफ्ना कमजोरी सच्याएर पार्टीलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जानुपर्ने धारणा राखे ।
कांग्रेस बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै पार्टी अघि बढ्नु पर्ने बताए ।
काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने बताए ।
कार्यक्रममा पाँचखालका नगर प्रमुख महेश खरेलले कांग्रेस एकतामा जोड दिए ।
कार्यक्रममा महामन्त्री शर्माले मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमा योगदान गरेका राजनीतिज्ञ हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा अनावरण गरेको कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4