+
+
Shares

इन्भेस्टमेन्ट कम्पनी धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने, कस्ता कम्पनी हुन् ?

सेयर बजारमा सूचीकृत भएका इन्भेस्टमेन्ट कम्पनीलाई भनिएको होइन : बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १३:२७

२५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीहरूलाई बोर्डमा सूचीकृत हुनका लागि निर्देशन दिएको छ ।

पाँच करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, वार्षिक १० करोड वा सोभन्दा बढी कारोबार गर्ने कम्पनीहरू धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने भएको छ ।

धितोपत्र कारोबार गर्नेगरी पछिल्लो समय विभिन्न इन्भेस्टमेन्ट कम्पनीहरू कम्पनी रजिस्टार कार्यालयमा मात्रै दर्ता भएर सञ्चालनमा आएका छन् । तिनै कम्पनीलाई बोर्डले सूचीकृत हुन भनेको हो ।

यो विषयलाई कतिपयले गलत व्याख्या गरेका छन् । नेप्सेमा सूचीकृत इन्भेस्टमेन्ट सेक्टरका कम्पनीलाई यस्तो निर्देशन दिइएको भन्दै गलत प्रचार भएको छ ।

बोर्डका प्रवक्ता निरन्जय घिमिरेका अनुसार बजारमा सूचीकृत भएका कम्पनीलाई नभई अन्य कम्पनीलाई यस्तो निर्देशन दिइएको हो । नेप्सेमा सूचीकृत कम्पनी पहिले नै बोर्डमा सूचीकृत भइसकेका हुन्छन् ।

‘बजारका उपकरण खरिदबिक्री गर्नका लागि भनेर खुलेका, ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका वा वार्षिक १० करोड कारोड वा सो बढीको कारोबार गर्ने प्राइभेट इन्भेस्टमेन्ट कम्पनीहरु पनि सूचीकृत हुनुपर्छ’ उनले भने ।

पछिल्लो समय इन्भेस्टमेन्ट कम्पनी खोल्दै धितोपत्र बजारमा कारोबार गर्ने कम्पनी बढेका छन् । ५ करोड वा सोभन्दा माथिका त्यस्ता कम्पनीलाई अब धितोपत्र बोर्डले नियमन गर्नुपर्ने भएको छ ।

यसअघि नै ५ करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएका, १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेस्टमेन्ट कम्पनीका लागि नियमन गर्नका लागि धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्दै पुस १८ गते नै राजपत्रमा सूचना सार्वजनिक गरिएको थियो ।

सूचीकृत हुनका लागि इन्भेस्टमेन्ट कम्पनीहरुले निवेदन पत्र, सञ्चालक समितिको विवरण, कम्पनीको अद्यावधिक प्रवन्धपत्र तथा नियमावली, सीईओको विवरण, कम्पनी सञ्चालक समितिबाट बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णय प्रतिलिपी र अख्तियारी, कम्पनीको लेखापरीक्षण विवरण, कम्पनीको चुक्ता पूँजी विवरण बुझाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?